नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखिएका कारण बुधवारको शेयरबजार प्रभावित बन्न पुग्यो । विश्वभरि नै प्रविधिमा समस्या आएर शेयरबजार प्रभावित हुने गरेको पाइन्छ तापनि त्यसको समाधान तत्काल गरेर लगानीकर्तालाई आश्वस्त पारिन्छ । त्यसो हुँदा अन्य देशमा प्राविधिक समस्या आउँदा बजारमा ठूलो हलचल आउने सम्भावना कमै देखिने गरेको विश्लेषकहरूको भनाइ पाइन्छ । तर, नेपालमा भने यस्ता प्राविधिक समस्या आउँदा एकले अर्को निकायलाई देखाउने र कमजोरी दोहोरिन नदिने गरी तत्काल काम गरिहाल्ने परिपाटी राम्ररी बस्न सकेको छैन ।
शेयरबजार जति फराकिलो हुँदै जान्छ त्यति नै जोखिम पनि बढ्दै जान्छ । त्यस्तै प्रविधिको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यस्तोमा प्रविधिका लागि लगानी बढाउने तथा अनुसन्धान गराउनेजस्ता काममा बोर्ड तथा नेप्सेको ध्यान जानु जरुरी छ ।
शेयरको दोस्रो बजारमा कारोबारका लागि कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा छ । यसमा शेयर किनबेच आदेश प्रविष्टि गर्ने र कारोबार हुने काम गर्छ ।
राफसाफका लागि भने मेरो शेयरसमेत आवश्यक हुन्छ । नेप्सेको टीएमएसमा गत भदौ २५ गते समस्या आउँदा केही समय बजार नै बन्द गर्नुपरेको थियो र पछि समय थपेर कारोबार सुचारु गरिएको थियो । तर, बुधवार भने फरक खालको समस्या देखियो, जसले गर्दा एक कम्पनीको मात्रै कारोबार बन्द गरिएको थियो ।
कारोबार बन्द गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर म्याचिङमा देखिएका नयाँ समस्याका कारण सिस्टममा समस्या देखिएको बताइएको छ । दोस्रो बजारमा हालसम्मकै सर्वाधिक कित्ता शेयर सूचीकृत भएको निफ्राको शेयर मूल्य शून्य मूल्यमा म्याचिङ हुन पुगेकाले यसको मूल्य शतप्रतिशत घटेको देखिएको थियो । कसरी यस्तो समस्या हुन गयो भन्नेमा नेप्सेले स्पष्ट पार्न सकेन । यसो हुँदा लगानीकर्ता आत्तिनु स्वाभाविक हो । टीएमएसमा मात्र होइन, मेरो शेयरमा पनि बारम्बार समस्या आउने गरेको छ । शेयर विक्री गरेपछि शेयर हस्तान्तरण गर्ने बेला यसको वेबसाइट नखुल्ने, ढिला हुने, शेयर हस्तान्तरण हुन ढिला हुनेजस्ता समस्या लगानीकर्ताले भोगिरहेका छन् । शेयर विक्री गरेपछि हस्तान्तरण गर्न ढिला हुँदा विक्रीकर्ता शेयरधनी क्लोजआउटमा पर्ने सम्भावना हुन्छ । क्लोजआउटमा पर्नेको संख्या बढ्दै गएको नेप्सेकै तथ्यांकले देखाउँछ । क्लोजआउट हुँदा लगानीकर्ताबाट उठाइने जरीवाना नै करोडौं भएको तथ्यांकसमेत सार्वजनिक भएको पाइन्छ ।
नेप्सेको वेबसाइटमै पनि विगतमा समस्या आउने गरेको थियो । यस्तो समस्या बजारले उचाइ लिइरहेकै बेलामा प्रायः हुने गरेको पाइन्छ, जसका कारण लगानीकर्ताहरूले यसलाई जानीजानी गरिएको खेल भनेर आलोचनासमेत गरेको पाइन्छ । यथार्थ यस्तो पक्कै होइन, तर नेप्सेकै कमजोरीका कारण समस्या बारम्बार दोहोरिने गरेको हो भन्न सकिन्छ । यस्तो गल्ती भइरहँदा समग्र पूँजी बजारकै निमयनको जिम्मेवारी लिएको धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नेप्सेलाई कारबाही गर्ने वा सचेत पार्ने काम कमै गरेको पाइन्छ ।
अहिले शेयरबजारमा लगानी गर्नेहरूको संख्या निकै बढेको पाइन्छ । डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघेको बताइएको छ । यसमा सक्रिय लगानीकर्ताको संख्या पनि बढ्दो छ । प्राथमिक शेयर भर्नका लागि मात्रै डिम्याट खाता खोलेकाहरू अहिले दोस्रो बजारमा पनि प्रवेश गरेका छन् । त्यसैले अहिले दैनिक कारोबार हुने शेयर संख्या र रकम पनि गतवर्षको भन्दै निकै गुणाले बढेको पाइन्छ । सरकारले प्राप्त गर्ने राजस्व पनि ठूलो परिमाणमा बढेको छ । त्यसो हुँदा शेयरबजार अर्थतन्त्रको ठूलो अंश बनिसकेको छ । जति यो क्षेत्र फैलँदै जान्छ त्यति नै बजारमा जोखिम पनि बढ्दै जान्छ । त्यस्तै प्रविधिको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यस्तोमा प्रविधिका लागि लगानी बढाउने तथा अनुसन्धान गराउने जस्ता काममा बोर्ड तथा नेप्सेको ध्यान जानु जरुरी छ ।