ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्न सकिन्छ घर सजाउन गमलामा लगाइने फूलको हेरचाह

२०७७ फागुन, १४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । आफ्नो घरलाई चिटिक्क र आकर्षक देखाउन मानिसहरूले घर वरिपरि वा घरभित्रै पनि थरीथरीका फूल रोप्ने गर्छन । सजावटका लागि यसरी फूलहरू लगाउँदा घरलाई आकर्षक देखाउने मात्र नभई त्यसले हाम्रो स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । किनभने, घरमा फूल वा इन्डोर प्लान्टहरू रोप्दा त्यसले कोठाभित्रको वातावरण तथा हावालाई सफा राख्न मद्दत गर्ने सरोकारवालाहरू बताउँछन् ।

घरभित्र वा घर वरिपरि लगाइने फूल तथा बिरुवाका धेरै प्रजातिहरू छन् । तिनलाई हामीले नजिकैको नर्सरीमा गएर आफ्नो रोजाइअनुसार किनेर लगाउन सकिन्छ । यसमा मुख्यगरी मनिपलान्ट, रबरपलान्ट, सगुन, पाम, डाइफन, मस्टेरिया, ड्रेसिनिया, स्पाइडर पलान्ट, अम्ब्रेला पलान्ट, बटरफ्लाइ, सिंगोलियम, सुपुलेन्ट, लक्की बम्बोलगायत फूल तथा बिरुवा पर्दछन् । यिनीहरूले घरको शोभा बढाउनुका साथै त्यस वरपरको वातावरणलाई समेत स्वच्छ राख्ने काम गर्दछ ।

नेपाल पुष्प व्यवसायी कट्फलाबर एसोसिएसनका संयोजक सुशील खड्काका अनुसार तुलनात्मक रूपमा फार्ममा व्यावसायिक प्रयोजनका लागि रोपिने फूलहरूको भन्दा घर सजावटका लागि लगाइने फूलको स्याहारसुसार बढी नै गर्नुपर्छ । फार्ममा रोपिने फूलले प्राकृतिक रूपमै हावा, पानी र शूर्यको किरण पाउँछ भने घरभित्र वा कोठामा रोपिने फूलले प्राकृतिक रूपमा बाहिरको हावापानी नपाउने हुनाले चाँडो मर्ने वा सुकेर जाने हुन सक्छ ।

गमलामा रोप्नुभन्दा पहिले नै हामीले ती फूल वा बिरुवाबारे कम उज्यालोमा हुर्किन सक्ने हुन् वा बढी उज्यालो आवश्यक पर्ने खालका हुन् भनेर थाहा पाउनु  जरुरी रहेको उनी बताउँछन् । काठाभित्र रापिने यस्ता प्रजातिका बिरुवालाई लामो समयसम्म जोगाएर राख्न रोप्नुभन्दा पहिले नै तिनको विशेषताबारे थाहा पाउन सकिए हाम्रो लगानी खेर नजाने उनको भनाइ छ । कतिपय फूलका प्रजातिलाई रोग लाग्नबाट बचाउन कोठाभित्र प्रशस्त मात्रामा घामको किरण पर्ने स्थानतिर गमलालाई राख्नुपर्ने उनी बताउँछन् ।

गमलामा रोपिने फूलमा विशेषगरी पात डढ्ने डढुवा रोग, जरा गल्ने र किरा लाग्ने समस्या धेरै आउन सक्छन् । मान्छेहरूले पानीको सिँचाइ धेरै गर्ने, घामको मात्रा पुर्‍याउन नसक्ने र माटोको गुस्तर राम्रो नहुनाले जरा गल्ने समस्या आउने गर्छ । त्यसबाट फूललाई जोगाउन घाम एवं सिँचाइको मात्रा मिलाउने र राम्रो माटोको प्रयोगमा ध्यान दिनुपर्ने उनको सुझाव छ । खड्काका अनुसार यदि किरा लागेको खण्डमा भने हाम्रै वरपर पाइने तितेपातेको रस, स्याम्फु, गाईको मलमूत्रको झोल बनाएर छर्कन सकिने उनको भनाइ छ । यसले किरा नियन्त्रणमा निकै मद्दत पुर्‍याउने गर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्