ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंग महाराजको कथा

२०७७ फागुन, १४  
तीतो मीठो
author avatar मदन लम्साल

आज एउटा कथा सुनाउन मन लागेको छ । यो कथा कुनै ऐरेगैरे नत्थु खैरेको होइन, सिंग महाराजको हो । मान्छे भए पनि उनको टाउकामा सिंग थियो । त्यसैले उनको नाम सिंग महाराज ।

साथीभाइको साँझको जमघट वा भट्टीतिर मात्र चल्ने जोकलाई उठाएर यिनले ललितकलाको राजकीय स्तरसम्म पुर्‍याउनमा दिएको योगदानलाई भुल्नै सकिन्न ।

सिंग महाराजको असली नाम र पुर्ख्यौली थर कसैलाई पनि थाहा छैन । तर यी सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । ट्वाक्क टुक्का जोड्न र प्याच्च बोल्न यिनलाई कसैले भेट्दैनथ्यो । जोक सुनाउँदै अरूलाई उल्लु बनाउने कला यिनले कसैबाट सिकेका थिएनन् । उटपट्याङ आफ्नै परिवेशबाट निरन्तर शिक्षा ग्रहण गर्दै विकास गरेका थिए । अन्त्यमा यिनले यति नाम कमाए कि अरूले यिनलाई ‘बा’ भन्न शुरू गरेका थिए । बोलेकै भरमा काम फत्ते गरेजस्तो पार्ने भएकोले पछि त यिनलाई मानिसले बोली महाराज पनि भन्न थाले । यो हिसाबले सिंग महाराज एक ‘सेल्फ मेड’ व्यक्ति थिए ।

साथीभाइको साँझको जमघट वा भट्टीतिर मात्र चल्ने जोकलाई उठाएर यिनले ललितकलाको राजकीय स्तरसम्म पुर्‍याउनमा दिएको योगदानलाई भुल्नै सकिन्न । ‘अखिल नेपाल जोकर महासम्मेलन’हरूमा यिनले दिने जोकदार भाषण ऐतिहासिक रहे । ‘विश्वका जोकरहरू एक होऊँ’ ‘जोक छैन त जीवन छैन’ जस्ता उनका उक्तिहरू लोकप्रिय उद्धरणहरू बने । ‘जोशीलो जोकीलो भाषण कसरी सुनाउने’ शीर्षकवाला उनका भाषणका संग्रह किताब यति लोकप्रिय भए कि ती ‘राष्ट्रिय बेस्ट सेलर’ नै मानिए ।

यिनको टाउकोमा सिंग कसरी पलायो त ? भएछ के भने एकपटक यिनी जोक सुनाउन देशको सीमातिर गएका रहेछन् । भोलिपल्ट बिहान यिनको टाउकोमाथि सिंग पलाएको देखेछन् मानिसहरूले । यो खबर रातारात देशभरि फैलिएछ । सिंग पलाउनुलाई यिनले आफूलाई दैवीशक्ति प्राप्त भएको भनेछन् । त्यसपछि यिनको जोक सुन्न र सिंग हेर्न भनेर झन् अपार भीड जम्मा हुन थालेछ । आफू स्यालजस्तो भए पनि उनले हुंकार भने सिंहजस्तै बनाउन थाले । वास्तवमा यिनी आफूलाई सिंह महाराज भनाउन चाहन्थे, तर सिंह भन्ने शब्द सही तरीकाले भन्न नजानेर सिंग भने । र, हेर्दाहेर्दै उनी सिंग महाराजका नाममा प्रसिद्ध बने । ख्यातिसँगै सम्मान र धन पनि प्राप्त गरे । सिंग महाराजका दिन फिरे । विपन्नता र अनन्त संक्रमणकालले कुपोषित देशले पनि यिनीतर्फ आशाको नजरले हेर्न थाल्यो ।

पुराणका कथामा बाहेक इतिहासमा कहीँ कतै मानिसको सिंग वा जुरो पलाएको उल्लेख भएको पाइँदैन । यसरी अर्बौं मानिसको बीचमा एउटा मात्रै भएकाले सिंग महाराजको ख्याति राष्ट्रिय स्तरबाट फैलिएर अन्तरराष्ट्रियस्तरमै पुग्न सफल भयो । उनलाई देशकै प्रमुख हर्ताकर्ता बनाइयो र उनको महान् सिंगलाई ‘राष्ट्रिय धरोहर’ र ‘राष्ट्रवादी’को संज्ञा दिइयो । उनलाई थुप्रै सम्मानहरूले विभूषित गरियो । यहाँसम्म कि देशकै सर्वोच्च सम्मान ‘सिंग विभूषण’को स्थापना गरियो र स्वयं राष्ट्रपति महोदयबाट राष्ट्रपति भवनमै एक भव्य समारोहबीच त्योे उपाधि पनि उनलाई दिइयो । अनि त के चाहियो ? यिनका चाटुकारहरूले ‘सिंग रत्न अमर रहुन्’ ‘अमर रहुन्’ भन्ने नारा सडकहरूमा पनि गुञ्जाउन थालिहाले ।

सिंग महाराजको सिंगको ख्याति दिन प्रतिदिन बढ्दै गयो । सरकारी खर्चमा करोडौं रुपैयाँमा उनको सिंगको बीमा पनि गरियो । उनको सिंगको सुरक्षामा राष्ट्रिय सुरक्षा फौजबाट कमाण्डोहरू नियुक्त गरिए । सिंग महाराजको सिंग विश्वकै आठौं आश्चर्य मानिन थाल्यो । उनलाई पनि आफ्नो सिंग ‘राजमुकुट’ जस्तो लाग्न थालेछ क्यार, उनको व्यवहार पनि सोही अनुसार बदलिँदै गयो । तर, मानिसले उनलाई गरेको विश्वासलाई उनले जिम्मेवारी होइन, अहंकारी अस्त्रका रूपमा प्रयोग गर्न थालेछन् । सिंगको आडमा जनताको विश्वासमाथि विध्वंस नै मच्चाउन थालेछन् र समृद्धिका भोका मानिसको सपनामाथि पनि भद्दा मजाक शुरू गरेछन् ।

भलै टुप्पामा बसेर फेद काट्ने यी सनकवीर समयमै सुध्रिऊन् भनेर केहीले यिनको सिंग कुनै दैवीशक्ति नभई भगवान्को श्राप वा दैवी प्रकोप हो भनेर मसिनो स्वरमा सुनाउँथे । तर यसो भन्नेमा केही मिडिया र केही सीमित व्यक्ति मात्र थिए । जसले यो कुरा सुनाउँथ्यो, उसलाई सिंग महाराज फेरि नजिकै पर्न दिँदैनथे र तिनलाई भित्तैसम्म पुर्‍याउने काम गर्थे । आलोचकलाई दुश्मन घोषणा गरेर तीविरुद्ध यी भष्मासुर युद्ध छेड्थे । वाक्वाणदेखि सत्तावाणसम्मले विरोधीलाई हायलकायल पारिदिन्थे ।

एकपटक सिंग महाराजको सिंगमा चोट लागेछ । यसलाई सिंग महाराजले विरोधीको षड्यन्त्र मानेछन् । मन्दिरमा, गुम्बामा, मस्जिदमा, चर्चमा यिनको सिंग सञ्चो होस् भनेर विशेष क्षमा पूजा पनि सम्पन्न गरिएछ । तर यिनको सिंग निको भएनछ । चोट अरूका कारणले नभई आफ्नै जातका र सिंग भएका तर बाहिर सिंग नदेखिएका सहयात्रीहरूले गरेका थिए । किनकि यी सिंग महाराज आफ्ना सिंगले जसलाई पायो, उसलाई घोचिहिँड्न थालेका थिए । अति भएपछि एक दिन पाँचजना मिलेर यिनको सिंग सदाका लागि फुकालिदिएछन् र यिनलाई सिंगासनबाट तल ओराल्ने आदेश दिएछन् । जब यिनको सिंग फुक्लियो, यिनी र यिनका आसेपासे निःशब्द भएछन् । हे कलियुगका राम ! यो के भयो त ?

विशेष अनुसन्धानबाट यो राज पत्ता लाग्यो कि यिनको सिंग वास्तविक नभएर आफैले प्लास्टिकको नक्कली सिंग बनाएर लगाइहिँड्ने गरेका रहेछन् । यसरी दुनियाँलाई उल्लु बनाइहिँडेका रहेछन् ।

तर विचार गरेर हेर्ने हो भने सानो, ठूलो सिंग त सबै मानिसमा हुन्छ नै । जनावरमा जस्तै । मान्छे पनि त दुई खुट्टे जनावर नै हो । तर मान्छेको सिंग अदृश्य नै रहन्छ । सिंग महाराजको टाउकोमा साक्षात् सिंग देखिनु त त्यो अदृश्य ठूलै सिंगको उनी आफैले गरेको प्रकटीकरण मात्र थियो । त्यसैले हिजो सिंग महाराजको आगमनमा आाशावादी देश आज उनकोे अवसानमा उत्सव मनाउन थालेको छ । तर उत्सव मनाउने बेला अझै भइसकेको छैन । किनकि, समाजमा सिंग महाराज जस्तै ठूल्ठूला सिंग भएका व्यक्तिहरू हामीले अझै कति देख्न बाँकी नै छ । त्यसैले अदृश्य भए पनि व्यवहारमा भित्र ठूला सिंग भएका मानिसहरूबाट अहिलेदेखि नै सावधान रहौं है !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्