ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्पादन र बजारको सन्तुलन नमिल्दा नेपालमा वर्षेनी मकैको बीउ अभाव 

२०७७ फागुन, १५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १५, चितवन ।  नेपालमा मल, बीउ, दाना लगायत अन्य कृषिजन्य पदार्थको अभाव हुनु नौलो कुरा होईन । तर वर्षेनी नेपालका कृषकहरुले समयमै मलबीउ नपाउने  साझा समस्या बनेको  छ ।

उत्पादन र बजारको अनुमान नमिल्दा कहिले उत्पादन खेर गईरहेको हुन्छ त कहिले अभाव हुने गर्दछ । यस्तै झैं चितवनमा मकैको लागि बारी तयारी अवस्थामा रहेपनि बजारमा बीउ नपाउँदा चिन्तित बन्नु परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ का किसान दिपक सापकोटा मकैको बीउको अभाव हुँदा अन्यौलमा रहेको बताउँछन् । ‘अब मकैको बीउ लगाउने त बेला आयो राम्रो बीउ पाईएको छैन भन्छन्, खोई के लगाउने लगाउने ।उनले भने, ‘गत वर्ष हाईब्रीड जातको भनेर लगाए, गेडै लागेन ।’ 

अहिले आफूले नेपाली जातको बीउ लगाउने ईच्छा भएपनि बीउ नपाएको उनले गुनासो गरे   । नेपालमा मुख्यतया प्रमुख खाद्यान्न मध्ये मकै पर्दछ । तराईमा यो दोस्रो अन्नबालीको रुपमा उपभोग गर्दै आएपनि पहाडी जिल्लामा प्रमुख अन्नबालीको रुपमा उपभोग गर्दछन  । 

हरेक वर्ष मकैको बीउमा उत्तारचढाव आउँदा किसानलाई सहज रुपमा बीउ उपलब्ध गराउन नसकिएको विक्रेताहरु बताउँछन् । गत वर्षबाट नै मकैको बीउ अभाव हुँदा यस वर्ष थप अभाव भएको व्यवसायीको भनाइ छ । क्वेष्ट सीड एण्ड एग्रो, नारायणगढका सञ्चालक बील बहादुर अधिकारी  यसपटक मकैको बीउ अभाव हुँदा किसानलाई बीउ आपुर्ति गर्न नसकिएको बताउँछन् ।

‘दैनिक १०/ १२ जना किसान मकैको बीउ खोज्न आउँछन्, आफूसँगै कत्ति पनि छैन’, अधिकारीले भने । उनका अनुसार बजार र उत्पादनको उत्तारचढावले गर्दा बीउ भण्डारण गर्न जोखिम हुने गर्दछ । ‘पहिले हामीले देशभर बीउ पठाउने गथ्र्यौं, अहिले आफूले देशभर बीउ छ भनेर फोन गर्नुपरेको छ’, अधिकारीले भने । 

बीउ बीजनको बजार र मागमा सुनिश्चित नहुँदा वर्षेनी कहिले अभाव र कहिले बढी बीउ उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका प्रमुख राजन ढकाल मकैको बीउको माग र उत्पादन अनुमान गर्नै नसक्ने बताउँछन् ।

‘अघिल्लो साल १३ हजार मेट्रिकटन बीउको माग थियो, ३० हजार मेट्रिकटन उत्पादन भयो, विक्री भएन । अहिले किसानले बीउनै उत्पादन गरेनन अभाव हुन गयो’, ढकालले भने । 

उनका अनुसार बीउ बजारको मुल्य, माग, उत्पादनको सन्तुलन नमिल्दानै यस्तो समस्या आउने गरेको हो । मकैको बीउ अभाव न्यूनिकरण गर्न यस आर्थिक बर्षबाट प्रदेश सरकारले मकैको बीउ प्रोत्साहन स्वरुप २५ प्रतिशत रकम सहुलियत दरमा बीउ उपलब्ध गराइएको ढकालले जानकारी दिए । 

राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रका वरिष्ठ बैज्ञानिक चित्रबहादुर कुँवर हरेक बर्ष मकैको बीउको मागको सही अनुमान नलगाउँदा र तथ्यांक संकलन नहुंँदा माग र उत्पादनमा फरक आउने बताउँछन् ।

 ‘माग हुँदा पुर्‍याउन नसकिने हुन्छ । उत्पादनमा वृद्धि हुँदा विक्री नहुने अवस्था आउँछ ।’ सरकारले मकैको बीउ लगाउन किसान तथा कृषि सहकारीलाई प्रोत्साहन गर्नुपर्ने कुँवरको तर्क छ ।

मकैबाली अनुसन्धान केन्द्र बीउको अध्ययन, अनुसन्धान गरी बीउ उत्पादनको  श्रोतकेन्द्र भएकोले बीउ उत्पादन गर्न  कृषकलाई आकर्षण गर्नुपर्ने उनको भनाइ छ । नेपालमा नेपाली उन्नत जातको मकै रामपुरकम्पोजिट, मनकामना ३, अरुण २, अरुण ४ लगायत २३ ओटा जातको मकैको बीउ प्रमाणीकरण गरिएको छ । 

नेपालमा ९ लाख ५० हेक्टर क्षेत्रफलमा मकैको उत्पादन हुँदै आएको छ । देशभर वार्षिक औषत २३ लाख मेट्रिकटन मकै उत्पादन हुने गर्दछ । मकैको  औषत प्रतिहेक्टर उत्पादकत्व २ दशमलव ६ मेट्रिकटन  छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्