ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतबाट ७ महीनामा २ खर्बको वस्तु आयात

२०७७ फागुन, १६  
समाचार
NA

वीरगञ्ज (अस) । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा भारतबाट सबैभन्दा बढी मालसामान भित्रिएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा भारतबाट वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै करीब २ खर्ब रुपैयाँ बराबरको आयात भएको हो ।

सबैभन्दा ठूलो व्यापार साझेदार भारतबाट यस अवधिमा १ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । चालू वर्षको आयात परिमाण गत आव २०७६/७७ को समीक्षा अवधिको तुलनामा भने कम हो । अघिल्लो वर्ष सो अवधिमा भारतबाट २ खर्ब ३ अर्ब रुपैयाँको वस्तु आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ । चालू आवको ७ महीनामा यस नाकाबाट २० अर्ब रुपैयाँको वस्तु भारततर्फ निकासी भएको छ ।

भारतबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ आयात भएको भन्सारका अधिकृत रमेश सुकमनीले बताए । नेपालमा आयात हुने पेट्रोलियम पदार्थको आधाभन्दा बढी परिमाण वीरगञ्जबाट भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पदार्थ भित्र्याउँछन् ।

यस नाकाबाट भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुसजाम, कपडा, जुत्ता, गलैंचालगायत वस्तु भारत निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । दोस्रो ठूलो व्यापार साझेदार चीनबाट करीब २५ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ३८ लाख रुपैयाँको निर्यात व्यापार भएको छ ।

चीनतर्फको व्यापार परिमाण पनि घटेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा २८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सात महीनामा ४३ देशसित व्यापार भएकोमा ४ देशसितमात्रै व्यापार नाफा भएको भन्सारले बताएको छ । डेनमार्क, हंगेरी, ग्रीस र रोमानियासँग व्यापार अत्यन्तै न्यून भएकाले नाफा देखिएको भन्सार अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्