ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुपमा २२.४३ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना बन्दै

२०७७ फागुन, १६  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २२ दशमलव ४३ मेगावाट (मेवा) क्षमताका तीनओटा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारले दार्चुलामा ६ दशमलव ९७ मेवाको नौगाड जलविद्युत् आयोजना, बैतडीमा ७ दशमलव ७१ मेवाको सुर्नयागाड जलविद्युत् आयोजना र सुर्नयागाडबाटै ७ दशमलव ७५ मेवा क्षमताको आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।

६ दशमलव ९७ मेवाको नौगाड र ७ दशमलव ७५ मेवाको सुर्नयागाड जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनसहित विस्तृत सम्भाव्यता अध्ययनको काम भइरहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, ७ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमताको अर्को सुर्नयागाड जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनसहित विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढेको मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका त्रिलोचन भट्टले जानकारी दिए ।

प्रदेश सरकारले वैकल्पिक ऊर्जाको विकास र प्रवर्द्धनका लागि समेत पूर्व सम्भाव्यता अध्ययनको काम सम्पन्न भएको उनले बताए । आगामी आर्थिक वर्ष २०७८/७९ देखि तीनओटै आयोजनाका लागि स्रोत सुनिश्चितता सहित निर्माण थालिने मन्त्रालयले जानकारी दिएको छ । प्रदेशभित्र हाल विद्युत्को माग ७० मेवा रहे पनि उत्पादन भने साढे ४९ मेवा मात्र भइरहेको छ ।

नेपाल सरकारले निर्माण गरेको ३० मेवा क्षमताको चमेलिया जलविद्युत् आयोजना, दुई आयोजनाबाट अपि पावर कम्पनीले उत्पादन गरेको ९ दशमलव ५ मेवा र निजीक्षेत्रकै कम्पनीले कापडीगाडबाट उत्पादन गरेको ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिमको कुल विद्युत्् उत्पादन ४९ दशमलव ५ मेगावाट पुगेको हो ।
प्रदेशका ९ ओटै जिल्लामा गरी नेपाल विद्युत् प्राधिकरणले ६४ दशमलव ६९ प्रतिशत घरधुरीमा नियमित विद्युत्् आपूर्ति गर्दै आएको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइबाट थप ४ दशमलव ७१ मेवा उत्पादन भएपछि प्रदेशमा विद्युत् पहुँच बढ्ने नेपाल विद्युत्् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदीश जोशीले बताए ।

चालू आवभित्रै सक्नेगरी उक्त जलविद्युत्् आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । जलविद्युत्् आयोजनाको पावर हाउसको साफ्ट फाउन्डेसन, बाइपास च्यानल तथा टेलरेस निर्माण सकिएको आयोजनाका इन्जिनियर अरुणकुमार साहले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्