काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघ अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघ अध्यक्ष भुवनकुमार दाहालले महासंघ सचिवालयमा हस्ताक्षर गरे ।
दुवै संस्थाबीचको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईजबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ हटाउन सहयोग पुग्नेछ ।
यस्तै, केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणका निम्ति आवश्यक नीतिगत सुझाव तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि आग्रह गर्नेछ ।
कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघ अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीचको समझारी केन्द्रदेखि प्रदेशसम्मै लगिने प्रतिबद्धता व्यक्त गरे ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले यो समझदारीले साना तथा मझौला उद्योग व्यवसायले राहत महसुस गर्ने बताए ।