ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्तरोन्नतिपछिका लागि तयारी

२०७७ फागुन, १६  
सम्पादकीय
Image Not Found

संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपालसहित बांगलादेश र लाओसलाई कतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न सिफारिश गरेको छ । सिफारिशलाई संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्बाट स्वीकृति मिलेपछि नेपालको स्तर उकासिनेछ ।

स्तरोन्नतिपछि जुनजुन क्षेत्रलाई मर्का पर्छ वा असर पर्छ तिनको क्षमता अभिवृद्धि गर्ने तथा तिनलाई अनुदान दिने जस्ता नीति लिनुपर्छ । त्यस्तै विश्व व्यापार संगठन वा अन्य व्यापार शर्तले तोकेको सुविधा गुमाए पनि द्विपक्षीय सम्झौतामार्फत पनि नेपालले अहिले पाइरहेको सुविधा पाउन प्रयास गर्नुपर्छ ।

सन् १९७१ मा संयुक्त राष्ट्रसंघले पहिलोचोेटि अतिकम विकसित मुलुकको सूची बनाएको थियो । त्यसयता ६ ओटा मुलुक स्तरोन्नति भइसकेका छन् । यसै क्रममा नेपाल सन् २०१८ मा नै विकासशील मुलुकमा स्तरोन्नति हुन उपयुक्त भए पनि भूकम्पका कारण जोखिम बढेको भन्दै नेपालकै आग्रहमा स्तरोन्नति गरिएन । प्रत्येक ३ वर्षमा बस्ने विकास नीतिसम्बन्धी समितिले मुलुकहरूको मूल्यांकन गरेर स्तरोन्नतिका लागि सिफारिश गर्छ । यसै आधारमा यसपटक नेपालको स्वीकृतिमा स्तरोन्नतिको प्रस्ताव पारित गरिएको हो । केही सहुलियत पाउन गरीब समूहमा रहिरहनभन्दा स्तरोन्नति हुँदा बढी फाइदा हुने भएकाले अर्थशास्त्रीहरूले स्तरोन्नतिका लागि नेपाल तयार रहनुपर्ने बताएका छन् । विकासशील मुलुकमा उक्लिएपछि अहिले पाइरहेका केही सुविधा र छूटहरू नेपालले गुमाउनेछ । २०२१ मा सिफारिश गरेपछि २०२४ मा स्तरोन्नति हुनुपर्ने भए पनि कोभिडका कारण यो अवधि यसपटक २०२६ सम्म पुर्‍याइएको छ । त्यस्तै २०२४ मा पुनर्मूल्यांकन हुनेछ । त्यसैले नेपालले २०२६ पछि अहिले अमेरिका तथा यूरोपेली मुलुकबाट पाइरहेको कोटा र शून्य भन्सारको सुविधा गुमाउनुपर्ने हुन सक्छ । नेपालसँगै स्तरोन्नतिका लागि तयार रहेको बंगलादेशको निर्यात १७ घट्ने विश्व व्यापार संगठनको आकलन छ । बंगलादेशले अहिले अतिकम विकसित मुलुकका कारण पाएको सुविधामा ७० प्रतिशत निर्यात गरिरहेको छ । नेपालले यस्तो सुविधा १६ प्रतिशतमात्रै उपयोग गरिरहेको छ र स्तरोन्नतिपछि नेपालको निर्यात २ दशमलव २५ प्रतिशत घट्ने विश्व व्यापार संगठनको प्रक्षेपण छ ।

विकासशीलमा उक्लिएपछि नेपालका मुख्य निर्यात बजारहरूमा निर्यातका लागि उत्पादनमा मूल्यअभिवृद्धि हाल कायम ३० प्रतिशतबाट बढाई ४० देखि ५० प्रतिशतसम्म पुर्‍याउनुपर्ने हुन्छ । यसो हुर्‍दा नेपालको निर्यात क्षमता घट्ने देखिन्छ । तर, यूरोपेली संघले ‘इभ्रिथिङ बट आम्र्स’ अन्तर्गत दिएको सुविधा स्तरोन्नति भएको ३ वर्षसम्म यथावत् रहनेछ भने अर्को ३ वर्ष थप गर्न पनि सक्छ । त्यसैले स्तरोन्नतिपछि पनि पाइरहने यी सुविधा उपयोग गर्न नेपालले क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । अहिले पाइरहेको सुविधा प्रयोग गर्न पनि नेपालको क्षमता कमजोर रहेको देखिन्छ । अमेरिकाले नेपाललाई ६६ प्रकारका सामानमा शून्य भन्सार सुविधा दिएकामा सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार २ दशमलव ४ प्रतिशत मात्रै उपयोग गर्न सकेको छ । निर्यात क्षमता बढी भएकाले बंगलादेशले यस्तो सुविधा उपयोग गर्न सकेकाले उसको प्रतिव्यक्ति आय नेपालको भन्दा निकै बढी देखिन्छ ।

प्रतिव्यक्ति आय कम हुँदाहुँदै पनि अन्य परिसूचकका आधारमा स्तरोन्नति हुने मुलुक नेपालमात्रै हो । स्तरोन्नतिका लागि मानव सम्पत्ति सूचकांक ६६ हुनुपर्नेमा नेपालको सूचकांका ७२ दशमलव १ पुगेको छ । त्यस्तै आर्थिक जोखिम सूचकांक ३२ भन्दा तल झर्नुपर्नेमा नेपालको सूचकांक २५ दशमलव ४ मा झरिसकेको छ । तर, प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय सन् २०२१ का लागि स्तरोन्नति थ्रेसहोल्डअनुसार १ हजार २२२ अमेरिकी डलर हुनुपर्नेमा नेपालको यस्तो आय ९११ डलरमात्रै पुगेको छ । यसरी प्रतिव्यक्ति आय कम हुँदा पनि स्तरोन्नति हुँदा जोखिम बढी देखिन्छ । त्यसैले नेपालले अबको समय आफ्ना कमजोरीको मूल्यांकन गर्नु जरुरी छ । आफ्नो अवस्था के छ भन्नेमा नेपालले अध्ययन गरेको छैन, जति भएका छन् ती विकास साझेदारहरूको सहयोगमा मात्रै भएका छन् । त्यसैले सरकार आफैले आफ्नो विकास कार्यक्रममा कमजोरी पत्ता लगाई तिनलाई सुधार गर्नेतर्फ लागिहाल्नुपर्छ ।

अर्को, स्तरोन्नतिपछि जुनजुन क्षेत्रलाई मर्का पर्छ वा असर पर्छ तिनको क्षमता अभिवृद्धि गर्ने तथा तिनलाई अनुदान दिने जस्ता नीति लिनुपर्छ । त्यस्तै विश्व व्यापार संगठन वा अन्य व्यापार शर्तले तोकेको सुविधा गुमाए पनि द्विपक्षीय सम्झौतामार्फत नेपालले अहिले पाइरहेको सुविधा पाउन प्रयास गर्नुपर्छ । त्यस्तै बौद्धिक सम्पत्तिको ट्रिप्स सम्झौताअनुसार नेपालले औषधि उत्पादन गर्न पाइरहेको सुविधा पनि खोसिनेछ । त्यसैले स्तरोन्नतिपछि पनि निर्यात सुधार गर्न आधार तयार पार्नेतिर नेपाल लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्