ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ट्रेडमार्क किन र कसरी प्रयोग गर्ने ?

२०७७ फागुन, १६  
लेख | दृष्टिकोण
Image Not Found

कुनै फरक पहिचान दिने अक्षर, शब्द, संख्या, चित्र, रंग, तस्वीर, आकृति, लोगो अथवा तिनीहरूको विभिन्न संयोजन पनि ट्रेडमार्क हुन सक्छ । कुनै कुनै मुलुकले आवाज, वासना विज्ञापन गर्ने नारा, ठोस आकार जस्तो गोलो कोकाकोला बोतल र टेब्लोन चकलेटको ठोस आकृतिलाई पनि ट्रेडमार्कका रूपमा संरक्षण दिएका छन् । ट्रिप्स सम्झौतामा भने नाङ्गो आँखाले देख्न सकिने र भिन्नता देखाउन सकिने चिह्न मात्र ट्रेडमार्क हुन्छन् भनिएको छ । ट्रेडमार्कका किन प्रयोग गर्ने भन्ने सम्बन्धमा यसका कार्यहरू विचार गर्नुपर्ने हुन्छ । यसका मुख्य कार्यहरू देहायअनुसार छन् : पहिलो कुरा त यसले बजारमा वस्तुलाई चिनाउँछ । यसैको सहायताले सम्बद्ध वस्तु वा सेवाका उपभोक्ताले आफूलाई मन परेको ब्रान्डको छनोट गर्छन् । जस्तो चिया किन्दा कसैले मुना, कसैले टोकला कसैले ‘ब्रुकबोन्ड’ छानेर किन्छन् । यो कुरा सेवामा पनि लागू हुन्छ । वस्तु वा सेवा उस्तै किसिमका भए पनि उपभोक्ताले आफूलाई मन पर्ने ब्रान्ड छनोट गर्न पाउँछन् ।

कुनै पनि मुलुकका नाम, छाप, झण्डा, शैक्षिक दस्ताका चिह्नहरू तथा अन्तरराष्ट्रिय संस्थाका नाम, संक्षिप्त नाम, झण्डा लोगो, छाप जस्ता चिह्न र ओलम्पिक खेलका चिह्नहरू ट्रेडमार्कको रूपमा प्रयोग गर्नयोग्य हुँदैनन् ।

दोस्रो कुरा ट्रेडमार्कले उद्योगी तथा व्यवसायीहरूलाई विज्ञापन गर्ने औजार उपलब्ध गराउँछ र वस्तुको बजार प्रवर्द्धन गर्ने काम गर्छ । हामीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा यस्ता कति विज्ञापन देख्छौं । यसबाट कुनै वस्तु वा सेवा र त्यसका उपभोक्ताबीच सम्बन्ध स्थापना हुन्छ । फलस्वरूप नयाँ उपभोक्ताहरू आकर्षित हुन्छन् र साबिक उपभोक्ताहरूको आकर्षण सुदृढ हुन्छ ।

ट्रेडमार्कले वस्तु वा सेवाको ख्याति अर्जन गराउने मात्र होइन, सम्बद्ध कम्पनी वा प्रोप्राइटरको नामसमेत चम्काउँछ । उपभोक्ताहरूको माझमा पनि चिह्न प्रख्यात हुन्छ र उनीहरूलाई त्यस चिह्नप्रति निष्ठावान् बनाउँछ । ट्रेडमार्कको ख्यातिले गर्दा पहिले त त्यसकै मूल्यवृद्धि हुन्छ र कम्पनीको शेयर मूल्यसमेत वृद्धि हुन्छ । ट्रेडमार्कको काम गुणस्तर नियन्त्रण गर्ने नभए पनि यसले वस्तु वा सेवाको गुणस्तर अभिव्यक्त भने अवश्य गर्छ । वस्तु वा सेवाका पारखीहरूले ट्रेडमार्कको पहिचानबाट पहिलो दृष्टिमा नै वस्तुको गुणस्तरको पूर्वानुमान गर्छन् । इज्जतका लागि पनि कम्पनी वा प्रोप्राइटरलाई सम्बद्ध वस्तु वा सेवाकोे गुणस्तर कायम राख्न वा वृद्धि अघोषित रूपमा नैतिक दबाबसमेत पर्छ । अर्को कुरा ट्रेडमार्कले वस्तु वा सेवाको स्रोतको पनि पहिचान गराउँछ ।

कालान्तरमा ट्रेडमार्क एउटा चिह्नमा मात्र सीमित नरहेर अर्बाैं वा खर्बाैं रुपैयाँको सम्पत्ति बन्छ । वस्तुको मात्र होइन, कम्पनीकै ठूलो मूल्य अभिवृद्धि गर्छ । ‘फेसबुक’ कोकाकोला, मित्सुबिसी जस्ता ट्रेटमार्कको मूल्य इन्टरनेटमा हेर्नुहोस् त कतिपर्दो रहेछ । तपाई कहालिन पनि सक्नुहुन्छ । ट्रेडमार्क मूल्यवान् सम्पत्ति भएकाले कसैलाई इजाजत दिएर वा संयुक्त रूपमा सहकार्य (फ्रेञ्चाइजिङ) गरेर पनि फाइदा लिन सकिन्छ र अरू भौतिक सम्पत्तिजस्तै बेचबिखन गर्न वा हक हस्तान्तरण गर्न पनि सकिन्छ । कुनैकुनै चिह्नहरू ट्रेडमार्कका लागि उपयुक्त हुन्छन् र कुनै उपयुक्त नहुने चिह्न पनि हुन्छन् । देहायमा उल्लेख गरिएका चिह्नहरू ट्रेडमार्कका लागि उपयुक्त हुँदैनन् ।

वर्णनात्मक चिह्न : जुन वस्तुमा वा सेवामा प्रयोग गर्ने हो सोही वस्तु वा सेवाको गुण, दोष, विशेषता वर्णन गर्ने खालका चिह्नहरू ट्रेडमार्कका लागि छान्नयोग्य हुँदैनन् । जस्तो कुनै खाने वस्तुका लागि मीठो, स्वादिलो, सर्वोत्तम जस्ता शब्दहरू वर्णनात्मक भएकाले ट्रेडमार्कका लागि उपयुक्त हुँदैनन् ।

सजातीय (जेनेरिक) पद : जुन वस्तुमा प्रयोग गर्ने हो त्यही वस्तुका पर्यायवाची शब्द वा सो वर्गका वा प्रकारका पदहरू ट्रेडमार्कका लागि ग्राह्य हुँदैनन् । जस्तो दूधमा प्रयोग गर्ने ट्रेडमार्क गाई, भैंसी, बाख्रा, बाच्छाजस्ता शब्दहरू सजातीय पद हुन् । त्यस्तै पानीमा प्रयोग गर्नका लागि जल, मूल, नदी, पोखरीजस्ता शब्दहरू सजातीय पद हुन् । यस्ता शब्दहरू ट्रेडमार्कका लागि ग्राह्य हुँदैनन् ।

धोकायुक्त चिह्न : चिह्न प्रयोग गरिने वस्तु वा सेवाको भौगोलिक उत्पत्ति, गुणस्तर र प्रकृति सम्बन्धमा उपभोक्ताहरूलाई भ्रमित गर्ने चिह्नहरू ट्रेडमार्कका लागि उपयुक्त हुँदैनन् । जस्तो रक्सीलाई ‘अमृत’ भनेर बेच्नु, नरिवलको तेलको बोतलमा ‘तोरस्को बोट’ चिह्न प्रयोग गरेर बेच्नु धोकायुक्त चिह्न हुन् ।

सार्वजनिक नैतिकताहीन चिह्न : सार्वजनिक नैतिकताविपरीत चिह्नको प्रयोग भन्नाले समाजमा प्रचलित रीतिरिवाज, धार्मिक मूल्यमान्यताविपरीत हुनु र जात, जाति, लिंग, वर्ण, सम्प्रदायलाई आँच पुग्ने गरी चिह्नको प्रयोग गर्नु सार्वजनिक नैतिकताविपरीत कार्य हो । जस्तो जुत्तामा बुद्ध चिह्न प्रयोग गर्नु खैनीमा ‘गुरु’ प्रयोग गर्नु सार्वजनिक नैतिकताविपरीत कार्य हो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाका चिह्नहरू : कुनै पनि मुलुकका नाम, छाप, झण्डा, शैक्षिक दस्ताका चिह्नहरू तथा अन्तरराष्ट्रिय संस्थाका नाम, संक्षिप्त नाम, झण्डा लोगो, छापजस्ता चि≈नहरू र ओलम्पिक खेलका चिह्नहरू ट्रेडमार्कका रूपमा प्रयोग गर्नयोग्य हुँदैनन् । कुनै कुनै चिह्न सम्बद्ध मुलुकको सरकार वा अन्तरराष्ट्रिय संस्थाको पूर्वस्वीकृति लिएर ट्रेडमार्कको रूपमा प्रयोग गर्न वा दर्ता गर्न पनि सकिन्छ ।

उपर्युक्तअनुसारका निरपेक्ष आधारहरू बाहेक सापेक्ष आधारमा पनि कुनै चिह्न ट्रेडमार्कका लागि अनुपयुक्त हुन सक्छ । सापेक्ष रूपमा हेरिने विषय हुन् उही वा उस्तै वस्तुमा साविकमा स्थापित ट्रेडमार्क अधिकारमा आँच पुग्ने खालको हुनु हुँदैन वा त्यस्त ट्रेडमार्कसँग मिल्दोजुल्दो नभएको हुनुपर्छ । त्यस्तै कुनै पनि सुपरिचित चिह्नसँग र भौगोलिक संकेतका चिह्नसँग पनि मिल्दोजुल्दो हुनु हुँदैन ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्