फागुन १६, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले आज (आइतवार) देखि नै लागू हुने गरी उक्त कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि फागुन १४ गते आईपीओ बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि सोहि मर्चेण्ट बैंकिङ लिमिटेडले पूरा गरेको हो । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम यसै मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले सूचना जारी गरी जानकारी गराएको हो ।
महिला लघुवित्तले सर्वसाधारणलाई आईपीओ विक्री गरी चुक्तापूँजी रू. १० करोड पुर्याएको छ । सर्वसाधारणमा रू. ४ करोड बरारबरको शेयर विक्री गरेको कम्पनीको यस अघि संस्थापकतर्फ रू. ६ करोड बराबरको शेयरपूँजी चुक्ता गरेको थियो ।
आईपीओ निष्कासन पश्चात कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ सम्ममा प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।
प्रतिशेयर नेटवर्थको तीन गुणासम्म धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि रू. ९३९ दशमलव ४८ सम्म मूल्य तोकिने देखिन्छ ।