ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.१२ % घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्बभन्दा बढी

२०७७ फागुन, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३ दशमलव १२ प्रतिशत घटेर बन्द भएको छ । यो दिन परिसूचक ७९ दशमलव ७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ विन्दुमा बन्द भएको हो । 

गत बिहीवार पनि बजार ४४ दशमलव ९४ अंकले घटेको थियो । दुई कारोबार दिन निरन्तर बजार घट्दा नेप्से परिसूचक २ हजार ५०० विन्दु तल झरेको हो । 
आइतवार २ हजार ५५७ दशमलव ७९ विन्दुदेखि खुलेको बजार एक मिनेटमै २ हजार ५५९ दशमलव ४३ विन्दुमा पुगेको थियो । त्यसपछि भने बजार घटेर बन्द भएको हो ।

परिसूचक उच्च दरमा घटेपनि यो दिन रू. ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन २०७ ओटा कम्पनीको ९६ हजार १५१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरीदविक्री भएको छ ।

कारोबार रकमको उच्चता कायमै रहेको अवस्थामा बजारले अझै गति लिनेमा विश्वास व्यक्त गर्दै अग्रज लगानीकर्ताहरुले संयमित भएर कारोबारमा सहभागी हुन आग्रह गरेका छन् । 

नेपालकै पहिलो लगानीकर्ता संघ अर्थात् नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष एवम् पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले धैर्य र संयमित लगानीकर्ता बन्न आग्रह गरेका छन् । उनले धैर्यता गुमायौं भने ठूलो धन पनि गुमाउने भन्दै गन्तव्य धेरै माथि रहेकाले धैर्य गर्न भनेका हुन् । आगोमा राप र

शेयर बजारमा तनाब सधैं रहने हुँदा यसलाई स्वीकार गरेर अघि बढ्न पनि उनले सबै लगानीकर्ताहरु समक्ष अनुरोध गरेका छन् । त्यस्तै पूँजी बजार विकास अभियानका अभियन्ता तिलक कोइरालाले पनि घटाई र बढाई शेयर बजारको जिवन्त रुप भएको उल्लेख गर्दै यसैमा अध्यस्त हुन र सिक्न सबैमा आग्रह गरेका छन् ।

उनले यो क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुले आत्तिने र लोभिने कदापी गर्न नहुने पनि बताएका छन् । लगानीकर्ताको मनोबल उच्च भए बजारले उच्च विन्दु कायम गर्ने बताउँदै अग्रज लगानीकर्ताहरुले मनोबल उच्च बनाउनसमेत अनुरोध गरेका छन् ।

आइतवार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रकमको शेयर किनबेच भएको छ । उक्त कम्पनीको रू. १ अर्ब २१ करोड ६ लाख ३२ हजार बराबरको शेयर किनबेच भएको हो ।

२७ दशमलव ७७ प्रतिशत बोनस शेयरपश्चात ३० प्रतिशत हकप्रद शेयरको प्रस्ताव गरेको कम्पनीको शेयरमूल्य पनि २ दशमलव ८० प्रतिशत बढेको छ । उक्त कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता रू. ७७ ले बढेर रू. २ हजार ८२४ कायम भएको हो ।

उच्च अंकले घटेको आइतवारको बजारमा चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशत बढेको छ । दोस्रो बजारमा उच्च माग रहेको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७ ले बढेर अन्तिम मूल्य रू. ४१४ कायम भएको हो । 

यो दिन गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १०८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ४३४ मा झरेको हो ।

आइतवारदेखि चन्द्रागिरी हिल्सको कारोबार होटल्स तथा पर्यटन समूहमा भएको छ । यो समूह बाहेकका सबै समूहको परिसूचक घटेको छ । होटल्स तथा पर्यटन समूहको परिसूचक भने शून्य दशमलव ५४ प्रतिशत बढेको हो । यसदिन लगानी समूहको परिसूचक सर्वाधिक ४ दशमलव १३ प्रतिशत घटेको छ ।

नेप्सेले आइतवारदेखिनै थप गरेको लगानी समूहसँगै बैंकिङको २ दशमलव ९६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३८ प्रतिशत, विकास बैंकको २ दशमलव ८६ प्रतिशत, जलविद्युतको ३ दशमलव ३५ प्रतिशत, वित्त समूहको २ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत घटेको छ ।

यसैगरी अन्यको ३ दशमलव ८९ प्रतिशत, लघुवित्तको ३ दशमलव २४ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक १ दशमलव ७७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्