साप्ताहिक आर्थिक अभियान तथा मासिक न्यू बिजनेस एजको प्रकाशन संस्था एनबीएले एक हप्ते आर्थिक पत्रकारिता कार्यशाला सञ्चालन गरेको छ । कार्यशाला जेठ १० गतेदेखि सुरू भएको थियो । उक्त प्रशिक्षण भारतको पुनास्थित इन्टरनेसनल स्कुल अफ बिजनेस एन्ड मिडियाका कार्यकारी निर्देशक प्रो. उज्ज्वलकुमार चौधरीले दिएका थिए । चौधरी न्यू ग्लोबल इन्डियन मासिकका प्रबन्ध सम्पादक पनि हुन् ।
एनबीएले आर्थिक अभियान साप्ताहिकलाई छिट्टै नै ब्रोडसिट दैनिकका रूपमा प्रकाशन गर्दैछ । अभियानमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको प्रकाशनले बताएको छ ।
कार्यशालामा आर्थिक पत्रकारिताका विभिन्न आयामहरूबारे सिद्धान्तगत र व्यावहािरक प्रशिक्षणा दिइएको थियो । कार्यशालामा २६ जना पत्रकार सहभागी थिए । प्रकाशनका अध्यक्ष तथा आर्थिक अभियान र न्यु बिजनेस एजका प्रधानसम्पादक मदन लम्सालले नेपाली पत्रकारितामा नयाँ प्रयोगको रूपमा लिएको बताए । ‘हामीले स्थापित वा अरू सञ्चारमाध्यममा काम गरिसकेका पत्रकारहरूलाई नलिइकन नै दैनिक प्रकाशन सुरू गर्न लागिपरेका छौं र नयाँ जनशक्तिबाट एक्काइसौं शताब्दी सुहाउँदो ढंगमा काम हुन्छ भन्ने हाम्रो विश्वास हो,’ लम्सालले भने ।
आर्थिक पत्रकारितामा छुट्टै पहिचान बनाएको आर्थिक अभियानले स्वतन्त्र अर्थनीतिको वकालत गर्छ । ‘हामी स्वतन्त्र अर्थनीति एवं निजी औद्योगिक उन्नतिको पक्षपाती हौं । जबसम्म स्वतन्त्र आर्थिक पत्रकारिताको विकास हुन्न आर्थिक क्रान्ति पनि हुन सक्दैन’ उनले भने । ‘आर्थिक पत्रकारिता देशको अर्थतन्त्र डो¥याउने मेरूदण्ड हो । प्रशिक्षणका सहजकर्ता तथा अभियानका कार्यकारी सम्पादक केशव गौतमले बताए ।
वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३