ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उखु किसानले अझै पाएनन् पूरा भुक्तानी

२०७७ फागुन, १७  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अभैmसम्म पाउन सकेका छैनन् । गत पुस १३ गते सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार किसानले पाउनुपर्ने बक्यौता रकम सम्बद्ध उद्योगीहरूबाट सरकारले नै २१ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो । तर, हालसम्म पनि उखु किसानहरूले आफूले पूरा रकम नपाएको दाबी गरिरहेका छन् ।

अहिले उखु किसान चरणबद्ध आन्दोलनमा छन् । सोहीअनुरूप आइतवारदेखि उनीहरूले एकछाक उपवास बसेर खेतमा काम गरेर विरोध गरिरहेका छन् । ‘अझै पनि उद्योगीले बक्यौता रकम पूर्ण भुक्तानी गरेका छैनन् । त्यसैले विरोध स्वरूप हामी अहिले एकछाक खाएर खेतमा भोकभोकै काम गरिरहेका छौं, आफ्नै पसिनाको मूल्य पाउन पनि भोकभोकै खेतमा काम गर्दै विरोध गर्नुपर्ने हाम्रो यो कस्तो बाध्यता,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले आर्थिक अभियान दैनिकसँग भने ।

उनका अनुसार किसानले उद्योगीहरूबाट कुल ९० करोड रुपैयाँ भुक्तानी पाउनुपर्नेमा हालसम्म ५७ करोड किसानको खातामा आएको छ र बाँकी ३३ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

सरकारी पक्षले भने उनको कुरालाई खण्डन गर्दै उद्योगीहरूले उद्योग मन्त्रालयलाई बुझाएको तथ्यांकअनुसार ६५ करोड रुपैयाँ बक्यौता रहेको छ र त्यसमध्ये ५७ करोड रुपैयाँ भुक्तानी भइसकेको बताएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बैंक खाता नभएका र रकम लिन बोलाउँदा हालसम्म पनि सम्पर्कमा नआएका केही किसानबाहेक अरू सबैको रकम भुक्तानी भइसकेको बताएकी छन् ।

किसान र उद्योगीबीचको ९० करोड र ६५ करोडको वास्तविकताका बार भने किसान र उद्योगीबीचका समस्याका बारेमा अध्ययन गर्न गत पुस १३ मा उद्योग मन्त्रालय, गृह मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय, चिनी उत्पादक संघ र उखु किसानका प्रतिनिधिसहित गठन भएको संयुक्त प्राविधिक समितिको निष्कर्ष आएपछि मात्र भन्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त समितिले अहिले काम गरिरहेको र रिपोर्ट आउन अझै २ महीना लाग्नेछ ।

महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले किसानले उखु बेच्न लैजाँदा उखुको गुणस्तर राम्रो नभएको भन्दै प्रतिक्वीन्टल उखुबाट ५ देखि २० किलोसम्म तौल कटौती गरेकाले हिसाबमा समस्या देखिएको संघर्ष समितिका सचिव हरिश्याम रायले बताउँदै आएका छन् । उनका अनुसार प्रतिक्वीन्टल उखुमा १ केजीजति घटाउन मिल्छ तर उद्योगीले धेरै घटाउँदा समस्या भएको देखिन्छ । प्रतिक्वीन्टल उखुमा कसैको ९० केजी त कसैको ८० केजीको बिल यी दुई उद्योगले बनाएका छन् । यस बारेमा किसानले त्यति बेला नै कुरा उठाएका भए पनि उद्योगीले किसानका कुरा नसुनेको उनले गुनासो गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्