ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अन्ततः बोर्डमा मर्ज भयो खानेपानी संस्थान

२०७७ फागुन, १७  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १७, धरान । छैठौं नगर सभादेखि नै प्राथमिकताका साथ उठ्ने गरेको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने मुद्धा अन्ततः टुङ्गिएको छ । लामो समयदेखि विवादित बन्दै आएको खानेपानी संस्थानलाई अन्ततः बोर्डमा मर्ज गरिएको छ । 

अघिल्लो वर्षको फागुनमा भएको छैठौं नगरसभा संस्थानलाई बोर्डमा मर्ज गरिनु पर्ने भन्दै जनप्रतिनिधीहरुले नै विरोधमा उत्रिएका थिए । सातौं नगर सभामा पनि मुख्य मुद्धा बनेको थियो । 

गत फागुन १० गतेको आठौं नगरसभा पनि खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्नुपर्ने भन्दै नाराजुलुस नै गरेका थिए । मेयर तिलक राईले फागुन २१ गतेसम्म बोर्डमा हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाउँदै नगरसभा स्थगित गरिएको थियो । आइतवार संस्थानको सम्पत्ति तथा दायित्व बोर्डमा हस्तान्तरण गरिएको छ ।

धरान उपमहानगरपालिकाले औपचारिक रुपमा बोर्डमा मर्ज भएको घोषणा नगरे पनि सोमवारदेखि संस्थानका कर्मचारीहरु समेतले बोर्डमा हाजिरी गर्न थालेका छन् भने सम्पत्ती तथा दायित्व समेत बोर्डमा हस्तान्तरण गरिएको छ । केही दिन भित्रै संस्थानको सम्पत्ति तथा दायित्व औपचारिक रुपमा हस्तान्तरण गरिने एक स्रोतले जानकारी दिएको छ । 

संस्थानका एक कर्मचारीका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई आइतवारनै बोर्डमा हस्तान्तरण गरिएको थियो । सोमवार बोर्ड अध्यक्षको रुपमा मेयर तिलक राई कार्यालयमा आएर पदवहाली गरेको र कर्मचारीहरुसँग परिचयात्मक छलफल पनि भएको उनले बताए । मेयर राईले कर्मचारीहरुलाई जसरी पनि पानी खुवाउनुपर्छ भन्ने निर्देशनसमेत दिएको ती कर्मचारीको भनाइ छ ।

बोर्डमा रहने निर्णय गरेका कर्मचारीहरुले सोमवार देखि नै बोर्डमा हाजिरी गर्न पनि थालेका छन् । यसअघि ४३ जना कर्मचारीहरु बोर्डमा रहने इच्छुक भएका थिए । सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो । तर, एक, दुई जनाले पुनः संस्थानमा नै गएको हुनसक्ने एक कर्मचारी बताउँछन् । 

यता बोर्ड अध्यक्ष एवम् मेयर राईले केही दिनभित्रै संस्थानलाई जिम्मा लिएर बोर्डमा मर्ज गरिएको बारेमा औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर नै विस्तृत जानकारी दिने बताए । उनले आन्तरिक प्रक्रियामा गएका छौं, केही दिनभित्रै सबै जानकारी गराउने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्