ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालंगा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

२०७७ फागुन, १८  
कर्णाली प्रदेश
NA

बझाङ । निजीक्षेत्रको लगानीमा निर्माण भइरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालंगा जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन ६५ मेगावाट क्षमताको उक्त आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ ।

करीब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आउँदो चैतभित्रै विद्युत् उत्पादनको तयारी गरेको छ ।

सन् २०१७ देखि निर्माण शुरू भएको आयोजनाले सन् २०२० भित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर कठिन भौगोलिक अवस्थाले निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ । आयोजनाको विद्युत्गृह निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेकोे छ । टनेल निर्माणलाई अन्तिम रूप दिनुका साथै विद्युत्गृहमा विद्युतीय उपकरण जडानको काम भइरहेको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता, वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजनामा ढिलाइ भएको उनको भनाइ छ । काममा ढिलाइ हुँदा लागत पनि बढेको छ । आयोजना निर्माण सम्पन्न भएपछि ३५० भन्दा बढी स्थानीयले रोजगारी पाउने बताइएको छ । यो आयोजना सुदुरपश्चिमको विकासका लागि कोसेढुंगा सावित हुने कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए । यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चापदार्थ भए पनि विद्युत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निर्माण सम्पन्न भएपछि विभिन्न उद्योग स्थापनाका लागि ढोका खुल्ने उनले बताए । आयोजना निर्माण शुरू भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाइरहेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्