ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

२०७७ फागुन, १८  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३/४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ ।

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।

पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ ।

दोस्रो र तेस्रो चरणको मल भने चटगाउँ बन्दरगाहबाट प्राप्त भएपछि बंगलादेशकै बंगलाबन्ध बन्दगाहमार्फत रोहनपुर, सिंहवाद हुँदै विराटनगर आइपुग्ने र त्यसपछि वीरगञ्ज र भैरहवालगायत स्थानमा पठाइने भएको छ ।

गत वैशाखमा ५० हजार मेटन युरिया मल किन्ने ठेक्का पाएका दुई कम्पनी शैलुङ इन्टर प्राइजेज र होनिको मल्टिपलले मल आयात गर्न नसक्दा सरकारले बंगलादेश सरकारसँग पैंचोमा मल ल्याउने सहमति गरेको भए पनि उक्त सहमति कार्यान्वयन हुन सकेको थिएन । त्यसपछि नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच गत पुस २ गते जीटुजी प्रक्रीयामार्फत मल किन्ने सम्झौता भएको थियो ।

कृषि सामग्री कम्पनीले महीना दिनभित्र ५५ हजार मेटन डीएपी र ३० हजार मेटन युरिया आयात गरेको छ । यसमध्ये हाल ८ हजार मेटन युरिया, ३३ हजार मेटन डीएपी र ६ हजार ६ सय मेटन पोटास मौज्दात रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्