ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर सापटी लिएर कारोबार गर्ने प्रणालीबारे अध्ययन गर्दै छौं

२०७७ फागुन, १९  
अन्तरवार्ता
Image Not Found
चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एकसचेञ्ज (नेप्से)

पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रविधिमा फड्को मारेको छ । नयाँ प्रविधिले अवसर जुटाएसँगै कहिलेकाहीँ समस्या निम्त्याउने चुनौती पनि देखिएको छ । यद्यपि, नेपालको पूँजीबजार कारोबार प्रविधिमैत्री बनेको छ । प्रस्तुत छ, प्रविधिले ल्याएका अवसर, चुनौती र भावी योजनाबारे नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदसँग आर्थिक अभियानका ममता थापाले गरेको कुराकानीको सार :

गत बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा विशेषगरी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) शेयर कारोबारमा समस्या देखियो ? यसअघि पनि प्रविधिमा समस्या आइरहेका थिए । किन पटक पटक यस्तो समस्या देखिन्छ ?
अहिले निफ्रामा मात्र समस्या देखिएको हो । कहिलेकाहीँ प्रविधिमा नयाँ नयाँ किसिमका थाहा नहुने समस्या आउने गरेको छ । निफ्राको सन्दर्भमा आईटी कम्पनी तथा भेन्डर कम्पनीको भनाइअनुसार विक्रेताको अत्यधिक चापले प्रणालीमा समस्या देखियो । यसमा मूल्य म्याच गर्दा भिन्न तरिकाले गर्‍यो । निफ्राको शेयरमा समस्या आए पनि अरूकोमा समस्या थिएन । वेबसाइटमा देखिएको यो समस्याले बजारमा सबै बजार बन्द हो कि भन्ने किसिमका समेत कुरा भए । निफ्राकोमा समस्या आएपछि त्यो दिन केही समय बन्द ग¥यौं । यो पहिलेको जस्तो समस्या होइन ।

हाम्रा लगानीकर्ता धेरैजसो वेबसाइटमा झुम्मिन्छन् । वेबसाइटमा एउटा स्क्रिप्टमा समस्या आए समग्र इन्डेक्स नै बिग्रिन्छ । पहिला एउटा स्क्रिप्ट बिग्रँदा समग्र बजार प्रभावित हुन्थ्यो, तर अहिले त्यसो भएन । हामीले प्रविधिमा सुुधार गरेका छौं । तर प्रविधिमा शतप्रतिशत जोखिमरहित छौं, समस्या आउँदैन भनेर कसैले भन्न सकिँदैन । यसअघि जापानको स्टक एक्सचेञ्जमा पनि यस्तैखाले समस्या आएको थियो । अब यस्ता समस्या आउन नदिनेतर्फ सचेत छौं ।

कुनै लगानीकर्तालाई झुक्याएर वा केही सीमित लगानीकर्ताले मात्रै फाइदा उठाउन अहिलेको प्रविधिबाट सम्भव छैन ।

पछिल्लो समय शेयरको पूँजीकरण र लगानीकर्ताको संख्या पनि बढिरहेको छ । यस अवस्थामा नेप्सेको प्रविधिले थेग्न सकेन । अब यसलाई थेग्नेगरी विकास गर्न जरुरी भएको हो ?
यो एकदम सही कुरा हो । बन्दाबन्दी हुनुअघि दोस्रो बजारमा सक्रिय लगानीकर्ता करीब २ लाख मात्र थिए । आजको दिनमा यस्ता लगानीकर्ता ५ लाख हाराहारीमा छन् । २ लाखका लागि गरिएको व्यवस्थाले ५ लाखलाई थेग्यो । बजारमा २५–३० लाख लगानीकर्ता पुगे भने पनि नेप्सेको रेकर्डमा ग्राहक पहिचान (केवाईसी) अपडेट गरेका दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ५ लाखका हाराहारीमा हुन् । यसैलाई आधार बनाएर हाम्रो स्रोतसाधन बढाउने हो । भोलिका दिनमा लगानीकर्ता बढ्दै गएमा सोही अनुसार प्रविधिको विकास गर्दै जान्छौं ।

प्राथमिक बजारमा लगानीको संख्या जुन हिसाबले थपिएको छ, उनीहरू विस्तारै दोस्रो बजारमा पक्कै आउँछन् । सम्भावित चाप व्यवस्थापनका लागि पूर्वतयारी कसरी हुँदै छ ?
नेपालको जनसंख्या ३ करोड हाराहारीमा छ । हामी यो जनसंख्यालाई थाम्ने गरी गर्दैनौं । लगानीकर्ता जुन हिसाबले थपिँदै जान्छन्, त्यही अनुसार हाम्रो साधन र स्रोतभित्र रहेर सिस्टमको क्षमता थप्दै जान्छौं ।

यस्तो समस्या पछिल्लो पटक दोहोरिँदा नेप्सेले निफ्राको बजार मूल्य घटाउने चलखेलको आरोप समेत खेप्नुप¥यो । यसलाई कसरी लिनुभएको छ ?
भन्नलाई जसले जे भन्न पनि पाए । समस्या प्रविधिमा आएको हो । यसैले आरोपकै लागि आरोप मात्र हो । प्रविधिमा समस्या आएपछि नेप्सेले चलखेल गर्‍यो भन्ने लगानीकर्ताको पुरानै बानी हो । आजका दिनमा हामीले के बिर्सन हुँदैन भने हिजोको ५०–६० करोड रुपैयाँको कारोबार १०औं अर्ब रुपैयाँ पुग्ने क्षमता पनि त नेप्सेले बढाएको हो नि । राम्रो गरेको पनि हेर्नुपर्‍यो नि । आज विदेशमा बस्ने नेपाली नागरिकले समेत लगानी गर्न पाएका छन् । पूर्व मेचीदेखी पश्चिमका महाकालीसम्मका दूरदराजका लगानीकताले पहुँच पाएका छन् । आएका समस्या समाधान गर्ने हो । तर यसका सबल पक्षलाई पनि हेरिदिनुपर्छ । बिग्रियो भनेर त्यसमा टीका टिप्पणी मात्र गर्नु भएन ।

नेप्सेले पूँजी बजारमा नयाँ प्रविधि विकास गरेपछि किन गढबडी भइरहन्छ त ? यसअघिको अटोमेटेड अनलाइन ट्रेडिङमा पनि समस्या आएको थियो । पूर्व तयारी तथा परीक्षण कमजोर भएर हो ?
त्यसो होइन । खासमा नेप्सेले मात्रै यो प्रणाली चलाएको जस्तो देखिन्छ । स्टक एक्सचेञ्जको अनलाइन प्रणाली कसरी चलेको सबैले बुझ्न जररी हुन्छ । जस्तै– नेप्सेसँग यो प्रणालीको नट छ, ब्रोकरसँग टीएमएस छ, त्यो टीएमएसको डेटा सेन्टर वेब सर्भरमा छ । यो नट, टीएमएस, डेटा सेन्टर, बैंकको पेमेन्ट, सीडीएसको शेयरको कनेक्सन गर्ने काम इन्टरनेटले गरिदिन्छ । इन्टरनेट सुस्त हुँदा, लगानीकर्ताले प्रयोग गरेको एप्लिकेशनमा गडबढी भएमा, ब्रोकरले प्रयोग गरेको एपमा समस्या भएमा, बैंकको पेमेन्टमा प्राविधिक गडबढी भएमा वा सीडीएसको कुनै ठाउँमा कमजारी भयो भने आक्षेप चाहिँ नेप्सेले खेप्नुपर्छ । यस्ता विविध पक्षमा नेप्सेको सफ्टवेयरको समस्या होइन । कहिलेकाहीँ समस्या आउँछ । जतिसुकै विकसित मुलुक भए पनि जोखिमरहित केहीँ पनि छैन । यद्यपि समस्यालाई न्यूनीकरण गर्दै जाने हाम्रो प्रयास हो ।

बजारमा एकाथरी दीर्घकालीनका लागि आईपीओ किनेर बस्ने छन् भने अर्काथरी दोस्रो बजारमा बढी खेल्नेहरू छन् । अझै पनि शेयर घटबढमा ठूला लगानीकर्ताकै चलखेल हो भनिन्छ नि ?
चलखेल रोक्न शुरूमा प्रविधि विकास गर्ने हो । आजको दिनमा रियल टाइम र प्राइसको प्राथमिकताको आधारमा लगानीकर्ताले शेयर किन्न र बेच्न सक्छ । यसमा कुनै ब्रोकरको भर पर्नु परेन । लगानीकर्ता आफैले अनलाइनको यूजर नेम र पासवर्ड लिएर कारोबार गर्न पाउँछन् । यसकारण कुनै लगानीकर्तालाई झुक्याएर वा केही सीमित लगानीकर्ताले मात्रै फाइदा उठाउन अहिलेको प्रविधिबाट सम्भव छैन । हिजोका दिनमा ‘मैले यतिमा किनिदेऊ भनेको, ब्रोकरले बढीमा किनिदियो अर्थात् बढीमा बेचिदेऊ भनेको, ब्रोकरले कममा बेचिदियो । त्यही भएर मर्कामा परेँ’ भन्ने गुनासो आउँथ्यो । तर अहिले टीएमएसमा यस्तो गुनासो आएको छैन । टीएमएसमार्फत मार्केट डेप्थको आधारमा प्रष्ट रूपमा एकै क्लिकको भरमा खरीदविक्री गर्न पाएका छन् । त्यसैले चलखेल पहिलाको तुलनामा शून्य नै त होइन, तर धेरै घटेको छ ।

देशमा लकडाउनको समयमा पनि बढेको बजार पछिल्लो समय के कारणले प्रभावित भएको देख्नुहुन्छ ?
यसमा ठ्याक्कै यसरी भनेर हामी व्याख्या गर्न सक्दैनौं र भन्न पनि मिल्दैन । यो स्वस्थ प्रतिस्पर्धामा चल्ने बजार हो । बजारमा माग र आपूर्तिको आधारमा घटबढ हुन्छ । बजार सधैं बढ्दै जाने मात्रै होइन, बजार उतारचढाव आएर घट्छ पनि । हिजो अस्ति नेपालको पूँजीबजार मात्रै होइन, संसारभरको पूँजी बजारमा केही करेक्सन भएको थियो । भारतमै केही दिनअघि २ हजार विन्दुले घटेको थियो । प्रतिस्पर्धी, स्वतन्त्र र पारदर्शी बजार हो, यसमा घटबढ हुनु स्वाभाविक हो । खुला अर्थतन्त्रको बजारमा घटबढ, करेक्सन भइरहन्छ । अहिले संसद् पुनःस्थापना भएपछि अब अलिकति स्थिर हुने भयो भनेर बजारको पैसा आफ्नो पेशा व्यवसायमा पनि लगाउन खोजेकाले पनि यसको तरलता कम भएर घटेको हुन सक्छ ।

नेपालमा हालसम्म एकमात्र स्टक एक्सचेञ्ज छ । यसले मनोमानी गरेको भन्दै नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी पनि भएको सुनिन्छ । यो विषयलाई कसरी लिनुहुन्छ ?
म नेप्सेको सीईओ भएको आधारले नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छ भन्न मिल्दैन । यो नेप्सेको सरोकारको विषय होइन । नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड र लगानीकर्तालाई यहाँ नयाँ स्टक एक्सचेञ्जको खाँचो छ भन्ने लाग्छ भने ल्याउने प्रक्रिया अघि बढ्ला । हामीले ल्याऊ वा नल्याऊ भन्ने होइन । तर निजीक्षेत्रको संस्था आउने हो भने यो नेप्सेलाई पुनःसंरचना गर्न जरुरी छ । यो सरकारी संस्था भएकाले कतिपय काम तत्काल गर्न हामीलाई हम्मे पर्छ । सरकारी भएको कारण कुनै हार्डवेयर किन्नुपर्‍यो भने किन्ने निर्णय लिनेदेखि खरीद गर्न ६ महीनासम्म लाग्छ । कुनै निर्णय गर्नुप¥यो भने पनि निजीको जस्तो तुरुन्तै हुँदैन । यसअघि मैले निजीक्षेत्रमा काम गरेको अनुभव भएकाले त्यहाँ तुरुन्तै निर्णय हुन्छ । तर यहाँ त्यो सम्भव छैन । यसकारण पनि नयाँ स्टक आउने हो भने त्यही अनुसारको प्रतिस्पर्धी बनाउन नेप्सेलाई पुनःसंरचना गर्नुपर्छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाको सन्दर्भमा हामीले रोकेका होइनौं । नेप्सेले गर्ने काम केही पनि बाँकी छैन ।

नेप्सेले नयाँ कम्पनीहरूको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने गर्छ । तर हाल सूचीकृत भइसकेका कतिपय कम्पनीको नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पनि देखिँदैन । यो उपयुक्त हो ?
नयाँ कम्पनी सूचीकृतका लागि दर्ता हुन आउँदा हामी नेटवर्थको ३ गुणासम्म आधार मूल्य गणना गर्छौं । दर्तापछि दोस्रो बजारमा कारोबार हुँदै जानु पनि हाम्रा लागि बेस प्राइस हो । सूचीकृत भइसकेपछि सो संस्थाले बोनस, नगद लाभांश दिन्छ । त्यसको आधारले बेस प्राइस परिवर्तन हुँदै जान्छन् । नगद लाभांशमा बजार मूल्यको १० प्रतिशतभन्दा बढी भयो भने यसले पनि असर गर्छ । बोनस शेयर जति दिए पनि गणनामा राख्छौं । कतिपय कम्पनीको नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पनि नदेखिनुमा छलफल गर्ने ठाउँ होलान् । तर अहिलेको विद्यमान कानूनले यही गरेको छ र सोही अनुसार काम गरेका छौं ।

नेप्सेमा हकप्रद शेयर र ऋणपत्रको छुट्टै कारोबार हुनेगरी बजार विस्तार गर्ने योजना सेबोनले अघि सारेको थियो । नेप्सेको तर्फबाट यसको विकासका लागि प्राविधिक तयारी के भइरहेको छ ?
हकप्रदको निस्सा अर्थात् राइट रिनाउन्स गर्न कार्यविधि बनाएर सेबोनमा पठाएको झण्डै २ वर्ष भयो । तर त्यहाँबाट कुनै पनि प्रतिउत्तर आएको छैन । यसैले जस्तो छ, त्यहीअनुसार चलेको छ । ऋणपत्र कारोबारलाई अझ पारदर्शी बनाउन, कारोबार योग्य धितोपत्रको रूपमा विकास गर्न बोर्डमै एउटा कमिटी गठन भएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको संयोजकत्वमा सेबोन, नेप्से, अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कमिटी गठन भएको छ । त्यसको एक सदस्यमा म पनि छु । यो समितिले सेबोनको नेतृत्वमा नेप्से, सीडीएससी, अर्थ मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि रहनेगरी समिति पनि गठन गरिसक्यो । यो समिति साढे २ महीनाअघि गठन भएको हो । अब समितिले के कसरी गर्ने भनेर तय गरेपछि थाहा हुन्छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा सेलायो । भएका ब्रोकरले दिनप्रतिदिन बढेको कारोबार धान्न सक्छन् ?
बैंकलाई ब्रोकर लाइसेन्स दिने सन्दर्भमा नेप्सेले आवेदन खुलाएपछि १२ ओटा बैंकको सहायक कम्पनीले निवेदन पनि हालिसकेका हुन् । हामीले रोकेका होइनौं । नेप्सेले गर्ने काम केही पनि बाँकी छैन । सबै काम हामीले गरिसकेका छौं । नियामकले निर्देशन दिनेबित्तिकै एक हप्तामा पुनः आवेदन खुलाउन सक्छौं । यसबाहेक प्रदेशगत रूपमा नयाँ ब्रोकर कम्पनी दिने भनेर नेप्सेले अध्ययन गरेर कार्यविधि सेबोनमा पठाएको छ । पछिल्लो समय सेबोन पनि सकारात्मक रहेको देख्छु । अब कारोबार नै १० अर्ब हुन थालेकाले ब्रोकर पनि थप्न जरुरी छ ।

ब्रोकर संस्थालाई हामीले संस्थागत विकास गर्न सकेका छैनौं । उनीहरूले प्रविधिको खासै विकास गरेका छैनन् । यसमा पनि कमजोरी छ । लगानीकर्ताले समयमा सुविधा नपाउनुको एउटा कारण यो पनि हो । आजको दिनमा अर्बौं कारोबार गर्ने ब्रोकरको पूँजी थोरै छ । यो बढाउनुपर्ने आवश्यकता छ । उनीहरूको प्राविधिक अडिट गर्नुपर्ने हो कि, यसबारे पनि नियामकले हेर्नुपर्छ ।

बजारको थप विकास र विस्तारका लागि नेप्सेले कुनै नयाँ योजना बनाएको छ ?
पहिलो त नेप्सेले लगानीकर्तालाई थप सेवा दिन भर्खरै २ महीनामा प्रतिवेदन दिनेगरी इन्ट्रा डे ट्रेडिङ, लेण्डिङ/बरोइङको अध्ययन गर्न कमिटी गठन गरेको छ । नेप्सेको नेतृत्वमा गठित कमिटीमा धितोपत्र दलाल व्यवसाय, मर्चेन्ट बैंकर र सीडीएससीबाट एक÷एकजना प्रतिनिधि रहेर काम थालिएको छ । इन्ट्रा डे भनेको अहिले शेयर किनेर एक छिनपछि पुनः बेच्न सकिने व्यवस्था हो । यस्तै अब लगानीकर्ताले आफूसँग भएको शेयरभन्दा बढी कारोबार गर्न चाहे भने अब त्यो शेयर अन्तबाट सापटी (बरोइङ) गर्न सक्छन् । नागरिक लगानी कोष, सञ्चय कोष जस्ता ठूला संस्थाहरूसँग सापटीबापत केही शुल्क तिरेर लिन सकिन्छ । बैंकबाट जसरी नगद सापटी लिइन्छ, त्यसैगरी यो प्रणाली आएमा अब शेयर सापटी लिएर विक्री गर्न सकिन्छ । यसबारे हामी अध्ययन गर्दै छौं । अहिले लगानीकर्ताले आफूसँग हुँदै नभएको शेयर झुक्किएर बढी विक्री प्रस्ताव गर्दा जरिवानास्वरूप २० प्रतिशत ‘क्लोजआउट’ तिर्नुपर्छ । यो प्रणाली ल्याए त्यस्तो समस्या पनि हट्छ । अझै अहिले नेप्सेले शेयर म्याच गरेर विक्री गर्न सहज गरिदिएकाले यो समस्या घटेको छ । हामीले म्याच गर्ने प्रणालीसँगै फ्युचर डेरिभेटिभ, फ्युचर इन्डेक्सका लागि तयारी अवस्थामा काम गरिरहेका छौं । अब यसको प्राविधिक रूपले कहाँ के गर्न सकिन्छ भनेर अध्ययन गर्न बाँकी छ । जस्तै– नेप्से फिफ्टी, थर्टी भनेर आफ्नै इन्डेक्सको ट्रेडिङ गराउन आधा काम सकिएको छ । यसपछि चालू आर्थिक वर्षको अन्त्यमा ओटीसी बजारलाई प्रविधिमैत्री बनाउन अध्ययन गर्ने नीति कार्यक्रम भएकाले यसलाई पनि अघि बढाउँछौं । मेरो अनुभवले सबैभन्दा पहिले कारोबार गर्न ब्रोकरलाई अख्तियार प्रत्यायोजन (पावर अफ अटर्नी) दिन जरुरी छ ।

नीतिगत रूपमा थप के कस्ता व्यवस्था भए बजारले अझै गति लिक्छ ?
अब इन्साइडर ट्रेडिङमा ऐन नियमको खाँचो छ । नेपालमा लगानीकर्तालाई बढी स्वतन्त्रता छ । कुनै काम लगानीकर्ताको कारणले बिग्रिएमा समाउने ठाउँ छैन । हामीले प्रविधिमा धेरै ठूलो फड्को मारिसकेकाले अब नियामक निकायले स्टक एक्सचेञ्जले चलाउने सफ्टवेयर कस्तो हुनुपर्ने, कुन संयन्त्रको बनाउनु पर्ने हो, त्यसको निर्धारण गरिदिनुपर्छ । हामीले विदेशमा यस्तो छ भन्यौं भने नेपालमा जे छ, त्यसैले चलाउनुस् भन्ने कुरा आउँछ । नेप्सेले शेयरबजारका लागि कस्तो सफ्टवेयर चाहिन्छ भनेर २०७२ सालमा अध्ययन गरेपछि यो अनलाइन आएको हो । नियामक निकायले चाहिन्छ भनेर आएको होइन । नेप्सेको एकल पहलमा आएको हो । त्यसैले अब नियामकले पनि प्रविधिको नीति ल्याउनुपर्छ । र, आफै पनि प्रविधिमा सम्पन्न हुनुपर्छ । पूँजीबजारमा मात्रै होइन, सबै क्षेत्रमा प्रविधिको विकास भएपछि मात्र कानून बनाउने चलन छ । प्रविधि आएपछि यस्तो हुनुपर्ने, यस्तो भयो भनेर गुनासो आउँछ । अहिले नेप्सेमा भएको समस्या यो पनि हो ।

शुरूका दिनमा अनलाइन सिस्टम ल्याउनुअघि नियामक निकायले यसमा कस्ता विशेषता हुनुपर्ने भनेर समावेश गर्नेगरी सफ्टवेयर ल्याउन निर्देशन दिनुपथ्र्यो । यो अनुसार तयार हुन्थ्यो । तर पछि ‘यस्तो र उस्तो’ भन्दा हामी तत्कालै परिवर्तन गर्न सक्दैनौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्