ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अझै सम्पन्न भएन नक्खु–बुङ्मती सडक

२०७७ फागुन, २०  
वाग्मती प्रदेश
NA

काठमाडौं । नक्खुखोलाबाट भैंसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरू भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माण भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्काे खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ ।     

सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । निर्माण शुरू भएको वर्षमा सडकको चौडाइ बढाउन नसकिएर ढिलाइ भएकामा गत आर्थिक वर्षमा कोभिड–१९ र निर्माण सामग्रीको अभावका कारण अघि बढ्न नसकेको योजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको सीमांकन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्ने भए पनि निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण थाल्न ढिला भएको आयोजनाले बताएको छ । ‘एक त निर्माण शुरू नै गर्न सकिएको थिएन, शुरू भएपछि पनि अवरोध आइरहेको छ,’ सूचना अधिकारी देवकोटाले भने ।

उक्त सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रूखसमेत हटाउन कठिन भएकाले निर्माणमा ढिलाइ भएको योजनाले बताएको छ । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । लामो समयसम्म निर्माण नभए पनि अहिले उपलब्ध चौडाइमै कालोपत्र गरेर ठेक्का पूरा गर्न लागिएको उनले बताए । तत्कालका लागि चौडाइ बढाउन नसकिने भएकाले सरकारले काठमाडौं उपत्यकाका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । २० मिटर चौडाइमा कालोपत्र गर्नेगरी पहिले ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा आधा चौडाइमा कालोपत्र भइरहेको छ । ‘चौडाइ कम भएका ठाउँमा पैदलयात्रु मार्गलगायत पूर्वाधार निर्माण गर्न सकिएको छैन,’ उनले भने ।

योजनाले गत वर्षहरूमा सडकको चौडाइ पर्याप्त भएको स्थानमा कालोपत्र गर्दै साँघुरा बस्ती रहेका स्थानमा कति चौडाइ कायम गर्न सकिन्छ भनी स्थानीय तहसँग समन्वय गरेको थियो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्