ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

केन्द्रीय प्रसारण लाइनमा जोडियो सौर्य प्लाण्टको १० मेगावाट विद्युत्

२०७७ फागुन, २०  
वाग्मती प्रदेश
NA

नुवाकोट । नुवाकोटमा निर्माणाीधन मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । परीक्षणका रूपमा गत जेठमा १ दशमलव २५ मेगावाट विद्युत् उत्पादन भएकोमा अहिले थप ८ दशमलव ७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले बताए ।

२५ मेगावाट क्षमताको उक्त आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमवार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान गरिएको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले दिए ।     

आयोजनामा रहेका सात ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको हो । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सीधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।     

आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप ५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम पुगेको बताइएको छ ।     

थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ । त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्‍याइएको र १ महीनाभित्रै ५ मेगावाट विद्युत् थप हुने देखिएको छ । थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिएका छन । ‘यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ, यसले विद्युत् संकट बढाउन सक्ने देखिन्छ,’ उनले भने, ‘अभाव पूरा गर्न वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।’    

दुई चरणअन्तर्गत थप ६ महीनाभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य भएकाले त्यसलाई पूरा गर्न सकिने आयोजना प्रमुख रघुवंशीले प्रतिबद्धता व्यक्त गरे । नेपालकै ठूलो सौर्य प्लान्टका रूपमा रहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करीब ३ अर्ब ८० करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महँगो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले बताएको छ ।     

सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले ५ वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्र नेपाल विद्युत् प्राधिरकणलाई हुनेछ । सौर्य प्लान्ट पूर्ण सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारणमा वार्षिक ३ करोड ३० लाख युनिट विद्युत् थप हुने प्राधिकरणले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्