ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतमा विकासको गति : ४ ओटा विद्युत् आयोजना निर्माणाधीन

२०७७ फागुन, २०  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

फागुन २०, पर्वत । उर्जाखोलाको रुपमा परिचित मोदीखोला र सेतीखोलामा थप चार ओटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन ओटाा र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन छन् । 

पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी २ र मध्यमोदी जलविद्युत् आयोजना र पैयुँ गाउँपालिका स्थित सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाले धमाधम स्टक्चरको काम गरिरहेका छन् । 

तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव १ मेगावाट, तल्लो मोदी–२ आयोजना १० मेगावाट र सेतीखोला साढे तीन मेगावाटका आयोजना हुन् । मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । 

यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नु पर्ने हो । तर , सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तीका कारण तोकिएको समयमा चार्ज हुन सकेन । अब आयोजनाको काम सकेर परिक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए । 

शुरुमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाईलगायत कारणले आयोजनाको लागत बढेको छ । यस्तै, यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो । 

यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७० असार ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करीब २ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । 

आयोजनाबाट विसं २०७५ मंसिरमा नै विद्युत् उत्पादन गर्ने तालिका भएपनि भूकम्प नाकाबन्दी लगायतका कारणले उत्पादन अवधि थप भएको थियो । कुनै अवरोध नभए यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए । 

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । यो तल्लो मोदी–१ को क्यासकेड आयोजना हो । 

कम्पनीले यो आयोजना अघि बढाउन विसं २०७४ सालमा उत्पादन अनुमतिपत्र लिएको थियो । मोदी बेसिनका तीन ओटै आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिनेछ । 

सेतीखोलामा पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सेतीखोला जलविद्युत् आयोजनाले विसं २०७४ सालमा उत्पादन अनुमतिपत्र लिएको थियो । उक्त आयोजनाको कामले यो वर्ष गति लिएको छ । ४ दशमलव ७३ मेगावाटको भुरुन्दी खोला स्माल जलविद्युत् आयोजना भने अध्ययनकै क्रममा छ । 
यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो ।

मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका तीन ओटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४ दशमलव ८ मेगावाटको मोदी खोला, १० मेगावाटको तल्लो मोदी–१ र १ मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्