ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुस्तक समीक्षा : नेपाली अर्थतन्त्रका बाह्य क्षेत्रको चिरफार

ट्रेड, एफडीआई एण्ड रेमिटेन्सेस : सेलेक्टेड राइटिङ्स

२०७७ फागुन, २१  
विविध
Image Not Found

विगत ३ दशकमा आफूले लेखेका थुप्रै लेख र पेपरहरूलाई समावेश गरेर लेखकले यो पुस्तक ल्याएका छन् । बाह्य क्षेत्रका प्रमुख तीन विषयहरू व्यापार, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विप्रेषणलाई यसले समेटेको छ । पहिलो खण्डमा व्यापारका मुद्दा, दोस्रोमा एफडीआईसँग सम्बन्धित मुद्दा र तेस्रोमा विप्रेषणका विविध पक्षहरू समेटिएको छ ।   
नेपालको अनुभवका आधारमा लेखिएका व्यापार, एफडीआई र विप्रेषण सम्बन्धी लेखहरूमा केलाइएका चुनौतीहरू नेपाल लगायत विकासशील देशमा अझै पनि कायम रहेकाले तिनीहरूको पुनः प्रकाशनको औचित्य अझै बढी रहेको लेखकको दाबी छ ।

लेखकले व्यापार खण्ड अन्तर्गत आयात प्रतिस्थापन रणनीतिको एउटा लेखमार्फत पुस्तकको शुरुआत गरेका छन् । त्यसपछि नेपालको निर्यात प्रोत्साहनका लागि नेपालले चालेका कदमबारेको लेख रहेको छ ।

आर्थिक वर्ष सन् २००३/०४ सम्मको नेपालको व्यापार क्षेत्रको विस्तृत समीक्षा छुट्टै प्रस्तुत गरिएको छ । व्यापारका अवरोधहरू हटाउन प्रविधिको सुधार, पूर्वाधारमा लगानी, क्षेत्रीय र बहुपक्षीय सम्झौताहरूसँग मेल खाने उचित कानूनी संरचना, नयाँ व्यापार नीति लगायतका सुझावहरू पनि उल्लेख गरिएको छ । उरुग्गे राउन्ड, विश्व व्यापार संगठन (डब्ल्यूटीओ) लगायत अन्य क्षेत्रीय व्यापारका सन्धिसम्झौताका विषय पनि पहिलो खण्डमा अटाएको छ । यहाँ लेखकले डब्ल्यूटीओ अन्तर्गत बहुपक्षीय व्यापार वार्तालाई प्रश्रय दिनुका साथै क्षेत्रीय सम्झौताहरू अपनाउने ‘टु ट्र्याक एप्रोच’ लिनुपर्नेमा जोड दिएका छन् ।

एफडीआईको खण्डमा रहेको पहिलो लेख एफडीआईका फाइदाहरू, लागत र यसका निर्धारक तत्त्वहरूका बारेमा छ, जहाँ लेखक यस्तो लगानी प्रवाह बढ्न राजनीतिक र आर्थिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्छन् । द्वन्द्वपछिको संक्रमणकालमा कसरी एफडीआई बढ्यो भन्ने लेखले उद्योगहरूको पुनर्जीवन र पूर्वाधार विकासका लागि वैदेशिक लगानी शक्तिशाली संयन्त्र बन्न सक्ने दर्शाएको छ ।

एफडीआईका अन्य पक्षहरू समेटिएका केही छोटा लेखहरूमा वैदेशिक लगानी आकर्षित गर्न चुनौतीहरू, राजनीतिक स्थिरताको महŒव र सुरक्षाका प्रत्याभूति, समग्र व्यावसायिक वातावरण सुधारका लागि प्रभावकारी नीति निर्माण लगायत विषयको चर्चा गरिएको छ । लेखक नीति र रणनीतिले एफडीआई कहाँ खोजिएको हो, ती क्षेत्रहरू प्रष्ट हुनुपर्नेमा जोड दिन्छन् ।

लेखकले विप्रेषणसँग सम्बन्धित केही लेखहरू समावेश गरेका छन्, जुन विप्रेषणको प्रभाव, प्रयोग र नीतिगत व्यवस्थाका बारेमा केन्द्रित छन् । विप्रेषणले नेपालको आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आए तापनि, औपचारिक माध्यमबाट विप्रेषण भिœयाउन प्रोत्साहनका लागि केही व्यवस्था गरिए तापनि अझै धेरै गर्न बाँकी रहेको लेखक उल्लेख गर्दछन् । विदेशमा रहने आफ्ना नागरिकलाई परिवारलाई पठाउने पैसा बाहेक के कारणले विप्रेषण पठाउन प्रोत्साहन गर्दछ भन्ने अध्ययन गरेर विप्रेषणबाट लाभ लिन त्यही अनुरूप नीतिहरू बनाउनुपर्ने खाँचो उनी औंल्याउँछन् ।

अन्य लेखहरू विश्वव्यापी मन्दीले विप्रेषणमा पार्ने प्रभाव, विप्रेषण पठाउने र पाउने प्रक्रियामा लघुवित्तको सहभागिता र विप्रेषणका चुनौतीहरूका बारेमा छन् । विप्रेषणमा अधिक निर्भरताले विप्रेषण प्राप्त गर्ने देशले बाह्य झट्का बेहोर्न सक्ने जोखिम पनि लेखकले यो खण्डमा दर्शाएका छन् । समग्रमा लेखहरूको सँगालो यो पुस्तकले भूमण्डलीकृत विश्व अर्थतन्त्रमा व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, विप्रेषणको बदलिँदो भूमिका र सरकारका आर्थिक नीतिहरू अन्तरसम्बन्धित छन् भन्ने बुझाउने प्रयास गर्दछ । यो सँगालोमा उल्लिखित सुझावहरू बाह्य क्षेत्रको विकासका लागि उपयुक्त रणनीति बनाउने नीतिनिर्माताका लागि पनि उपयोगी हुन सक्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्