ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्न सकिन्छ गर्मी मौसममा सयपत्री फूलको खेती

२०७७ फागुन, २१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । अतिथि सत्कार, पूजाआजा र चाडपर्वमा माला बनाएर  मन्दिरहरूमा थुंगा चढाउन प्रयोग गरिने सयपत्री फूल दक्षिण अमेरिका क्षेत्रको रैथाने बिरुवा हो । गर्मी समय यसको खेती गर्न माघ महिनामा बिउ रोपेर फागुनमा बेर्ना सार्न सकिन्छ ।

यसको खेती समुद्री सतहबाट १ सय ५० मिटरदेखि २ हजार मिटरसम्म गर्न सकिन्छ । यसका लागि प्रशस्त प्रांगारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो उपयुक्त मानिन्छ । गर्मी समयका लागि माघदेखि फागुनसम्मको समय बेर्ना सार्न उत्तम मानिए पनि उच्च पहाड र मध्यपहाडमा यो समय चिसो र तुषारो पर्ने भएकाले प्लास्टिक टनेलभित्र मात्र यसको खेती गर्नुपर्ने विज्ञहरूको सुझाव छ । १५ देखि २५ डिग्री सेल्सियस तापक्रम कायम राख्न सके बिरुवाको वृद्धि विकास राम्रो हुने र फूल पनि चाँडै फुल्ने गर्दछ ।

सयपत्री फूलविज्ञद्वय माधव धिताल र कल्याणी मिश्रका अनुसार अफ्रिकन र फ्रेञ्च सयपत्री उत्पादनका लागि महत्वपूर्ण मानिन्छन् । अफ्रिकन सयपत्रीको बोट अग्लो हुने, फूलहरू ठूला हुने हुन्छन् । यसलाई खासगरी माला बनाउन, कार सजाउन, कोठा सजाउन प्रयोग गरिन्छ भने फ्रेन्च सयपत्रीको बोट होचो हुने, कम फूल फुल्ने भएकाले बगैंचा वा गमलामा सजाउन बढी प्रयोग हुने गर्दछ ।

यो फूललाई बिउबाट सहजै उमार्न सकिन्छ । यसको बिउ रोप्दा धेरै बाक्लो गरेर लगाउनुहुँदैन, जसले बिरुवामा बेर्ना कुहिने रोग लाग्न सक्छ । बिउ रोपेको २५ देखि ३० दिना बेर्ना सार्न उपयुक्त हुन्छ ।

जमिनको चारैतर्फ करिब ३० सेन्टिमिटर जति गहिरो र चौडाइ भएको कुलेसोको व्यवस्था गर्न सके पानीको निकास गर्न सजिलो हुन्छ । नत्र फूलको जरा कुहिन सक्ने सम्भावना रहन्छ । बेर्ना रोप्ने समय ड्याङदेखि ड्याङ र बोटदेखि बोटको दूरी ४० सेन्टिमिटर र ड्याङको उचाइ १० देखि १५ सेन्टिमिटर कायम राख्दा राम्रो हुन्छ । प्रतिरोपनी १२ सय देखि १३ सय बिरुवा आवश्यक पर्दछ भने सरदर ८ सय देखि १ हजार ग्राम बिउ प्रतिहेक्टर जग्गाका लागि आवश्यक पर्छ ।

धिताल र मिश्रका अनुसार बेर्ना रोप्ने समय कम्तीमा पनि जमिनलाई २ देखि ३ पटकसम्म खनजोत गरी माटोलाई मसिनो बनाई कुलेसो बनाएर पाकेको गोबर मल १ किलोका दरले राख्नुपर्ने हुन्छ । सयपत्री फूलमा डढुवा रोगको समस्या आउने भएकाले बेर्ना रोपेको १० दिनभित्र डाथिन एम तथा अन्य ढुसीनाशक विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाई फूलको जीवन अवधिभरि दुई पटक स्प्रे गर्नुपर्दछ ।

बेर्ना रोपेको तेस्रो सातामा खेतमा आएको झारपातको अवस्था हेरी गोडमेल गर्नुपर्छ । त्यस समय कुनै बिरुवामा कोपिला लागेको भए उक्त कोपिला चिमोटेर हटाइदिए बोट राम्ररी झांगिन गई राम्रोसँग फैलने गर्दछ ।

सयपत्रीको फूल राम्ररी फक्रिसकेपछि मात्र टिप्नुपर्दछ । फूल घाम अस्ताइसकेपछि वा बिहानको समयमा घाम लाग्नुअगावै डाँठसहित टिप्दा गुणस्तर लामो समयसम्म राम्रो हुने गर्दछ ।

सयपत्री फूलको खेती गर्दा यसमा लाग्ने किरा तथा रोगबारे विशेष ध्यान पु¥याउनुपर्ने उनीहरूको भनाइ छ । किराको गबारो वा लार्भाले बेर्नाको डाँठ काटेर नोक्सानी गर्दछ ।

यसको रोकथामका लागि किटनाशक औषधी छर्कने वा खेतबारीको सरसफाइमा ध्यान दिनु अति आवश्यक छ । त्यसैगरी पातमा सुरुङ बनाउने किरा सयपत्री फूलका लागि मुख्य हानिकारक  मानिन्छ । यो किराले आक्रमण गरे पातमा प्वाल पर्ने देखिन्छ । यसको रोकथामका लागि क्षति पुगेका पात टिपेर हटाउने वा कीटनाशक विषादी छर्किन सकिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्