ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साँगाचोकगढी नगरपालिकाद्वारा ७ महीनामा १५ करोड राजस्व संकलन

२०७७ फागुन, २१  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

फागुन २१, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिकाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म १५ करोड ७ लाख १६ हजार ८८८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले ढुंगा, गिट्टी, बालुवाबाट १४ करोड ५५ लाख २० हजार ५६९ रुपैयाँ र नगरपालिकाले दिएको विभिन्न सेवाबाट ५१ लाख ९६ हजार ३१९ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । १४ ओटा वडा रहेको नगरपालिकामा सबैभन्दा बढी वडा नं. ५ ले राजस्व संकलन गरेको छ । सो वडाले २५ लाख ७८ हजार ३७० रुपैयाँ राजस्व संकलन गरेको हो । 

सबैभन्दा कम राजस्व वडा नं. १२ ले संकलन गरेको हो । सो वडाले २ लाख २५ हजार ८९३ रुपैयाँ संकलन गरेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाले बिहीवार गरेको नवौं नगरसभामा चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा कुल बजेटको ३६ प्रतिशत खर्च भएको जानकारी दिएको छ । कुल १ अर्ब १६ करोड १२ लाख ८६ हजार ५ ८३ रुपैयाँमध्ये ४२ करोड ६६ लाख ५ हजार ९६३ रुपैयाँ खर्च भएको छ । 

नगर सभामा नगरपालिका तर्फका २११ योजनाहरु मध्ये ११८ ओटा योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र वडा कार्यालय तर्फका ४४४ योजना मध्ये २५८ ओटा योजनाहरुको सम्झौता भई कार्यान्वयन भईरहेको जानकारी दिइएको छ ।

सडकको नयाँ ट्रयाक ३८ दशमलव ७९ किलो मिटर निर्माण गरिएको, १८ दशमलव ९६ किलोमिटर सडकलाई चौडा बनाईएको, ४२१ मिटर सडक ढलान गरिएको र १ हजार ५५० मिटर कालोपत्रे गरिएको नगरपालिकाले बताएको छ । त्यस्तै नगरपालिकाले ३० ओटा ठेक्का मध्ये १० ओटा सम्पन्न गरेको छ । २३ ओटा ठेक्का सम्झौता भएको र १३ ओटा सञ्चालन गरिरहेको जानकारी दिएको छ । 

‘हामीले यो आर्थिक वर्षको ७ महीनाको अवधिमा थुप्रै विकासका कामहरु सम्पन्न गरिसकेका छौं’, नगर सभामा नगरप्रमुख अमानसिंह तामाङले भने ‘प्राविधिक, शिक्षा, स्वास्थ्य, खेलकुद, लक्षित कार्यक्रमहरुमा उल्लेख्य प्रगति भएको छ ।’ तामाङले नगर गुरु योजनाको ठेक्का आह्वान भई मूल्यांकनको चरणमा रहेको समेत बताए । 

नगरपालिकाले ३२ ओटा नयाँ भवनहरुको नक्सा पास गरेको बताउँदै ८६९ पूर्व निर्मित भवनहरुको नक्सा पास गरेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका ४८ ओटा योजनामध्ये ४१ ओटा योजना सञ्चालन गर्न रोजगार उपभोक्ता समिति गठन गरी काम शुरु भएको जनाउँदै तामाङले हालसम्म नगरपालिका भित्रका ४४८ जना बेरोजगार व्यक्तिहरुलाई १०० दिन बराबरको रोजगारी उपलब्ध गराएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्