ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३५ प्रतिशत किसानले रोप्न छाडे उखु

बाँकीले घटाए आधा उत्पादन

२०७७ फागुन, २३  
समाचार
NA
author avatar काशीराम बजगाईं

काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।

नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।

‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने क्रममा छन्,’ उनले भने, ‘खेती गरिरहेकाले पनि आधा उत्पादन घटाएका छन्,’ उनले भने ।

आयातित चिनीका कारण आफ्नो चिनी नबिकेको भन्दै उद्योगीले उखुको भुक्तानी नगरेको उनले बताए । ‘विदेशी चिनीका कारण स्वदेशी चिनी बिकेन भनेर भुक्तानी नै पाएनौं,’ उनले भने, ‘भुक्तानी नै नपाएपछि उखुखेती गरेरै बस्न सकिने अवस्था रहेन ।’

नेपालमा ३ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । उखु किसानले भुक्तानी नपाएकै कारण अहिले १ लाख २० हजारसम्म चिनी उत्पादन गर्न सक्ने गरी उखुखेती भइरहेको उनको भनाइ छ । यद्यपि, आन्दोलनपछि किसानहरूले उखुको बक्यौता रकम भने पाइसकेका छन् ।

नेपालमा उखुको पर्याप्त उत्पादन हुन नसकेपछि उद्योगीहरू आवश्यकताअनुसार चिनी उत्पादन गर्न नसकेको बताउँछन् । उखुको अभावका कारण यस वर्षको क्रशिङ सिजनमा चाँडै नै मिलहरू बन्द भएको इन्दुशंकर सुगर उद्योग सर्लाहीका सञ्चालक राजेश केडियाले बताए । ‘विगत २–३ वर्षदेखिको भुक्तानीको विवादका कारण पनि यो वर्ष उखुको अभाव भएको हो,’ उनले भने, ‘उखु नै नभएपछि उत्पादन पनि स्वतः घटेको छ ।’

उनले उखु अभावका कारण यो सिजनमा मिल बन्द हुने अवस्थामा पुगेको बताउँदै आगामी सिजनबाट विस्तारै अवस्था सामान्य हुँदै जाने बताए । ‘अब भुक्तानी पनि भइसकेको छ, अर्को सिजनबाट विस्तारै उखुको उत्पादन बढेर जान्छ,’ उनले भने ।

नेपालमा उखु र चिनीको उत्पादन घटिरहँदा विदेशी चिनीको आयात भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनामा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको चिनी आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७ सय ९८ प्रतिशतले बढी हो । आव २०७५/७६ मा भन्दा अघिल्लो आवमा चिनी आयात १४ प्रतिशतले घटेको थियो ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ नेपालमा चिनीको उत्पादन पनि कम भएकाले बाहिरबाट आयात भएको बताउँछन् । ‘उद्योगीले बेलामा भुक्तानी नगरेका कारण पनि यसको प्रभाव परेको हुनुपर्छ,’ उनले भने, ‘यसका कारण किसानले उखु रोप्न छाडेर भारतबाट उखु ल्याएर क्रशिङ गरिरहेको भन्ने पनि सुनिन्छ ।’

गतवर्ष नेपालकै चिनी खपत भएन भनेर आयात रोकिएकोमा अहिले उखु नभएका कारण विदेशी चिनी बजारमा देखिएको उनी बताउँछन् ।

चिनी आयातकर्ता भने गतवर्ष चिनी आयातमा बन्देज लगाएकोमा यस वर्ष उक्त बन्देज हटाएका कारण चिनीको सामान्य आयात बढेको बताउँछन् । साल्ट ट्रेडिङका प्रबन्धक ब्रजेशकुमार झाले गतवर्ष चिनी आयातमा लगाएको प्रतिबन्धका कारण पर्याप्त चिनी आयात हुन नसकेको बताए । यद्यपि, सरकारले २०७५/७६ मा चिनी आयातमा प्रतिबन्ध लगाएकोमा अघिल्लो वर्षको साउनदेखि नै चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज हटाएको थियो । झा भने वर्षको अन्तिमतर्फ मात्र बन्देजविना चिनी आयात गर्न पाएको बताउँछन् । चिनीको आयातमा वृद्धि नभएको उनको भनाइ छ ।

नेपालको उत्पादनले मात्रै माग नधान्ने भएकाले बाहिरबाट चिनीको आयात आवश्यक भएको उनले बताए । उनले भने, ‘मागअनुसार नै चिनीको आयात भएको हो, यो बढी होइन ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्