ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ललितपुरमा महिला हस्तकला मेला सुरु

२०७७ फागुन, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । ‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवद्र्धन’ नारासहित १११ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा महानगर परिसरमा सञ्चालित मेला उद्घाटन ललितपुर महानगरप्रमुख चिरिबाबु महर्जनले गरे ।

कार्यक्रममा महानगरप्रमुख महर्जनले हस्तकला उद्यमशीलता प्रवद्र्धनका लागि महानगरले सयौं व्यक्तिलाई तालिम दिए पनि उनीहरू हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

महर्जनले भने, ‘हस्तकला उद्यमशीलता प्रवर्द्धनका लागि हामीले तालिम, गोष्ठीमा धेरै खर्च ग¥यौं तर तालिम लिनेहरू उद्यमशीलतातर्फ नलागी नोकरी खोज्दै हिँड्ने गरेको पाइयो । अब महानगरपालिकाले यस्ता उपलब्धिविहीन तालिम, गोष्ठीमा खर्च गर्ने छैन ।’ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोना महामारीका कारण शिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मेला संयोजक सवितासिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको जानकारी दिइन् । मेलामा रहेका करिब ५० स्टलमध्ये उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिने घोषणासमेत उनले गरिन् ।

सो अवसरमा ललितपुर महानगरपालिकाअन्तर्गतको हस्तकला प्रवर्द्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याललगायतले उद्यमशीलताबिना महिला सशक्तीकरण सम्भव नभएकाले महिलालाई आर्थिक रूपमा सम्पन्न गराउन बिनाधितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए ।

फागुन २४ गतेसम्म सञ्चालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, बैंक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्