काठमाडौं । युवालाई श्रम, शीप तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । युवालाई शीप र रोजगारसँग जोड्न सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जानकारी दिए ।
सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौंमा गरिने भएको छ । सम्मेलनमै युवाको क्षमता, शीपका आधारमा रोजगारी उपलब्ध गराइने ढुंगेलले जानकारी दिए । कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्किएका र नेपालमै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको उनले बताए ।
‘सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र शीपका आधारमा रोजगारीको सहमति गरिनेछ,’ उनले भने, ‘बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।’ सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।
सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ । रासस