ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ विक्री गर्दै सर्वोत्तम सिमेण्ट, पहिलो वर्षनै ३५ % लाभांश निश्चित

२०७७ चैत, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ४, काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ विक्री गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले बुधवार काठमाडौंमा  आयोजित एक कार्यक्रममा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

त्यस्तै कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको उक्त विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो । हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. ४ अर्ब पुग्नेछ । 

आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ ।

कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ । व्यवसायिक उत्पादन शुरु गरेपछिनै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा बार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले बताएको छ ।

जगेडाकोष रकम माघ मसान्तसम्म रू. २ अर्ब ३१ अर्बभन्दा बढी रहेको उक्त कम्पनीको विगत तीन ओटा आर्थिक वर्षको औषत प्रतिशेयर आम्दानी रू. ५२ रहेको छ । आईपीओ जारी पश्चात तीन महीनाभित्रै १० प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएको कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको भनाइ छ । 

आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना कम्पनीको रहेको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए । 

आईपीओ विक्री पश्चात ३५ प्रतिशत लाभांश निश्चित गरिसकेको भन्दै अध्यक्ष न्यौपानले कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले चार वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशत भन्दा बढी हुने प्रक्षेपण गरिएकोसमेत बताए । 

उनले संस्थागत लगानीकर्ताहरुले रू. ७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू. ६७५ मै शेयर खरीद गर्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तामा सहुलियत हुने प्रतिक्रिया दिए । तर शेयरको अन्तिम मूल्य संस्थागत लगानीकर्ताहरुद्धारा बोलकबोल विधिबाट निर्धारण हुनेसमेत उनले बताए । 

नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्यका साथ गत साउन २८ गतेदेखि बुक विल्डिङ विधि लागू गरेको छ । यो विधि लागू नहुँदै धितोपत्र बजारमा शिवम् सिमेण्ट्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो ।

वास्तविक क्षेत्रका कम्पनीहरुको आईपीओको मूल्य बजारलनै निर्धारण गर्ने गरी बोर्डले बुक विल्डिङ विधि लागू गरेको हो । यस विधिबाट सबैभन्दा पहिला सर्वोत्तम सिमेण्टले आईपीओ निष्कासनको तयारी गरेको हो ।

बोर्डका सह- प्रबक्ता रुपेश केसीले सर्वोत्तम सिमेण्टको आईपीओ निष्कासनले वास्तविक क्षेत्रका कम्पनीहरु धितोपत्र बजार प्रवेश गर्ने आधार बन्न सक्ने बताए ।

नेपाली धितोपत्र बजारमा बुक विल्डिङ विधिबाट यति चाँडो आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नु बजारको भविश्यका लागि पनि सकारात्मक पक्ष रहेको केसीको भनाइ छ । 

उनले बुक विल्डिङ विधिबाट निष्कासन हुने शेयर खरीदका लागि हालसम्म ७४ ओटा संस्थागत लगानीकर्ताहरुले स्वीकृति पाएकोसमेत जानकारी दिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्