ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जग्गा किन्दै हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

२०७७ चैत, ६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जग्गा किन्ने सोचमा हुनुहुन्छ ?  त्यसो हो भने तपाईंले जग्गा कसरी पास हुन्छ भनेर केही जानकारी लिन जरुरी हुन्छ । किनभने, जीवनमा बारम्बार जग्गा किनबेचको काम गरिँदैन । जग्गा खरिद प्रक्रियाबारे यथेष्ट जानकारी नहुँदा विभिन्न झन्झट र तनाव भोग्नुपर्ने हुन सक्छ ।

तपाईं मालपोत कार्यालयबाट बाँकी रहेका प्रक्रिया पूरा गर्न घर फर्किनुपर्ने पनि हुन सक्छ । यति मात्र होइन, जिन्दगीभरको कमाइ नै ठगिन सक्छ ।  जग्गा खरिदका कानुनी प्रक्रिया थाहा भए यसले तपाईंको काम फत्ते हुन सहयोग पु¥याउँछ । जानिराखौं, जग्गा पासको प्रक्रिया :

जग्गा किनबेचलाई कानुनी भाषामा रजिस्ट्रेसन पास भनिन्छ । सर्वप्रथम त तपाईंसँग रजिस्ट्रसशन पासका लागि आवश्यक सम्पूर्ण कागजात हुन जरुरी छ । सर्वप्रथम कागजातबारे छलफल गरौं ।

जग्गाधनी प्रमाणपुर्जा
चलनचल्तीको भाषामा लालपुर्जा भनिने जग्गाधनी प्रमाणपुर्जा जग्गा बिक्रेतासँग जग्गाको भएको प्रमाणित कागज हो । जग्गा किनबेचका लागि सबैभन्दा पहिलो आवश्यक कागजात नै जग्गाधनी प्रमाणपुर्जा हो । जग्गा किनबेचका क्रममा यसको आवश्यकता पर्दछ । जग्गाको विवरण हेर्न नक्कल भए पनि हुन्छ तर जग्गा पास गर्ने बेला सक्कली पुर्जा अनिवार्य हुन्छ । यस कारण जग्गा बिक्रेतालाई अनिवार्य रूपमा लालपुर्जा बोक्न लगाउनुहोस् ।

नागरिकता
जग्गा पासका लागि खरिदकर्ता र बिक्रेता दुवैको नागरिकताको सक्कल र नक्कल प्रति आवश्यक पर्छ । तपाईं दुवैको नागरिकताको नक्कलमा हस्ताक्षर गरी सम्बन्धित मान्छेले फाइलमा राख्छ र सनाखत गर्ने बेला किन्ने र बेच्ने दुवै व्यक्ति उपस्थित हुनुपर्छ । नागरिकता हेरेरै सक्कली जग्गाधनी हो/होइन भनेर मालपोत कार्यालयमा सनाखत गर्नुपर्ने हुन्छ ।

जग्गाको वार्षिक कर भुक्तानीको रसिद
तपाईंले आफ्नो महानगरपालिका, नगरपालिका वा गाउँपालिकामा विक्री गर्न लागेको जग्गा (घर भए घरसहितको) को वार्षिक कर तिरेको रसिद समावेश गर्नुपर्ने हुन्छ ।

सम्बन्धित वडा कार्यालयको चार किल्ला प्रमाणीकरण सिफारिस
जग्गा विक्री गर्न वडाको सिफारिस आवश्यक पर्छ । तपाईंले सर्वप्रथम वडाबाट चार किला प्रमाणीकरणको सिफारिस लिनुपर्ने हुन्छ । यसका लागि तपाईंले जग्गाको सम्पूर्ण विवरण उल्लेख गरेर सिफारिसका लागि वडामा निवेदन दिनुपर्छ । सिफारिसका लिनका लागि पूर्व, पश्चिम, उत्तर, दक्षिणमा भएको जग्गा, घर एवं बाटोको विवरण, गाउँपालिका/नगरपालिका, वडा नम्बर र जग्गाको कित्ता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । वडाको सिफारिस लिनु पहिले तपाईंले जग्गाको वार्षिक कर तिरिसकेको हुनुपर्छ ।

राजीनामा लिखत
राजीनामा लिखत भनेको जग्गाधनी र खरिदकर्ताबीच जग्गा किनबेचका लागि भएको लिखित सहमतिको कागज हो । यो भनेको किन्ने व्यक्तिको नाममा जग्गा विक्री गर्न लागेको भनी तयार पारिएको कागज हो । यसमा जग्गाको सबै विवरण उल्लेख गरी खरिदकर्ता र विक्रीकर्ताको तर्फबाट १/१ जना साक्षी हुनुपर्छ ।

माथि भनिएका कागजात तयार गरिसकेपछि अब बल्ल तपाईंको जग्गा पासको प्रक्रिया अघि बढ्छ । यी कागजात लिएर तपाईं जग्गा विक्री गर्ने व्यक्तिसहित मालपोत कार्यालयमा उपस्थित हुनुपर्छ । जग्गाको कित्ताकाट गर्नु नपर्ने भए जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्र, चालू आवको मालपोतमा बुझाएको करको रसिद, कर चुक्ता प्रमाणपत्र, वडाको सिफारिस र अन्य आवश्यक प्रमाण भए मालपोतबाट जग्गा पासको प्रक्रिया अघि बढ्छ ।

यदि कित्ताकाट गर्नुपर्ने भए भने तपाईं नापी कार्यालय जानुपर्छ, जुन मालपोतको नजिकै हुन्छ । त्यहाँ कित्ताकाट गरेर फर्किएपछि जग्गा पास प्रक्रिया अघि बढ्छ । कागजात रुजु गरी सनाखतपछि नामसारी शाखामा नामसारीका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । सनाखतका क्रममा जग्गाधनीलाई भुक्तानी गरिएको चेकको प्रमाण पनि मालपोत कार्यालयले माग्ने गर्छ । यस कारण तपाईं दुई बीचभएको कारोबारको प्रमाणपत्र पनि साथै लिएर जानुहोला । नामसारीका लागि आवश्यक प्रक्रिया पूरा गरी तपाईं सम्बन्धित मालपोत अधिकृतकहाँ जानुपर्दछ । त्यसलगत्तै नामसारीपछि तपाईंले मोठ फाँटबाट स्रेस्ता पुर्जाका रूपमा जग्गाधनी प्रमाणपुर्जा पाउनुहुनेछ । यसरी जग्गाधनीबाट उक्त जग्गा तपाईंको नाममा पास हुन्छ ।

यदि अदालत, कुनै बैंक तथा वित्तीय संस्थाले तपाईंको जग्गा रोक्का राखेको छ भने तपाईं उक्त जग्गा किनबेच गर्न सक्नुहुन्न । यसका लागि सबैभन्दा पहिले रोक्का जग्गा फुकुवा गर्नुपर्छ ।

(मालपोत कार्यालय कलंकीका सूचना अधिकारी एवं नोडल अधिकृत नीलकण्ठ काफ्लेसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्