ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गरीबको सर्खार

२०७७ चैत, ६  
तीतो मीठो
author avatar मदन लम्साल

यो हप्ता पनि देश पूरै बैठकमय रह्यो । एकदलीय बैठक, दुईदलीय बैठक, तीनदलीय बैठक, सर्वदलीय बैठक, राष्ट्रपतीय बैठक, प्रधानमन्त्रीय बैठक, विपक्षीदलीय बैठक । खानपिन र कुर्सीका लागि त बसे होला नि बैठक भन्ने सोच्नुभएको छ भने त्यो गलत हुनेछ । किनकि ती बैठकहरू महँगीलाई सुतान् र गरीबहरूको उत्थान कसरी गर्नेे भन्ने बारेमा बसेको हुनुपर्छ । आखिर सरकार र दलहरू सबै गरिबहरूकै त हुन् क्यारे । पत्याउनुभएन ?

गरीब नहुने हो भने नेताहरू चुनावमा जाँदा कसका झुपडीमा रात बिताउँछन् ? कसलाई देखाएर भोट माग्छन् वा विदेशीसँग नोट माग्छन् ?

अहिले हाम्रा देशका महान् नेताजीहरूलाई एकाएक गरीबहरूको चिन्ताले सताउन थालेको छ । त्यसैले, गरीबहरूको उत्थान गर्ने अभियानमा अहोरात्र बैठक गरिरहनु भएको छ । किनकि एउटा गरीब नै त हो, जुन हाम्रो देशमा सित्तैमा उपलब्ध छ, जसका नाममा यति धेरै नीति, राजनीति र अनेक खेती चलेका छन् । त्यसैले त यहाँ गरीबहरूको कदर पनि यति धेरै हुने गरेको । गरीबकै लागि भनेर माक्र्सवाद, लेलिनवाद, माओवाद, समाजवाद, साम्यवाद, आदि वादहरू अघि सारिएका छन् ।

वास्तवमा सरकार बन्ने र गिर्ने नै गरीबहरूकै लागि हो । धनीहरू त आफै गरेर खाइहाल्छन् नि । सरकारले गरीबहरूका लागि गर्नुसम्म गरिरहेकै पनि छ । जस्तै, गरीबी निवारण कोष, गरीबी निवारण कार्यक्रम, सुकुमबासी आयोग । यस्ता आयोग त दर्जनौं होलान्, सरकारलाई समेत थाहा नभएका । सरकारले ‘गरीबहरू’ पहिचान गरेर उनीहरूको सूची सार्वजनिक पनि गरेको छ । गरीब घरपरिवारलाई परिचयपत्र वितरण समेत गरेको छ । गरीबका लागि यस्तो करिश्मा विश्वका अरू कुनै सरकारले गर्न सक्या छ र ?

गरीबको सरकार भएकाले ऊ चल्न पनि गरीबहरूमै भर पर्नुपर्छ । एउटा दल गरीबकै उत्थानका लागि चुनाव जितेर सरकारमा आउँछ, गरीबको नाम लिँदालिँदै ऊ आफू चैं धनी बनिसक्छ, तर गरीब जस्ताको तस्तै । विपक्षमा बस्नेले पनि गरीबकै लागि सरकारको समर्थन फिर्ता लिन्छ र सरकार ढल्छ । सरकारको समर्थन होस् कि विरोध, सबै प्रदर्शनमा गरीबहरू नै त सबैभन्दा अगाडि हुन्छन् । त्यसैले गरीबहरू हाम्रो देशको सबैभन्दा आवश्यक प्राणी हुन् । गरीबै नरहे कसका नाममा राजनीति गर्ने ?

फेरि गरीब नहुने हो भने नेताहरू चुनावमा जाँदा कसका झुपडीमा रात बिताउँछन् ? कसलाई देखाएर भोट माग्छन् वा विदेशीसँग नोट माग्छन् ? गरीबको अँगेनोमा खाइदिएर आफूलाई महान् सर्वहाराको साथी बनेको सेल्फी खिचेर गरीब नभए कसलाई देखाउँछन् ? चुनावमा सित्तैमा मासु, भात, बियर कसलाई खुवाउँछन् ? गरीबको भागको खाना चट गर्ने त नेताजीको एउटा दायित्व नै हो । गरीब भोको रहेन भने त ऊ गरीब नै रहेन नि !

तर यता गरीबी हटाउने सरकारको महान् प्रयासहरूबारे बिचरा गरीब भने बेखबर छ । ऊ त दुई छाक कसरी टार्ने, केटाकेटीको स्कूल फी कसरी भर्ने, सानो टुक्रा जमीन पाए पानी, बीउ, मलको जोहो कहाँबाट गर्ने भन्नेमै व्यस्त छ । वातानुकूलित गाडीमा महँगो बोतलको ‘वाटर’ पिउँदै कुदिरहेका आफ्ना भाग्य निर्माताहरूले उसका लागि गरेको अथक प्रयासबारे ऊ साँच्चै बेखबर छ । यहाँसम्म कि उसकै नाममा दलहरूले लेखेका घोषणापत्र, कति वर्षीय योजनाहरू आदिमा लेखिएका निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी यी सबै सबै बारेमा पनि गरीबलाई थाहा छैन । गरीबलाई त ऊ गरीब छु भन्ने मात्र थाहा छ ।

गरीब यस्तो प्राणी हो, जसमाथि जसलाई जतिबेला मन लाग्छ, आफ्नो भँडास निकाल्न पाईन्छ, उसको बारेमा बहस चलाउन पाइन्छ । त्यसैले कहिले उसका बारेमा गोष्ठी, सेमिनार, वेबिनार खेल्नुस् । यता उसलाई लाइन लगाएर भोकै मार्नुस्, आत्महत्या गर्न विवश पार्नुस्, विदेश लखेट्नुस् । यी सबै गर्न तपाईं पूर्ण स्वतन्त्र हुनुहुन्छ । तर उसले केही भन्ने वा गर्नेवाला छैन ।

आफ्नो गरीबी हटाउन नेताजीहरू बेलाबेलामा ठूलै कारनामा गर्छन् । सट्टामा आफू नजिकको कुनै गरीब नोकर वा कसैलाई फसाइदिन्छन् । तर यता भने गरीबी हटाउने विषयमा टिभीमा, संसद्मा र अझ विश्व सम्मेलनहरूमा बहसै चलाइदिन्छन् । यति गरेपछि उनीहरू गरीबका भगवान्मा दरिईहाल्छन् । भगवान्को कीर्तन गाएपछि अर्को जुनीमा मोक्ष पाइन्छ रे । तर गरीबको कीर्तन गाएपछि यही जुनीमा धन वैभव सहितको मोक्ष प्राप्त हुन्छ । देख्नु भएन २००४ सालदेखि गरीबको नाममा अखण्ड हरिनाम कीर्तन गाउनेहरूको वैभव, शान, सौकत ? प्रदेश १ का एकजना गरीबको त झन् हेलिकोप्टर चढेर ससुराली जाने स्तरमा स्तरोन्नति भएछ । यति भएसि भएन त गरीबको उत्थान ?  

अर्को कुरा, यो देशमा खास खास जातिका मानिसहरू मात्र गरीब हुन सक्छन् । अरू थुप्रै जातिका मानिसलाई गरीब हुने अधिकार नै छैन । तर गरीबलाई छ कि गरीबीसँगै कसरी बाँचिरहने भनेर । ऊ आफ्नो पूरा जिन्दगी यो सिक्नमै लगाइदिन्छ कि गरीब भए पनि मर्नबाट चैं कसरी जोगिने भनेर । यता सरकार, नेताहरू गरीबलाई पेटभरि खुवाउने कुरा गर्ने क्रममा आफ्ना लागि पो सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्न पुग्छन् । उता गरीबहरू भने आधा पेट खाएर वा पानी पिएर पनि २/४ दिन कसरी बाँच्न सकिन्छ भनेर पटुका कसेर अभ्यास गरिरहेका हुन्छन् ।

दूधमा २ रुपैयाँ बढ्यो भने हामी आन्दोलन गर्छौं । एक छिन बत्ती गयो भने गालीहरूले सामाजिक सञ्जाल भर्छौं । एक छिन इन्टरनेट भएन भने हामीहरू चुप बस्न सक्तैनौं । तर गरीब नाना, छाना, खाना, पिना विना पनि चुप लागेरै बसिरहेको छ । उसको भोक र शोकको चिन्ता शायद तपाईं हामीलाई पनि छैन । त्यसैले हामी पनि सबै चुप नै छौं ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, गरीबहरूले चुप्पी तोड्न थाले भने के होला ? म भने त्यो दिनको अधीरतासँग प्रतीक्षा गरिरहेको छु ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्