ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

संस्थागत सुशासनलाई पालना गरेरै समृद्धि ल्याउँछाैं

२०७७ चैत, ८  
अन्तरवार्ता
Image Not Found
विनोदकुमार सुवेदी, अध्यक्ष, समृद्धि फाइनान्स कम्पनी लिमिटेड

राष्ट्र बैंकले पुनः सञ्चालनको स्वीकृति दिएपछिको करिब डेढ वर्षे अवधिमै समृद्धि फाइनान्सको नयाँ सञ्चालक समूहले धेरै हदसम्म फड्को मार्न सफल भएको छ । ३७ वर्षे युवा विनोदकुमार सुवेदीले नेतृत्व गरेको सञ्चालक समितिले यसबीच संस्थालाई थप प्रतिस्पर्धात्मक बनाई अब्बल फाइनान्स कम्पनी बनाउन पूर्वाधार विकास गरिसकेको छ । लेखा, जनरल म्यानेजमेन्ट र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्यक्ष सुवेदीले त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पसमा ८ वर्षदेखि स्ट्राटेजिक म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएका छन् । कानुन र शिक्षामा समेत स्नातक सुवेदीले १२ वर्षदेखि शैंक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आएका छन् । २०५७ असार ८ गते हेटौंडामा स्थापित यस संस्था (साविकको वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स) २०७२ पछि नयाँ सञ्चालक र व्यवस्थापन समूहले सकारेपछि २०७६ साउन १५ गतेदेखि पुनः कारोबार सुरु गर्ने अनुमति पाएको थियो । कुनै बैला १४ सयको हाराहारी शेयर मूल्य रहेको यस संस्थाको भावी योजनाबारे कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदीसँग अभियानकर्मी ममता थापाको कुराकानी :

पुनः कारोबार शुरु भएपछि संस्थालाई छोटो अवधिमै बजार प्रतिस्पर्धी बनाउन सफल हुनुभएको छ । यो कसरी सम्भव भयो ?
यसअघि जे–जे कमजोरीले संस्था समस्यामा परेको थियो, त्यसलाई सुधार गर्दै नवप्रवर्तनअनुरूप व्यवस्थापन गर्ने प्रक्रियामा अघि बढेका छौं । संस्थागत सुशासन कायम गरेरै संस्थामा समृद्धि ल्याउन सकिने दृढताका साथ लगानीकर्ता शेयरधनी, ग्राहक र नियामक निकायलाई पनि आश्वस्त पार्ने तहमा पुग्न सकेका छौं ।

नयाँ सञ्चालक समिति, त्यसमा पनि युवा नेतृत्वको काँधमा संस्था सञ्चालन हुँदै आएको छ । आगामी दिनको परिवर्तन कस्तो होला ?
खासगरी बैंक तथा वित्तीय संस्थामा ग्राहकको आवश्यकताबाट व्यवसाय गर्न सक्ने र लगानीकर्ताको समस्या बुझ्न सक्ने सञ्चालकले धेरै योगदान दिन सक्नेमा दुईमत छैन । सीमान्तकृत वर्गमा बैंकिङ पहुँच पुर्‍याउने र नवउद्यमीलाई बैंकिङ सुविधा दिने होस् वा समस्याग्रस्त संस्थालाई उकास्ने र संस्थागत सुशासनलाई स्थापित गर्ने सवालमा युवाहरू बढी अग्रसर छन् । नेपाली बैंकिङ उद्योगमा वर्तमान नेतृत्व दीर्घकालीन सोच राखेर आधुनिक बैंकिङतर्फ लम्किरहेको छ । यसका लागि हिजोभन्दा पनि अग्रगामी बाटोमा कसरी लैजाने भन्नेमा ध्यान दिइरहेका छौं । बोर्डमा भएका युवा र वयस्क सबैको सोच, सहकार्यले समस्याग्रस्त संस्थालाई लयमा ल्याउन सकेका हौं । अहिले बजारले समृद्धि फाइनान्सलाई प्रतिस्पर्धी संस्था सम्झेकामा खुसी छौं तर हाम्रो लक्ष्य धेरै माथि छ ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्षमा प्रायः परिपक्वलाई छनोट गरिन्छ । तर, यो संस्थामा तपाईंलाई नै किन छानिएको होला ?
सञ्चालक समितिमा कान्छो हुनु संयोग मात्रै हो, सवाल समृद्धि, सपना र क्षमताको हो । कतिपय मुलुकमा ३५–३६ वर्षका व्यक्तिले देशै हाँकेका छन् । सञ्चालकको योग्यताका सम्बन्धमा राष्ट्र बैंकले तोकेको मापदण्डले पनि उमेरलाई भन्दा व्यक्तिको सुशासनप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिएको छ ।

संस्थालाई अग्रगामी दिशातर्फ लैजान सुशासन कायम गर्दै समृद्धिको सपनालाई गति दिन सक्ने ऊर्जावान समिति हाम्रो आवश्यकता थियो । संस्थालाई बजार प्रतिस्पर्धामा लैजान पनि तदर्थभन्दा अग्रगामी सोच भएका व्यक्तिको नेतृत्व आवश्यक थियो । त्यही आवश्यकताले अहिलेको बोर्डको संरचना तयार भयो ।

पछिल्लो डेढ वर्षको अवधिमा तपाईंहरूको बोर्डले के–के विषयमा सुधार ल्याउनु भयो त ?
यसबीच हामीले २–३ वटा सूचकांकमा परिवर्तन गर्न सकेका छौं । व्यावसायिक सूचकहरू घटबढ हुन सक्छन् तर हाम्रै बलबुँता र क्षमताले परिवर्तन गर्न सक्ने र गर्नुपर्नेमा हाम्रो जोड रह्यो । गत आवसम्म करिब शतप्रतिशत कर्जा नउठ्ने अवस्था रहेकामा कर्जा असुलीका विविध प्रयासबाट उत्साहजनक उपलब्धि हासिल गर्दै यो आवमा पाँच प्रतिशत हाराहारी पुर्‍याउने गरी काम भइरहेको छ । गत असारमा निस्क्रिय कर्जा अनुपात ८६ दशमलव ६४ प्रतिशत रहेकामा दोस्रो त्रैमासको अन्त्यमा २१ दशमलव ६३ प्रतिशतमा झरेको छ । यसले गर्दा संस्थाको हालको सक्रिय कर्जा अनुपात ७८ दशमलव २७ प्रतिशत रहेको छ । उठ्न सक्ने आधार नभएका कतिपय नाम मात्रैको कर्जा राइटअप गरिएका छन् र नयाँ व्यवसायको जस्तै तीव्र गतिमा असुली प्रक्रिया चलिरहेको छ ।

नयाँ व्यावसायिक योजनाअनुसारको बचत र ऋण लगानीको वृद्धिले पनि हामीलाई थप मजबुत बनाएको छ । अहिले निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगतलगायत कर्जा प्रवाह गरिरहेको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गको व्यवसायका लागि एकैखाले बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा तपाईंहरू कसरी प्रतिस्पर्धी बन्नुहुन्छ त ?
सिविफिनलगायत संस्थामार्फत हामीले ‘क’, ‘ख’ र ‘ग’ वर्गको व्यवसायको बजार वर्गीकरणका लागि राष्ट्र बैंकसँग नीतिगत पहल गरेकै छौं । वर्तमान अवस्थामा प्रतिस्पर्धी बन्न पनि हामी पाँचवर्षे रणनितिक योजनासहित अगाडि बढिरहेका छौं । पाँच वर्षमा १ अर्ब पुँजी पुर्‍याएर ४० शाखामार्फत १० अर्ब लगानी र १२ अर्ब बचत पुर्‍याउने लक्ष्यमा दत्तचित्त भएर लागिरहेका छौं । खासगरी हामी सुशासनमा जिरो टोलरेन्सको नीतिमा अडिग छौं । संस्थागत सुशासनलाई पालना गरेरै समृद्धि ल्याउँछौं भन्नेमा पूर्ण विश्वस्त छौं ।

नेपाल सरकार र राष्ट्र बैंकले सुझाएको सीमान्तकृतलाई बैंकिङ पहुँच दिलाउने र धितो नभएका नवउद्यमीलाई सुलभ ऋणलगायतको बैंकिङ सुविधा दिलाउने विषय हाम्रा लागि बाध्यता होइन, बरु मलिलो बजार हो । साना तथा मझौला युवा उद्यमीलाई केन्द्रमा राखेर हामीले जे प्रविधिमैत्री बैंकिङ सेवा ल्याउँदै छौं, त्यो प्रतिस्पर्धाको मुख्य आधार बन्नेछ । हाम्रो लक्षित समूह ठूला परियोजनामा होइन, साना तथा मझौला उद्यममा हो । एसएमईकै कुरा । ग्राहकले पाएका छैनन् । हामीले दिन सक्छौं भनेर अध्ययन पनि गरेका छौं । एसएमईका समस्या समाधान गरेर ग्राहकलाई सहज बनाउने योजना ल्याएका छौं । आम मानिसमा भर्खरै पुग्दै गरेको र युवा उद्यमीमाझ फस्टाउँदै गरेको बैंकिङ सेवामा हामीले असीमित सम्भावना देखेका छौं ।

तपाईंहरूको आगामी पुँजी योजना नि ?
संस्थाको चुक्ता पुँजी गत असारसम्म करिब १८ करोड १९ लाख रहेकामा पछिल्लो समय ५४ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउने कामको अन्त्यतिर आइपुगेका छौं । यसपछि हामीले बाँकीको पुँजी जुटाउन पुनः हकप्रद जारी गर्न सक्छौं । यो आर्थिक वर्षभित्र ८१ करोड चुक्ता पुँजी पुर्‍याउने लक्ष्य छ । हाम्रो व्यवसायले गति लिन थालिसक्यो । यस अवस्थामा अझै हकप्रद शेयर थप्दा लगानीकर्ता उत्साहित हुनेछन् भन्ने हाम्रो बुझाइ हो ।

संस्था पुनः सञ्चालनमा आएको केही समयमै कोभिड महामारीले सताए पनि यस बीचमा संस्थाले व्यावसायिक सफलता हासिल गरिरहेको देखियो । कसरी गर्नुभयो ?
अरू व्यवसाय कोभिडले खुम्चिँदा पनि हामी फैलिरह्यौं । कोभिडका कारण ऋणीबाट रकम उठाउन असहज थियो । तर, कानुनी प्रावधानलाई पालना गर्दै ऋण असुली र नयाँ व्यावसायिक कार्य जारी राख्यौं । खासमा लामो समयसम्म यस्तो स्थिति नरहने पूर्वानुमानका आधारमा नीति, नियम, योजना, कर्मचारीलगायतका आवश्यक पूर्वाधार तयार राखेका थियौं, जुन सकारात्मक हुन पुग्यो । यसले गर्दा कोभिडकै बेला कर्जा प्रवाह सुरु भए । यो अवधिमा हामीले चुक्ता पुँजी पुर्‍याउन सक्थ्यौं होला, त्योचाहिँ थोरै लम्बियो ।

व्यवसाय विस्तारमा अबको गति कस्तो होला भन्ठान्नुहुन्छ ?
संस्थाको गत असार मसान्तको तुलनामा दोस्रो त्रैमाससम्म निक्षेपमा १६३ प्रतिशतको वृद्धि भई ५३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्जा रकममा २९१ प्रतिशत वृद्धि भई ५४ करोड १८ लाख रुपैयाँ पुगेको छ । हामीलाई पुरानो कुरा मिलाउनु पनि छ तर त्यसमा अल्झिएर बस्नुहुँदैन भनेरै व्यवसाय विस्तारमा जोड दिएका हौं । यसले गर्दा कोषको लागत (कस्ट अफ फण्ड) घटाउन पनि सहयोग पुगेको छ । अहिले कोषको लागत ६ प्रतिशत छ । बोर्ड र व्यवस्थापनको चाहना नै समस्याग्रस्त संस्था ब्युँतिएर फेरि कसरी प्रतिस्पर्धी भएर नेतृत्व गर्न सक्ने रहेछ भन्ने सवालमा उदाहरणीय बनाउने हो ।

पोखरा र नारायणगढमा दुई वटा शाखा खोलेपछि शाखा सञ्जाल पाँच वटा पुगेको छ । आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजना छ । प्रविधितर्फ पनि संस्थाको आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायत सेवा सञ्चालनमा छन् ।

केन्द्रीय बैंकले सञ्चालकका लागि योग्यतादेखि बैंकर र व्यवसायी छुट्याउने भनेको छ । यसमा तपाईंको धारणा के छ ?
बैंक तथा वित्तीय संस्थाहरूलाई अब नयाँ ढंगले परिभाषित गर्नुपर्ने बेला आएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गले के–के काम गर्ने भनेर विभाजन गरिदिए पनि बाँकी सबै उस्तै छन् । व्यावसायको क्षेत्रमा सन्तुलन कायम गर्र्दै यसको दायरा छुट्याउँछ भन्ने आश छ ।

बैंकका सञ्चालकलाई शंकाले हेर्ने भन्दा पनि खुला आँखाबाट हेरिनुपर्छ । राष्ट्र बैंकले सबै स्टेकहोल्डरलाई हीत बाझिने कुरामा बाहेक सबैखाले नीति बनाउँदा सहभागी र सन्तुष्ट गर्नुपर्छ । जनता, सरकार र लगानीकर्ताको पैसा संरक्षण गर्ने, सही ठाउँमा लगाउने काम सञ्चालकको हो । यस हिसाबले हामी सञ्चालकले पनि आफूलाई सधैं ट्रस्टी सम्झनुपर्छ । सञ्चालकहरूलाई पनि शंकाको दृष्टिले हेरिरहन आवश्यक छैन । सञ्चालकमा व्यवसायी र बैंकर छुट्याउने कुरा ठीकै हो । ठूला घरानाहरूले बैंक चलाउँदा हुन सक्ने द्वन्द्व अन्त्य गर्नुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्