ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बजारमा केराउको अभाव

२०७७ चैत, ९  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । पछिल्लो समय बजारमा केराउको अभाव बढ्दै गएको छ । थोकदेखि खुद्रा बजार सम्ममा यति बेला केराउ पाउन मुश्किल भइरहेको छ ।

कोरोना संकटका बेलामा नेपाली मुद्रा विदेशिन नदिन सरकारले गतवर्षको चैत १६ गते केराउ आयातमा रोक लगाएको थियो । त्यसयता आयातकर्ताहरूले केराउको आयात गर्न पाएका छैन जसको परिणाम स्वरूप यतिखेर बजारमा केराउको अभाव देखिन गएको हो ।

शक्ति दाल मिल वीरगञ्जका सञ्चालक ओमप्रकाश मोरले यति बेला बजारमा सेतो केराउको अभाव रहेको बताए । ‘नेपालमा अभाव बढेपछि हामीले भारतबाट आयात गर्न खोजेका थियौं । तर, भारतबाट पनि आयात गर्न नपाएपछि बजारमा केराउको अभाव चुलिएको हो,’ उनले भने । गतवर्षको चैतमा सरकारले गरेको निर्णयपश्चात् नेपालमा औपचारिक रूपमा केराउ भित्रिएको छैन ।

पछि सरकारले त्यस बेला बीच बाटोमा अलपत्र केराउ आयात गर्न दिएको थियो । त्यही केराउले अहिलेसम्म बजार धानेको हो । तर, अहिले उक्त केराउको मौज्दात सकिएपछि अभाव देखिन गएको बताइएको छ ।

गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले केराउसँगै मरीच, सुपारी र छोकडा आयातमा १ वर्षदेखि लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएसँगै व्यापारीहरूले केराउ आयात गर्न पाउने भएका छन् । यद्यपि विदेशबाट आयात गर्दा आयात प्रक्रिया लामो हुने भएकाले नेपालमा अबको करीब ३ महीनासम्म केराउको अभाव रहिरहने मोरको भनाइ छ ।

नेपालमा केराउको उत्पादन नभएकाले नेपाली आयातकर्ता व्यापारीहरूले क्यानडा, रसिया, न्यूजिल्यान्ड, अस्ट्रेलिया र युक्रेनलगायत देशबाट आयात गर्छन् । गत आर्थिक वर्षमा नेपालमा करीब १ लाख ५० हजार टन केराउ आयात भएको थियो । यस वर्ष सरकारले ८० हजार टन केराउ आयात गर्न कोटा निर्धारण गरेको छ ।

बजारमा अभाव बढ्दै गएपछि केराउको मूल्यसमेत आकाशिएको बताइएको छ । खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार १ महीना अघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ पर्ने हरियो केराउको मूल्य ४० रुपैयाँले बढेर यति बेला प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ ।

त्यसैगरी १ महीनाअघि प्रतिकिलो ७० रुपैयाँ पर्ने सेतो केराउको मूल्य यति बेला ८० रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ५० रुपैयाँ पुगेको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अभावका कारण मूल्य बढेको बताए ।

पछिल्लो समय मूल्य निकै महँगो भएको र ठूला व्यापारीहरूले सही बिलबीजकसमेत नदिनेजस्ता समस्याले धेरैजसो सानातिना व्यापारीहरूले केराउ बेच्नै छाडेको पनि उनले जानकारी दिए । अहिले भारतीय बजारमा समेत केराउको मूल्य बढेकाले केही नेपाली व्यापारीहरूको मिलेमतोमा नेपालबाट भारततिर केराउ निकासी गरेका कारण नेपालमा अभाव भइरहेको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्