ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टेलिकमको क्षमता विस्तार नहुँदा सेवाग्राहीलाई सास्ती

२०७७ चैत, १३  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरे पनि अझै पर्याप्त हुन सकेको छैन । टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा कर्णाली प्रदेशकै राजधानी सुर्खेत सदरमुकामका केही स्थानमा मोबाइल फोन सम्पर्क नहुने समस्या छ । प्रदेशका धेरै स्थानमा लामो समयदेखि यो समस्याबाट सेवाग्राहीले हैरानी खेप्दै आएका छन् ।

वीरेन्द्रनगरको धुलियाबिट, भेरी नदी पुल आसपाससँगै बांगेसिमलदेखि रानीघाट क्षेत्रमा मोबाइल फोनको नेटवर्क कमजोर छ । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले धुलियाबिट क्षेत्रमा टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा लामो समयदेखि फोन नलाग्ने समस्या रहेको बताए । उनले टेलिकमको जिल्लादेखि केन्द्रसम्म मोबाइलको पहुँच विस्तार गरिदिन आग्रह गरेपछि धुलियाबिटमा सर्भे भएर टावर जडान भएको छ । यद्यपि विद्युत्को अभाव देखाउँदै हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

अहिले पनि सुर्खेतका दुई दर्जन गाउँमा टेलिकमको मोबाइलको नेटवर्कले काम गर्दैन । सरकारले सबै नेपालीलाई गुणस्तरीय सञ्चारको पहुँच पुर्‍याउने घोषणा गरे पनि जिल्लाका गुटु, बिजौरा, पाम्का, रजेना, मटेला, घोरेटा, खानीखोला लगायतका नागरिक मोबाइल फोनको सुविधाबाट वञ्चित छन् । ‘जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको चिंगाड गाउँपालिकाको–२ को अवस्था पनि उस्तै छ । पाम्का, रजेना र मटेलासँगै वडा नं २ को ढाडखेतमा नेटवर्कले काम गर्दैन,’ चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले भने ।

भौगोलिक विकटता रहेको जिल्लाका ग्रामीण क्षेत्रमा साँझ परेपछि मोबाइल फोनको सम्पर्क विच्छेद हुने गरेको सेवाग्राहीको गुनासो छ । विद्युत् लाइन विस्तार नभएका दुर्गम गाउँमा बीटीएस टावर सोलारमार्फत सञ्चालन हुने हुँदा पर्याप्त पावर नहुँदा घाम अस्ताएसँगै कतिपय स्थानमा काम नगर्ने समस्या रहेको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर नारायणप्रसाद कुसीले बताए । सदरमुकाम वीरेन्द्रनगरसँगै सुदूर ग्रामीण बस्तीमा मोबाइल नेटवर्क नपुग्ने समस्या समाधानका लागि प्रदेशदेखि केन्द्रीय कार्यालयसम्म पहल भइरहेको उनको भनाइ छ । ‘ब्याट्री फुलचार्ज हुन दुई–तीन दिन लाग्छ । सोलार प्यानलमा भर पर्नुपर्ने हुँदा समस्या दोहोरिरहेको छ,’ उनले भने, ‘माथिल्लो निकायमा पहल भइरहेकाले छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छु ।’

जिल्लाभर ६३ ओटा बीटीएस टावर रहे पनि भौगोलिक विकटताका कारण अझै पर्याप्त नभएको उनको भनाइ छ । उनका अनुसार अहिले जिल्लाका ९ ओटा स्थानीय तहका ८ स्थानमा २५ मिटर माथिका टावर राख्ने काम भइरहेको छ ।  कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको टेलिकम सुर्खेतका इन्जिनियर चन्द्रभूषण साहले बताए । पर्याप्त सडक, बत्तीलगायत भौतिक पूर्वाधार अभाव हुँदाहुँदै टेलिकमले सोलार प्यानल जोडेर मोबाइल नेटवर्क विस्तार अभियानलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्