ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ट्वाइलेट र बाथरूमलाई यसरी बनाउनुस् आकर्षक

२०७७ चैत, १३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । ट्वाइलेट र बाथरूम बनाउँदा केही महत्त्वपूर्ण विषयबारे जानकार हुनैपर्छ । ट्वाइलेट र बाथरूम बनाउने क्रममा महत्त्वपूर्ण जानकारी नहुँदा कहिलेकाहीँ गरेको लगानी खेर जानुका साथै त्यसको औचित्य नहुन सक्छ । त्यसैले यस्ता कुरामा यी संरचना निर्माणअघि आवश्यक जानकारी राख्नु बुद्धिमानी हुन्छ । ट्वाइलेट र बाथरूम निर्माण गर्दा दुवैको खर्च करीब डेढ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म खर्च लाग्छ ।

ट्वाइलेट र बाथरूम बनाउँदा सबैभन्दा पहिले यसका लागि कति क्षेत्रफल आवश्यक हुन्छ भन्ने कुराको जानकारी हुनुपर्छ । ट्वाइलेटका लागि कम्तीमा पनि १ दशमलव ५ मीटर लम्बाइ र १ मीटर चौडाइ राख्नुपर्छ । त्यसैगरी बाथरूमको कुल लम्बाइ कम्तीमा १ दशमलव ८ मिटर, चौडाइ १ दशमलव २ मीटर र उचाइ ६ फिटसम्म राख्न सकिन्छ ।

आफ्नो इच्छा र जमीनको उपलब्धताअनुसार यसको क्षेत्रफल बढाउन पनि सकिन्छ । ट्वाइलेट र बाथरूम निर्माण गर्नुअघि क्षेत्रफलको जानकारी भएजस्तै यसको निर्माण गर्दा आवश्यक पर्ने सामग्री, तिनको मूल्य र लाग्ने खर्चजस्ता विषयमा ध्यान दिनु जरुरी हुने लामो समयदेखि घर, ट्वाइलेट तथा बाथरूम निर्माणसम्बन्धी कामको ठेक्का लिँदै आएका ठेकेदार गोपाल तामाङ बताउँछन । उनका अनुसार अहिले बजारमा विभिन्न थरीका सामग्री उपलब्ध छन् । आफ्नो खर्च र रोजाइका आधारमा ती सामग्री खरीद गर्न सकिने उनको भनाइ छ ।

ट्वाइलेट र बाथरूम निर्माण गर्दा त्यसमा प्रयोग गर्ने सामानको गुणस्तर र ब्रान्डअनुसार बढीमा साढे २ लाख रुपैयाँ खर्च लाग्ने तामाङले बताए । इँटा, टायल, सिमेन्ट, बालुवा, मार्वल, बेसिन, धारा, पाइपलगायत सामग्री यसमा आवश्यक हुन्छन् । बाथरूममा जडान गर्ने धाराको मूल्य ब्रान्डअनुसार २५ सय देखि ३२ सय रुपैयाँसम्म पर्छ ।

त्यसैगरी सावरको मूल्य ९ सय ५० देखि ११ सय रुपैयाँसम्म पर्ने भगवति हार्डवेयर कीर्तिपुरका दीपेन्द्र राउत बताउँछन् । एउटा बेसिनको मूल्य ३५ देखि ४२ सय रुपैयाँसम्म पर्छ । टायल हालको बजार मूल्यअनुसार ७० देखि ८० रुपैयाँ प्रतिस्क्वायर पर्छ । भित्ता फोहोर नहोस् भन्न पछिल्लो समय धेरै मान्छेले ट्वाइलेट र बाथरूममा टायल तथा मार्बलको प्रयोग गर्ने चलन बढेको छ । यसको प्रयोग गरे ट्वाइलेट तथा बाथरूम सफा गर्न सजिलो हुनुका साथै आकर्षक पनि देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्