ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजारमा वाणिज्य बैंकको अंश ३८.३९ प्रतिशत, नबिल बैंकको सबैभन्दा बढी

२०७७ चैत, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको अंश ३८ दशमलव ३९ प्रतिशत रहेको छ । चैत १३ गतेसम्म सूचीकृत २६ वाणिज्य बैंकहरूको कुल शेयरको मूल्य उक्त अनुपातमा कायम भएको हो ।

चैत १३ गतेसम्म धितोपत्र दोस्रो बजारको आकार अर्थात् कुल बजार पूँजीकरण रू. ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार रहेको छ । उक्त दिनसम्म २६ वाणिज्य बैंकहरूको सूचीकृत शेयरको कुल मूल्य रू. १३ खर्ब ५१ अर्ब ३७ करोड ९ लाख ४२ हजार रहेको छ । यी बैंकहरूको धितोपत्र दोस्रो बजारमा २ अर्ब ८८ करोड ७ लाख ९१ हजार ८६२ कित्ता शेयर सूचीकृत रहेको छ ।

बजारमा कम्पनीहरूको शेयरमूल्य माग र आपूर्तिका कारण घटबढ हुने गर्छ । हाल वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको शेयरमूल्य सबैभन्दा बढी छ । चैत १३ गते यस बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२७ कायम भएको छ । नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ । बैंकको कुल शेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. १ खर्ब ६५ अर्ब ४० करोड १५ लाख ४३ हजार रहेको छ ।

नबिल बैंकले शेयरधनीहरूका लागि आकर्षक लाभांश दिँदै आएकाले पनि यस बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी रहेको हो । यस वर्ष वाणिज्य बैंकहरूमध्य सबैभन्दा बढी ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको छ । यस बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १ दशमलव ७६ प्रतिशत नगद लाभांश दिएको हो । विगतका वर्षहरूमा पनि नबिल बैंकले अन्य वाणिज्य बैंकहरूको तुलनामा आकर्षक लाभांश वितरण गर्दै आएको छ ।

यस बैंकले २ आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा ६५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।

नबिल पछि कुल बजार पूँजीकरण एनआईसी एशिया बैंकको बढी रहेको छ । एनआईसी एशिया बैंकको दोस्रो बजारमा १२ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत रहेको छ । पछिल्लो कारोबार दिन चैत १३ गते एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ८७२ कायम भएको छ । यो दिन बैंकको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ८३ करोड ८१ लाख २८ हजार कायम भएको छ ।

सूचीकृत शेयर संख्या भने वाणिज्य बैंकहरूमध्य ग्लोबल आईएमई बैंकको बढी रहेको छ । ग्लोबल आइएमई बैंकको २१ करोड ६३ लाख २५ हजार ३१ कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । बजार मूल्य भने बैंकको प्रतिकित्ता रू. ४२८ रहेको छ । सर्वाधिक कित्ता शेयर सूचीकृत भए पनि ग्लोबल आईएमई बैंकको शेयरमूल्य कम भएका कारण कुल बजार पूँजीकरण रू. ९२ अर्ब ५८ करोड ७१ लाख १३ हजार मात्र रहेको छ ।

दोस्रो बजारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर सूचीकृत रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ करोड ५७ लाख २२ हजार ३०४ कित्ता शेयर सूचीकृत रहेको छ । प्रतिकित्ता शेयरमूल्य रू. ५९६ रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल बजार पूँजीकरण रू. ५१ अर्ब ९ करोड ४ लाख ९३ हजार रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्