ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शिवम् सिमेन्टको बजारलाई देशैभर पुर्‍याउने योजनामा छौं

२०७७ चैत, १८  
अन्तरवार्ता
Image Not Found

कोरोनाका कारण निर्माण क्षेत्र लामो समय प्रभावित रह्यो । लामो समयको बन्दाबन्दी अन्त्यसँगै विस्तारै निर्माणका काम शुरू हुन थालेपछि निर्माणसम्बन्धी उद्योग विस्तारै पुरानै लयमा फर्किरहेका छन् । माग नभएकै कारण सिमेन्ट उद्योगले उत्पादन घटाएका भए पनि अहिले पूर्ववत् उत्पादन शुरू गरिरहेका छन् । निर्माण क्षेत्रअन्तर्गत सिमेन्ट उद्योगको पछिल्लो अवस्थाबारे शिवम् सिमेन्टका कन्ट्री हेड निखिल अग्रवालसँग अभियान दैनिकले गरेको कुराकानी :

पछिल्लो केही वर्षयता विकास निर्माणले गति लिँदा निर्माण सामग्रीको माग बढ्दै गएको थियो । तर, कोरोना महामारीले यसलाई प्रभावित बनायो । कोरोनापछि सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?
कोरोना महामारीकै कारण राष्ट्रिय आयोजनाका काम अघि बढ्न पाएनन् र सर्वसाधारणले समेत घर बनाउन पाएनन् । त्यस कारण कोरोनाले समग्र निर्माण क्षेत्र प्रभावित बन्यो । कुनै क्षेत्रमा काम गर्न कठिन तथा कुनैमा सहज भए पनि कुनै उद्योग र परियोजनाको सामान्य काम भयो । कुनै उद्योग तथा परियोजना बन्द भए । कोरोनापछि धेरै ठूला परियोजना, विदेशी लगानी भएका परियोजना शुरू भएका छन् । कतिपय विदेशबाट फर्किएका दक्ष कामदार पुनः विदेश जान नपाउँदै देशमै दक्ष जनशक्ति परिचालन भएको छ । कोरोनाका कारण प्रभावित निर्माण क्षेत्रले दशैंपछि गति लिएको छ । निर्माणको सिजन भएकै कारण पनि होला, पुल, घर, भवन, सडकदेखि जुनसुकै परियोजनाले गति लिएको देखिएको छ ।

कोरोनापछि सिमेन्टको माग कस्तो छ ?
नेपालमा पछिल्लो केही वर्षयता निर्माणका काम बढिरहेकाले निर्माणमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्टको माग पनि बढाएको छ । यसै कारण सिमेन्ट उद्योगको संख्या बढ्दै गएका छन् । अघिल्लो वर्ष कोरोना नआएको भए धेरै आयोजना कार्यान्वयनमा जाने भनिएका थिए । ती योजना शुरू भएर अहिले अघि बढिसकेका हुन्थे । कोरोनाकै कारण १ वर्षपछि बल्ल ती आयोजना सुरू हुने स्थितिमा छन् । तनहुँ, रसुवागढी, भोटेकोशीलगायत ठूला आयोजना शुरू हुँदै छन् । यसले पक्कै पनि सिमेन्टको माग बढाउँछ ।

कोरोनापछि शिवम्को उत्पादन कस्तो छ ?
कोरोनाको समयमा पनि शिवम्को मागमा कमी आएको छैन । माग एकदमै राम्रो छ । नेपालका अधिकांश ठूला परियोजना जस्तै, तनहुँ, रसुवागढी र अरूण तेस्रो जलविद्युत् आयोजना, नागढुंगा सुरुङ मार्ग, ठूला पुल, सडक, निर्माण कम्पनी आदिले शिवम् सिमेन्ट प्रयोग गरिरहेका छन् । सर्वसाधारणले आफ्नो घर, भवन बनाउँदा शिवम् सिमेन्टलाई विश्वास गरेको पाइएको छ । शिवम्को गुणस्तरकै कारण ग्राहक रोजाइमा पर्न सकिएजस्तो लाग्छ । हामी हरेक दिन ३ हजारदेखि ३५ सय टन अर्थात् ६० देखि ७० हजार बोरासम्म सिमेन्ट उत्पादन गर्छौं, जुन सबै विक्री भइरहेको छ ।

गुणस्तरीय उत्पादनका लागि शिवम्ले के–कस्ता प्रयास गरिरहेको छ ?
भर्खरै नेपाल गुणस्तर तथा नापतौल विभागले शिवम्लाई ४३ ग्रेडको ओपीसी सिमेन्टको मान्यता दिएको छ । यससँगै ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने ब्रान्ड बनेका छौं । विभागले एनएस ४९ प्रमाणीकरण गर्दै आए पनि यसअघि नेपाली सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा आइरहेका थिए । विभागले सिमेन्टको उच्च गुणस्तर सुनिश्चितता गर्न एनएस ५७२ को अवधारणा अगाडि बढाएपछि ४३ ग्रेडको सिमेन्ट उत्पादनका लागि उक्त जाँच गरिएको थियो । यसमा चुनढुंगा, कच्चा पदार्थ, उत्पादन प्रक्रिया, क्लिंकर र उत्पादित सिमेन्टको लामो समयसम्म परीक्षण गरी उक्त ग्रेडिङ दिइएको हो । ग्रेडिङ भारवहन गर्ने क्षमताको स्तर हो । अहिलेसम्म शिवम् मात्रै एनएस ५७२ प्रमाणीकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन र विक्री गर्न योग्य प्रमाणित भएको छ । यसबाट पनि हाम्रो गुणस्तरबारे थाहा हुन्छ । यसैगरी सिमेन्ट उद्योगमै अहिलेसम्म एनएस क्वालिटी अवार्ड पाउने एक मात्र कम्पनी शिवम् नै हो । एनएस गुणस्तर भएका सबै उत्पादनसँग प्रतिस्पर्धा गरी हामीले २०१९ मा यो अवार्ड पाएका थियौं । बीआईएस (इन्डियन स्ट्यान्डर्ड २६९, २०१५) बाट सम्मानित पनि भएका छौं । हाम्रो लक्ष्य भनेकै गुणस्तरीय उत्पादन हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले देशभर क्वारेन्टाइन, आइसोलेशन बनाउन निर्देशन दिएको छ । यसले निर्माण क्षेत्रलाई कत्तिको असर गरेको छ ?
छिमेकी भारतमा कोरोनाको दोस्रो लहर शुरू भएर ठूलो संख्यामा संक्रमण देखिइरहेको छ । खुला सीमाका कारण पनि नेपालमा कोरोनाको त्रास बढेको छ । तर, हामीलाई कोरोना आएर रोग लाग्ने हो कि भन्नुभन्दा पनि बन्दाबन्दी भएर भोक लाग्छ कि भन्ने त्रास छ । फेरि बन्दाबन्दी हुने स्थिति आए यसअघि हामी पूर्वावस्थामा फर्किन धेरै समय लागेको थियो । कतिपय उद्योग, कलकारखाना बन्द छन् । अर्थतन्त्र चलायमान भइसकेको छैन । फेरि बन्दाबन्दी हुने हो भने यसबाट पूर्वावस्थामा फर्किन अहिलेभन्दा बढी समय र लागत लाग्छ । सिमेन्ट, डन्डी उद्योग वा एउटा कुनै परियोजनाको मात्र नभएर लाखौं श्रमिकको कुरा पनि छ । फेरि बन्दाबन्दी हुने हो भने उद्योग, व्यापार, अर्थतन्त्र र मजदूर, श्रमिकका लागि त्यो सबैभन्दा डरलाग्दो अवस्था हुन्छ । हामीले यसअघि नै अनुभव गरिसकेको हो, बन्दाबन्दी विकल्प होइन, यसलाई अन्य तरीकाले रोक्न सकिन्छ । दोस्रो बन्दाबन्दीका देश तयार हुन सक्ने स्थितिमा छैन । त्यस कारण कोरोनाको दोस्रो लहर शुरू भए पनि वैकल्पिक उपाय अपनाउनुपर्छ ।

धेरै उद्योग पछिल्लो समय लगानीका लागि पर्ख र हेरको अवस्थामा छन् । शिवम्ले थप लगानी गरी उद्योग तथा व्यवसाय विस्तार गर्ने विषयमा कस्तो योजना बनाइरहेको छ ?
हाम्रो सबैभन्दा लगानी हुने क्षेत्र भनेको उत्पादनलाई आजभन्दा भोलि कसरी राम्रो बनाउन सकिन्छ भन्ने हो । त्यसका लागि हामी हरेक दिन लागिरहेका छौं, अनुसन्धान गरिरहेका छौं । व्यापार विस्तार गर्न नयाँ–नयाँ बजार खोज्ने योजना बनाइरहेका छौं । देशभर सिमेन्ट पुर्‍याउने योजना बनाएका छौं । उद्योगको क्षमता बढाउन पनि छलफल गरिरहेका छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्