ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बीमाक्षेत्रको व्यवस्थित विकास हुनेगरी काम गर्नेछु

२०७७ चैत, १८  
अन्तरवार्ता
Image Not Found
सूर्यप्रसाद सिलवाल , अध्यक्ष, बीमा समिति

नेपाल सरकारले बीमा समितिको अध्यक्षमा नियुक्त गरेपछि सूर्यप्रसाद सिलवालले समितिमा पदभार सम्हालेको करीब २ महीना भइसकेको छ । यसअघि नेपाल सरकारको प्रशासनिक क्षेत्रमा काम गरेका सिलवालका लागि बीमा क्षेत्र पूर्णतः नयाँ विषय हो । यस अवस्थामा उनले बीमा क्षेत्रलाई कसरी नेतृत्व गर्दै छन् त ? प्रस्तुत छ, यिनै समसामयिक विषयमा अध्यक्ष सिलवालसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :

लामो समयसम्म मुलुकको प्रशासनिक क्षेत्रमा काम गर्नुभयो । अहिले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षको रूपमा आउनु भएको छ । आगामी दिन कत्तिको चुनौतीपूर्ण देख्नुहुन्छ ?
मुलुकको अर्थतन्त्रलाई योेगदान गर्ने क्षेत्रमध्ये बीमा क्षेत्र पनि एक हो । त्यसकारण यसमा नौलो भन्ने त खासै केही छैन । तर, म बीमाको प्राविधिक विषयमा त्यति जानकार भने छैन । यद्यपि, प्राविधिक विषयमा काम गर्ने भनेको समितिका कर्मचारीले हो । मैले त नीतिगत रूपमै काम गर्ने हो । विशेषगरी बीमा सम्बन्धी सरकारले राखेको लक्ष्य पूरा गर्ने मामलामा मेरो मुख्य भूमिका रहन्छ ।

त्यो हिसाबले हेर्दा मैले पहिला जुनसुकै निकायमा काम गरेको भए पनि बीमा सम्बन्धी सरकारले राखेको लक्ष्य मैले पूरा गर्न सक्छु भन्ने हो । त्यो मामलामा दृढ पनि छु ।

तत्काल नेपालमा बीमाको पहुँच बढाउनुपर्ने छ । हालसम्म २५ प्रतिशतभन्दा कम नेपालीमा बीमाको पहुँच विस्तार भएको छ । पहुँच बढाउन हामीले काम गर्नुपर्ने छ ।

तर, बीमाको पहुँच बढाउने मामलामा बीमा कम्पनीहरूले पनि काम गर्नुपर्छ । तब मात्र बीमाको पहुँच सबै वर्गका नागरिक तथा स्थानीय स्तरसम्म पुर्‍याउन सकिन्छ ।

यस अवस्थामा बीमाको पहुँच बढाउन जे जसलाई परिचालन गर्नुपर्ने हुन्छ, को–कोसँग छलफल तथा सहकार्य गर्नुपर्छ, त्यो सबै हामीले गर्नुपर्छ । त्यस अनुसार काम पनि गर्दै आएका पनि छौं । साथै, बीमा कम्पनीहरूले पनि यस मामलामा काम गर्नुपर्ने हुन्छ ।

समग्रमा बीमा बजारलाई हामीले व्यवस्थित, विकसित, नियमित बनाउने हो । बढीभन्दा बढी मानिसलाई बीमाको दायरामा ल्याउने वातावरण बनाउने हो । यही काम गर्ने उद्देश्य अनुरूप नै सरकारले मलाई पठाएको हो । म त्यही अनुसार नै काम गर्नेछु ।

४ वर्षका लागि बीमा समितिको अध्यक्षको रूपमा नियुक्त भएर काम गरिरहँदा बीमा क्षेत्रको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ? विगतका अध्यक्षहरूले भन्दा केही फरक अभ्यास पनि गर्नुहुन्छ कि ?
पूर्व अध्यक्षहरूको तुलनामा फरक अभ्यासभन्दा पनि बीमा बजारको आवश्यकता के हो, त्यसमा केन्द्रित भएर काम गर्नेछु । बीमा सम्बन्धी सरकारले लिएको उद्देश्य के हो ? त्यसमा हाम्रो प्रगति के छ ? बीमाक्षेत्र किन विकसित हुन सकेको छैन ? बीमा क्षेत्रमा के कस्ता समस्याहरू छन् ? यस्तै विषयमा केन्द्रित रहेको काम गर्नेछु । समग्रमा बीमा क्षेत्रमा भएका यावत् समस्याहरूको पहिचान गरेर समाधान गर्दै जाने मामलामा म सकारात्मक छु ।

समग्रमा बीमा क्षेत्रको व्यवस्थित विकास गर्नुपर्ने छ । बीमा कम्पनीहरू नियमित हिसाबले काम कारबाहीमा उत्रिनु पर्नेछ । उनीहरूबाट हाम्रो अपेक्षा पनि यही हो । कम्पनीहरू आफैले आफैलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्छ । ऐन, कानून तथा निर्देशिकाहरूको परिपालना गर्नुपर्‍यो । बीमितहरूबाट आएको गुनासाहरूको समयमै सुनुवाइ गर्ने तथा समयमै दाबी गर्ने प्रचलनको विकास गर्नुपर्ने देखिन्छ । त्यसका लागि समिति आवश्यक सहयोग तथा सहकार्य गर्न तयार नै छ ।

विशेषगरी अब बीमा कम्पनीहरू नयाँ पोलिसी बनाउने मामलामा पनि अग्रसर हुनुपर्छ । प्रचलित बीमा पोलिसीहरूले सबै नागरिकलाई बीमाको दायरामा समेट्न सकेन । अब सबै नागरिकको बीमा सहज रूपमा पहुँच हुनेगरी नयाँ इन्नोभेटिभ प्रडक्टहरू बनाउनुपर्छ । यसमा बीमा कम्पनीसँग सहकार्य गर्न समिति पनि तयार छ ।

वास्तवमा पछिल्लो समय बीमा व्यवसायको शाख घट्दै गएको छ । बीमा अपत्यारिलो व्यवसाय बन्दै गएको हो कि जस्तो पनि छ । अब त्यसलाई पत्यारिलो व्यवसायको रूपमा रूपान्तरण गर्न आवश्यक छ । त्यसपछि मात्र बीमा बजारको विकास गर्न सकिन्छ ।

अर्काे कुरा के हो भने बीमा कम्पनीहरूले प्रयोग गरिरहेको आम सर्वसाधारणको पैसा हो । यसलाई बीमा कम्पनीहरूले बिर्सनु हुँदैन । सर्वसाधारणको पैसा तोकिएको विधि/प्रक्रिया पुर्‍याएर परिचालन गर्नुपर्छ । समग्रमा निकट भविष्यमा ग्राहकलाई उचित बोनस दिनेगरी नै त्यस्तो पूँजी परिचालन गर्नुपर्छ ।

बीमा भनेको विश्वासको व्यवसाय हो । त्यस कारण बीमा बजारप्रतिको विश्वास बढाउन कम्पनीहरू सदैव प्रयत्नशील हुनुपर्छ । आम ग्राहकले सम्भावित जोखिमबाट हुने क्षतिलाई आर्थिक रूपमा न्यूनकरण गर्न नै बीमा गर्ने हुन् । त्यसकारण बीमा कम्पनीहरू कुनै पनि जोखिम वहन गर्न सदैव तयार भएर बस्नुपर्छ । दाबी परेपछि बीमालेखमा तोकिएको शर्तअनुसार सहज र सरल रूपमा भुक्तानी दिने अभ्यास गर्नुपर्छ । यति काम गर्न सकियो भने बीमा बजार विश्वासिलो हुँदै जान्छ । धेरैभन्दा धेरै नागरिक बीमाको दायरामा आउँछन् ।

अहिले हामीले बढीभन्दा बढी मानिसलाई बीमाको दायरामा ल्याउनेगरी नै काम गरेका छौं । अझै पनि बीमा बजार शहर केन्द्रित छ । अब ग्रामीण भेगमा पनि बीमाको पहुँच विस्तार गर्नेगरी हामी काम गर्ने योजनामा छौं ।

पहुँच विस्तार गर्ने मामलामा के कस्ता काम गर्न सकिन्छ भनेर छलफल गरेको अवस्था पनि छ । स्वयम् बीमा कम्पनीहरूलाई पूर्वदेखि पश्चिमसम्म पुग्न टार्गेट दिएर हुन्छ कि कसरी हुन्छ, हामी पहुँच विस्तार गर्ने मामलामा एकदम प्रयासरत छौं ।

यस्तै, बीमा क्षेत्रमा थुप्रै विकृतिहरू पनि छन् । त्यसलाई हामीले समयमै सुधार गर्दै लैजानुपर्ने पनि छ । अब बीमा बजारमा सबैको पहुँच पुर्‍याउनुपर्ने छ । साथै, बीमा क्षेत्र सबै लगानीकर्तालाई पनि उचित प्रतिफल दिने वातावरणको विकास गर्नुपर्ने छ । त्यहीअनुसार नै हामीले काम गर्नेछौं ।

साथै, अब बीमा कम्पनीहरू वास्तविक पब्लिक कम्पनीको रूपमा काम गर्नुपर्छ । सीमिति व्यक्तिले बढी शेयर होल्ड गरेर बस्ने, कम्पनीहरूले पनि कानूनले तोकेको भन्दा बाहिर गएर काम गर्ने प्रवृत्ति रोक्नुपर्ने छ । बीमा क्षेत्रमा भएका विकृतिलाई कम गर्दै लैजान निरीक्षण एवं नियमनलाई अझै बलियो रूपमा अगाडि बढाउँछौं ।

साथै, बीमा क्षेत्रमा स्रोत नखुलेको रकम भित्रिन नदिन सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई पनि राम्रोसँग कार्यान्वयन गर्दै लैजानेछौं । साथै, कम्पनीको सञ्चालक, व्यवस्थापक, कर्मचारी, सर्भेयर, अभिकर्ता लगायत सबै व्यक्तिले तोकिएको नियम तथा आचारसंहिता पालना गर्नुपर्छ ।

विशेषगरी अभिकर्ताले आफ्ना ग्राहकलाई सम्बन्धी बीमा पोलिसीको विषयमा स्पष्ट रूपमा भन्नुपर्छ । ता कि ग्राहकले कस्तो बीमा गर्दै छु भनेर थाहा पाऊन् । ग्राहक पनि यस्ता विषयमा स्पष्ट भएमा बीमा बजारको विस्तार र विकास राम्रोसँग हुन्छ भन्ने हो ।

तपाईंले बीमा समितिको अध्यक्षको पदभार ग्रहण गरेको करीब २ महीना भएको छ । तपाईंको कार्यकाल सकिँदा अहिलेको बीमा क्षेत्र र त्यस बेलाको बीमा क्षेत्रमामा के फरक पाइन्छ ?
पक्कै पनि मेरो कार्यकाल सकिँदा केही न केही नयाँ तथा फरक कुराहरू देख्न पाइन्छ । त्यसका लागि केही कामहरू पनि भइसकेका छन् ।

यसका लागि पहिला बीमा कम्पनीहरू विश्वसनीय कम्पनीको रूपमा स्थापित हुनुपर्‍यो । साथै, अहिलेसम्म गर्दै आएका कानून विपरीतका काम तथा अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ । पोलिसी होल्डरको पैसा पनि सही रूपमा परिचालन गर्नुपर्छ ।

यसका अलावा बीमा कम्पनीहरू पनि आन्तरिक रूपमा राम्रो हुनुपर्‍यो । सबै कामहरू विधिवत् हुनुपर्‍यो । अध्यक्ष, सञ्चालक, सीईओ जस्ता उच्च पदस्थ व्यक्तिले भनेको आधारमा काम हुन भएन । सकेसम्म सूचना प्रविधिमार्फत नै काम हुनुपर्‍यो । बीमा कम्पनीहरूबाट आवश्यक सूचनाहरू मागेर होइन कि आईटीमार्फत नै पाउन सकियोस् । यसमा बीमा समिति त तयार पनि भइसकेको छ । अब बीमा कम्पनीहरू पनि यसरी नै आउनुपर्‍यो । यसरी काम गर्न सकियो भने बीमा क्षेत्रमा अहिले देखिएका विकृति तथा विसंगतिहरू कम हुँदै जान्छन् । यसका लागि बीमा समिति पनि आवश्यक सहकार्य गर्न तयार छ । त्यसपछि पक्कै पनि नेपालको बीमा बजार नयाँ ढंगले अगाडि बढ्नेछ । यसलाई सफल बनाउनेगरी काम गर्नेछु ।

म अध्यक्ष भएर आएपछि विभिन्न कम्पनीहरूमा आठपटक त निरीक्षणको काम पनि गरिसक्यौं । त्यसमा क्रममा बीमा क्षेत्रमा विभिन्न विकृति तथा विसंगति भएको पनि पाइयो । पहिलो पटक भएको हुनाले सञ्चालकहरूको प्रतिबद्धताको आधारमा छूट दिएका छौं । तर, पटक पटक एउटै गल्ती दोहोरियो भने हामी कारबाहीमा जान बाध्य हुनेछौं । यद्यपि, हामीले अहिले नियमन गरे पनि नियन्त्रणको काम गरेको छैनौं । गल्तीहरू दोहोरिन थाले भने हामी नियन्त्रणमा जानेछौं । त्यस बेला कारबाहीको सम्भावना पनि रहन्छ । बीमा कम्पनीहरू आफैले आफैलाई नियमन गर्ने संस्थाको रूपमा विकसित हुनुपर्छ ।

कम्पनीहरूमाथि निरीक्षण तथा नियमन गर्दा बीमा क्षेत्रमा के कस्ता विकृति देखियो त ?
बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखियो । विशेषगरी निर्जीवन बीमामा यसको समस्या बढी रहेको पाइएको छ । निर्जीवन बीमा कम्पनीहरूले समितिले तोकेको न्यूनतम दरभन्दा पनि तल गएर बीमा गर्ने गरेको पाइयो । त्यसमाथि कतिपय बीमाहरू उधारो गरेको पनि पाइयो । बीमा नै नहुने जोखिमको पनि बीमा भएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणको मामलामा तोकेको विधि पूरा गरिएको छैन । सम्बन्धित ग्राहकको आम्दानीको स्रोत के हो, उसको बीमा गर्ने क्षमता छ कि छैन भन्ने विषयमा विस्तृत रूपमा खुलाइएको छैन । अबका दिनमा यस्ता गल्ती नगर्न कम्पनीहरूलाई भनेका छौं । यस्ता गल्ती दोहोरिए कारबाही हुन्छ । समग्रमा बीमाको बजारलाई विश्वसनीय बजारको रूपमा विकास गर्न यिनै कुराहरूलाई विकास गर्दै जानुपर्छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको शाखा सबै स्थानीय तहमा पुर्‍याउन वाणिज्य बैंकहरूलाई स्थानीय तह तोकेर नै शाखा विस्तार गर्न भनेको छ । यस्तै अभ्यास बीमा क्षेत्रमा लागू गर्न सकिन्छ कि ?
बीमा बैंकभन्दा कान्छो क्षेत्र हो । बैंकहरूले जसरी नै गतिविधि गर्न चुनौतीपूर्ण छ । तर, सम्भव भने नभएको होइन । यद्यपि, घुम्ती बीमाका योजनाहरू बनाएर बीमाको पहुँच विस्तारको काम गरेका छौं । जुम्लासम्म गएर स्याउको बीमा पनि गरेको अवस्था छ ।

हामीले शाखा विस्तारभन्दा पनि धेरैभन्दा धेरै मानिसलाई बीमामा ल्याउनेगरी काम गर्नुपर्छ । साथै, स्थानीय स्तरमा बीमालाई पुर्‍याउनेगरी काम गर्नुपर्छ । यसका लागि सम्बन्धित स्थानीय सरकारसँग पनि सहकार्य गर्नुपर्ने देखिन्छ । उनीहरूलाई बीमाको फाइदाको विषयमा जानकारी दिएर स्थानीय तहभित्रका नागरिकको बीमा गर्नेे, सम्पत्तिको बीमा गर्नेगरी काम गर्नुपर्छ । यसमा हामीले पनि प्रयास गर्दै आएका छौं । साथै, विभिन्न उच्च शिक्षा तथा विश्वविद्यालयको कोर्समा पनि बीमाको पाठ्यक्रम विकास गर्नुपर्नेछ । त्यसपछि बीमाको पहुँच विस्तारमा थप सहज हुनेछ ।

नाफालाई केन्द्रमा राखेर व्यवसाय गर्ने कम्पनीहरूले गरीबीको रेखामुनि रहेका नागरिकको बीमामा रुचि देखाउँदैनन् । यस अवस्थामा गरीब नागरिकलाई बीमाको पहुँचमा ल्याउन समितिबाट के कस्ता काम हुँदै छन् ?
विशेषगरी त्यस्ता वर्गका मानिसलाई बीमाको पहुँचमा ल्याउन सम्बन्धित पालिकाले नै आवश्यक पहल गर्नुपर्छ । त्यसका लागि हामी स्थानीय सरकारसँग सहकार्य पनि गर्नेछौं । उनीहरूले वार्षिक बजेटमा यसका लागि बजेट छुट्याएमा त्यस्ता नागरिकको बीमा गर्न सहज हुने थियो । साथै, अब सबै प्रकारका नागरिकलाई बीमाको दायरामा ल्याउनेगरी बीमा पोलिसी पनि बनाउनुपर्ने छ । यसका लागि बीमा कम्पनी र बीमा समितिबीच सहकार्यको पनि आवश्यकता छ ।

बजारमा नयाँ पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी स्थापना गर्ने तयारी गरिएको छ । पुनर्बीमा कम्पनीको विषयमा त समितिले अध्ययन पनि गरिसकेको छ । यसको पछिल्लो अवस्था छ ?
निर्जीवन बीमा कम्पनीको हकमा हामीकहाँ औपचारिक रूपमा केही भएको छैन । यद्यपि, पुनर्बीमा कम्पनीको विषयमा भने अध्ययन गरिसकिएको छ । त्यससम्बन्धी प्रतिवेदन अहिले सञ्चालक समितिमा अध्ययनको क्रममा छ । केही दिनमै यसलाई टुंगोमा पुर्‍याउँछौं । कोरोना बीमामा लामो समयसम्म आम ग्राहकले दाबी भुक्तानी पाउन सकेका थिएनन् । यसमा पछिल्लो अवस्था के छ ? पहिला दाबी भुक्तानीमा समस्या भए पनि अहिले त्यस्तो समस्या छैन । पछिल्लो समय सहज रूपमा दाबी भुक्तानी भइरहेको छ । हालसम्म ५३ हजारभन्दा बढीले दाबी भुक्तानी लिइसकेका छन् । साथै, सरकारको दायित्वमा पर्ने ३ अर्ब निकासीका लागि अर्थ मन्त्रालयमा पत्र पठाएका छौं । त्यो रकम प्राप्त भएपछि दाबी भुक्तानी अझै राम्रोसँग अगाडि बढ्छ ।

बीमा दाबी भुक्तानी कसरी सहज हुन सक्छ ?
पहिला अभिकर्ताले ग्राहकलाई पोलिसीको विषयमा स्पष्ट रूपमा जानकारी दिनुपर्छ । साथै, ग्राहकले पनि आवश्यक कागजपत्र बुझाउनु पर्छ । त्यस्तो भयो भने दाबी भुक्तानीमा ढिलाइ हुँदैन  । किनकि, आवश्यक प्रक्रिया नपुर्‍याईकन दाबी भुक्तानी हुँदैन । यद्यपि, यसलाई सहजीकरण गर्ने मामलामा हामी सकारात्मक नै छौं ।

बीमा समितिको वेबसाइटमा आवश्यक तथ्यांक तथा सूचनाहरू अझै पनि पर्याप्त देखिँदैनन् । सूचना प्रविधिको विकासका लागि के कस्ता काम गर्दै हुनुहुन्छ ?
यसमा हामी काम गर्दै छौं । सम्भवतः वैशाख मसान्तसम्ममा यस सम्बन्धी औपचारिक रूपमै जानकारी दिन्छौं । अब सूचना प्रविधिमार्फत नै कम्पनी र समितिबीच सूचना आदान प्रदान गर्नेगरी प्रविधिको विकास हुँदै छ ।

थप बीमा पोलिसी ल्याउने विषयमा केही काम गर्दै हुनुहुन्छ ?
अहिले हामीले त्यसतर्फ ध्यान दिएका छैनौं । भइरहेको पोलिसीलाई नै व्यवस्थित गर्नुपर्ने छ । यद्यपि, प्रचलित पोलिसीले सबैलाई बीमाको दायरामा समेट्न सक्दैन । त्यसैले बीमा कम्पनीहरूसँग बसेर नयाँ पोलिसी डिजाइन गर्नैपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्