चैत १८, काठमाडौं । सोमवारदेखि उच्च दरमा बढेको अजोड इन्स्योरेन्सको शेयरमूल्यले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको हो ।
प्रतिकित्ता रू. ८५ ले बढेर कम्पनीको अन्तिम मूल्य कारोबारको १० मिनेटमै रू. ९३८ कायम भएको हो । यस अवधिसम्म कम्पनीको २ लाख ६१ हजार ७८६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्रीकर्ता शून्य रहेका छन् ।
कम्पनीले मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासनको विषयमा सूचना चुहावट भएको भन्दै लगानीकर्ताहरुले महनगरिय प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दिएका छन् ।
मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिन कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ७ जनाविरुद्ध लगानीकर्ताहरुले उजुरी दिएका हुन् ।