चैत १८, बैतडी ।बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ ।
गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए ।
सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको हो । उनले चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ बताएको छ ।
फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारीसमेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
खानी भेटिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने बताइएको छ । रासस