ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विदेशबाट फर्केर पशुपालन गरिरहेका कृषकलाई घाँस काट्ने यन्त्र वितरण

२०७७ चैत, १८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

चैत १८, बागलुङ । वैदेशिक रोजगारीबाट फर्किएर पशुपालन गरिरहेका कृषकहरुलाई बरेङ गाउँपालिकाले घाँस काट्ने यन्त्र वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा गाउँपालिकाका ५ जना कृषकहरुलाई मंगलवार घाँस काट्ने यन्त्र वितरण गरेको हो । 

आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेट अनुसार निवेदन परेका गाउँपालिकाका ५ जना कृषकहरुलाई छनौट गरी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा घाँस काट्ने यन्त्र वितरण गरेको पशु शाखा प्रमुख नारायण पौडेलले बताए । ‘विदेशबाट आएर गाउँमा पशुपालनमा लागेका युवाहरुले अनुदानको लागि निवेदन दिनुभएको थियो,’ प्रमुख पौडेलले भने ‘उनीहरुबाट छनौट गरेर ५ जना कृषकलाई यन्त्र वितरण गरेका छौं ।’ 

गाउँपालिकाले यन्त्र अनुदानमा वितरण गर्नको लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित गरेको थियो । गाउँपालिकाले वडा नम्बर १ का इन्द्र बहादुर थापा, याम बहादुर थापा, वडा नम्बर २ का जीवन पुन, वडा नम्बर ४ का मिम बहादुर पुन र वडा नम्बर ५ का घनश्याम थापालाई घाँट काट्ने यन्त्र हस्तान्तरण गरिएको प्रमुख पौडेलले बताए । 

घाँस काट्ने यन्त्रले कृषकहरुको समयको बचत हुने र कम जनशक्तिले पनि पशुपालन गर्न सक्ने प्रमुख पौडेलले बताए । उनले कृषकहरु परम्परागत प्रक्रियामा पशुहरुलाई घाँस दिँदा धेरै घाँस पशुले राम्रोसँग नखाई फ्याकिने भएकोले आधुनिक घाँस काट्ने यन्त्रले काटेको घाँस दिँदा घाँसको सदुपयोग हुने र पशुको आहार मिसावट गर्न सजिलो हुने बताए । गाउँपालिकाले पशुपालनतर्फ कृषकहरुलाई आकर्षित गर्दै उनीहरुलाई आत्मनिर्भर गराउनको लागि अनुदानको व्यवस्था गर्दै आएको छ । 

बरेङ गाउँपालिकाले चालू आर्थिक वर्षमा भेडा पालन कृषकहरुलाई खोर सुधार कार्यक्रम, भकारो सुधार कार्यक्रम, बोयर बोका वितरण, बट्टाई पालन खोर अनुदान, स्थानीय जातको कुखुरा संरक्षण कार्यक्रम, स्थानिय सुँगुर संरक्षण, व्यवसायीक बंगुर फर्मा सुधार कार्यक्रम, पाडा संरक्षण, दूध चिस्यान केन्द्र, भेडा संरक्षण, माछा पोखरी निर्माण, उन्नत जातको जर्सी गाई खरीद, प्रजननको लागि राँगो वितरण लगायतमा अनुदानको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्