ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुष्कृतिसम्बन्धी कानुनी व्यवस्था

टर्टस् र क्षतिपूर्तिका अन्य व्यवस्थामा फरक

२०७७ चैत, १९  
लेख | दृष्टिकोण
Image Not Found

टर्टस् अर्थात् दुष्कृति कुनै कार्य गर्नाले वा जिम्मेवारीबाट पन्छिने वा बेवास्ता गर्नाले कसैलाई हानिनोक्सानी, क्षति वा मर्का पर्ने विषयभित्र पर्न आउँछ । यो देवानी दायित्वसँग सम्बद्ध छ । कानूनी कर्तव्य निर्वाह नगर्नाले कसैको हकमा आघात पुग्ने वा कसैले अधिकार प्रयोग गर्दा अरूको हकमा आघात वा क्षति, हानिनोक्सानी भएमा पनि टर्टस् हुन्छ ।

मुलुकी देवानी संहिता २०७४ ले कसैले आफ्नो वा टर्टस्को परिच्छेदबमोजिम आफैले दायित्व वहन गर्नुपर्ने अरू कसैको त्रुटि, हेलचेक्र्याइँ वा लापरबाही जेसुकैबाट भए तापनि गरेको कुनै काम (कमिशन) वा कसैले गर्नुपर्ने काम नगरेको (ओमिशन) बाट कसैको जिउ, ज्यान वा सम्पत्ति वा कानूनबमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानिनोक्सानी पुर्‍याएमा टर्टस् दुष्कृति गरेको मानिने व्यवस्था गरेको छ । ( दफा ६७२. (१) )

टर्टस्मा क्षतिपूर्तिसम्बन्धी लिखत भएको हुँदैन । दायित्व अकस्मात् सृजना हुने भएकाले कुनै लिखित वा मौखिक करार नभए तापनि कसैले आफ्नो कर्तव्य वा दायित्व पूरा नगर्दा कसैलाई हानिनोक्सानी पुगेमा क्षतिपूर्ति भराउन सक्छ ।

टर्टस्मा जिम्मेवारी पाएको व्यक्ति वा संस्थाले हेरविचार, संरक्षण वा कानूनले तोकेको दायित्व पूरा नगर्नाले वा अधिकारको दुरुपयोग गर्नाले वा हेलचेक्र्याइँ गर्नाले कसैलाई हानिनोक्सानी वा क्षति पुर्‍याएको अवस्थामा हुन्छ । उदाहरणका लागि विद्युत् प्राधिकरणमा विद्युत् प्रसारण लाइनको पोल रेखदेख तथा मर्मत गर्नुपर्ने दायित्व एवं जिम्मेवार रहन्छ । त्यो पोल ढली कसैलाई नोक्सानी भएमा वा पोलबाट करेन्ट लिकेज भई कसैलाई नोक्सानी भएमा वा क्षति भएमा टर्टस् कानूनअनुसार क्षतिपूर्ति भराउन सक्छ ।

मुलुकी देवानी संंहिता, २०७४ ले दुुष्कृति (टर्टस्) अन्तर्गत सुरक्षाका उपायहरू नअपनाएको कारण कसैलाई हानिनोक्सानी भएमा सम्बद्ध सम्पत्ति धनीले दायित्व बेहोर्ने व्यवस्था गरेको छ । कुनै मेशिन, उपकरण वा यन्त्र विस्फोटन भएमा, कुनै प्रज्वलनशील वा विस्फोटक आगलागी भएमा वा त्यो विस्फोटन भएमा, कुनै औद्योगिक प्रतिष्ठानले निर्धारित मापदण्डविपरीत हुने गरी अत्यधिक धूँवा, ध्वनि पैदा गरेमा, विपद्का कारण वा कुनै तेस्रो व्यक्तिको कामले बाहेक कुनै राजमार्ग, सडक, गल्ली, बाटोमा रूख ढलेको वा ढालेकोमा, निर्धारित मापदण्डविपरीत हुने गरी उपयुक्त ढंगबाट पूर्वसावधानीका उपायहरू नअपनाई खुला रूपमा नहर, कुलो, पाइप वा ढलबाट दूषित, विषालु वा सरूवा रोग लाग्ने पदार्थ निष्कासन भएमा दुष्कृति मानिन्छ । दफा (६७८) । उक्त दफाले सुरक्षाका उपायहरू नअपनाएका कारणबाट कसैलाई हानिनोक्सानी भएमा दुुष्कृति (टर्टस्) हुने सो हानिनोक्सानी सम्बन्धी धनीले बेहोर्नु पर्ने व्यवस्था गरेको छ । केही कानूनी व्यवस्था टर्टस्सँग सम्बद्ध भए तापनि टर्टस् मानिँदैन ।

टर्टस् तथा करार
टर्टस् तथा करारमा भिन्नता रहेको छ । टर्टस्मा झैं करारमा पनि दायित्व पूरा नगरेको अवस्थामा क्षतिपूर्ति भराउन सक्छ । । करारमा दुई वा दुईभन्दा बढी पक्षका बीच कुनै दायित्व पूरा गर्र्ने वा नगर्ने गरी सम्झौता गरिन्छ । करारमा सम्झौता गर्नेहरूका बीच दायित्व पूरा गर्नुपर्ने वा क्षतिपूर्तिका कुरा लिखतमा नै व्यवस्था गरेको हुन्छ । टर्टस्मा क्षतिपूर्तिसम्बन्धी लिखत भएको हुँदैन । दायित्व अकस्मात् सृजना हुने हुँदा कुनै लिखित वा मौखिक करार नभए तापनि कसैले आफ्नो कर्तव्य वा दायित्व पूरा नगर्दा कसैलाई हानिनोक्सानी पुगेमा क्षतिपूर्ति भराउन सक्छ । घर निर्माण गर्दा बाटो आवतजावत गर्नेलाई नोक्सानी क्षति नहोस् भनी जाली राखी सुरक्षासम्बन्धी व्यवस्था गर्नुपर्छ । घर निर्माण गर्दा कसैलाई हानिनोक्सानी नहोस् भनी आवश्यक सुरक्षाको व्यवस्था गर्ने कर्तव्य घरधनीको हो । तर, घर निर्माणका क्रमामा इँटा खसी बाटोमा आवतजावत गर्नेलाई चोट लागेमा यहाँ चोट लाग्ने र घर निर्माण गर्ने बीच कुनै करार नभए तापनि टर्टस्अन्तर्गत क्षति भराउन सकिन्छ । त्यस्तै, डाक्टरले गलत उपचार गरेमा यहाँ लिखित करार नभए पनि टर्टस्अनुसार क्षति भराउन सक्छ । मुलुकी देवानी सहिता २०७४ ले घर भत्किई हानिनोक्सानी भएकोमा घरधनीले दायित्व बेहोर्नुपर्ने व्यवस्था गरेको छ । जसमा कुनै घर निर्माण गर्दाका बखत वा निर्माण गरिसकेको जेसुकै भए तापनि त्यस्तो घर पूरा वा आंशिक रूपमा भत्किई वा त्यसको कुनै अंशले कसैलाई कुनै किसिमको हानिनोक्सानी भएमा सम्बद्ध घरधनीले दायित्व बेहोर्नुपर्ने व्यवस्था छ । (दफा ६७७) ।

कुनै सर्जनले दाहिने खुट्टा अपरेशन गर्नुपर्नेमा भूलवश अर्को खुट्टा अपरेशन गरेमा टर्टस्अन्तर्गत क्षति भराउन सक्छ । करार र टर्टस्मा फरक छ । करारबमोजिम दायित्व पूरा नगरेमा करारमा उल्लिखित क्षति भराउन सक्छ । यसलाई लिक्वीडेटेड ड्यामेज अर्थात् करार पक्षहरूलाई करारमा उल्लिखित नोक्सानी भराउन पाउने अधिकार प्राप्त हुन्छ । तर, टर्टस्मा नोक्सानी निश्चित नहुने हुँदा यसलाई अनलिक्वीडेटेड ड्यामेज भनी नामकरण गरिएको छ त्यसको निर्धारण अदालतले गर्छ ।

टर्टस् तथा इन्स्योरेन्स
इन्स्योरेन्स अर्थात् बीमा र टर्टस् दुवैको उद्देश्य नोक्सानीको आर्थिक क्षतिपूर्ति दिलाउनु हो । बीमामा बीमा गर्ने कम्पनी बीमक तथा बीमा गर्ने बीमितबीच करार भएको हुन्छ जो क्षतिपूर्तिसँग सम्बद्ध हुन्छ । मानव जीवनमा विभिन्न आर्थिक एवं शारीरिक हानिनोक्सानीका जोखिमका घटना हुन सक्छ जसबाट ठूलो आर्थिक क्षति हुन सक्छ । यस्ता अनिश्चित नोक्सानी जस्तै आगलागी, चोरी, प्राकृतिक विपत्ति वा आकस्मिक मृत्यु वा दुर्घटनासम्बन्धी घटना भएमा नोक्सानी भएको अवस्थामा क्षतिको मूल्यांकन गरी क्षति भएको रकम बीमा कम्पनीले तिर्नेछु भनी करार गर्छ । यसमा जोखिमको हिसाब गरी बीमा शुल्क (प्रिमियम) लिई अर्थात् बीमा लेख जारी गरेको हुन्छ । टर्टस्मा एकले अर्कोलाई जानाजान वा अनजान वा दायित्व पूरा नगरेका कारण क्षति पुगेको अवस्थामा क्षति भराउने वा दाबी गर्ने अधिकार टर्टस् कानूनले दिएको हुन्छ ।

टर्टस् तथा अपराध
टर्टस्मा देवानी अधिकार हनन भएकोे हुन्छ । यसमा कुनै व्यक्तिको गल्ती हुन्छ भने गल्ती गर्नेउपर पीडित व्यक्तिले क्षतिपूर्तिका लागि अदालतमा मुद्दा दर्ता गर्नुपर्छ । अपराध सार्वजनिक गल्तीअन्तर्गत फौजदारी कानूनसँग सम्बद्ध भएकाले गल्ती गर्नेउपर सरकारले मुद्दा चलाउँछ । चोरी, डकैती, हत्या आदि फौजदारी अपराधमा जसरी सरकार वादी भई अपराध गर्नेउपर मुद्दा चलाउँछ त्यसैगरी यसमा पीडित पक्षले मुद्दा दायर गर्नुपर्छ । अपराधमा दण्डजरीवाना वा कैदको सजाय हुन्छ भने टर्टस्मा क्षतिपूर्ति भराइन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्