चैत १९, काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत् परियोजनाले चैत २० गते शुक्रवारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले गत फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरिसकेको छ ।
कम्पनीले अब सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्न लागेको हो । कुल कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाइ छ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेड ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानियसहित सर्वसाधारणमा रू. ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।
उक्त कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि विसं २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ ।
आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीको भनाइ छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत् उत्पादन गरी विद्युत् प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाइ छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको उक्त कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।