चैत १९, ताईपेई (ताइवान) । ताइवानी चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले १ खर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी तीन वर्षमा आफ्नो क्षमता बढाउन सो लगानी गर्न लागेको हो ।
टीएसएमसी विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी हो । कम्पनीले यसअघि नै उन्नत खालको माइक्रो चिपको विकास गर्न र उत्पादन गर्न सन् २०२१ मा २८ अर्ब डलरसम्म लगानी गर्ने योजना ल्याएको थियो ।
विश्वभर चिपको अभावका कारण कार उद्योग मारमा परिरहेकै बेलामा कम्पनीको पछिल्लो घोषणा आएको हो । चिप अभावका कारण फक्सवागन, होन्डा, टोयोटा र जनरल मोटर्स सबैले उत्पादन घटाउनु परेको थियो ।
गत वर्षको कोरोना भाइरसको महामारी बीच माग घटेपछि कम्पनीहरुले आफ्नो अर्डर रद्द गरे । त्यसपछि चिप निर्माताहरुले आफ्नो उत्पादन माग उच्च रहेका अन्य उद्योगलाई बेच्न थाले । कारको माग बढ्न थालेपछि कार कम्पनीहरुले रद्द गरेको अर्डर जोगाउन नसक्दा सो अभाव देखा परेको हो । एजेन्सी