चैत १९, काठमाडौं । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका लागि त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् ।
यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले बिहीवार कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
सो अवसरमा उनीहरुले मन्त्रीसमक्ष त्यहाँ उत्पादित जुनार उपहार दिंदै सिंचाइको अभावमा जुनारको बोट मर्ने गरेकोे भन्दै त्यसको समाधानका लागि सिंचाईको आवस्यकता भएको बारे ध्यानाकर्षण गराएका थिए ।
मन्त्री अर्यालले भने डडेलधुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेकि थिइन् । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई विक्रीवितरण गर्न सहजिकरण गरिनेसमेत उनले आश्वासन दिइन् ।
उनले जुनार उत्पादन क्षेत्रमा सिंचाइको व्यवस्थासमेत गरिने बताइन् ।
भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराडका किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । अहिले बजारीकरणका निम्ति १ हजार ३०० किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए ।
‘बाउबाजेको पालादेखि नै डडेलधुरामा जुनारको खेती गर्दै आएको तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था छ’, उनले भने, ‘बजार नपाउने समस्या पनि त्यतिकै छ, त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसार गर्न जुनार लिएर काठमाडौं आएका हौं ।’
समूहका अगुवा किसान नारायणदत्त जोशीले सिंचाइको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताए । उनले भने, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरु राख्यौं, जुनारको बजारीकरण र सिँचाइका निम्ति सहयोग हुने आश्वासन पाएका छौं ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रबर्द्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ति ढुवानीमा सहयोग गरेपछि किसानहरु काठमाडौंसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्तिसमेत सहयोग गरेको छ ।
द लोकल्स काठमाडौंले बजारीकरणमा सहयोग गर्दै आएको छ । द लोकल्सका सञ्चालक सुहृद चापागाईंले किसानहरुबाट उचित मूल्यमा जुनार खरीद गरेर विभिन्न स्थानाक बजारहरुमा बजारीकरणमा सहयोग गर्दै आएको बताए ।