ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिन्धुपाल्चोकलाई ‘मिल्क जोन’ बनाइने

२०७७ चैत, २०  
वाग्मती प्रदेश
NA
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकलाई ‘मिल्क जोन’ बनाइने भएको छ । यसअघि जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी मकै जोनको रूपमा विकास गरिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन समन्वय समितिको बैठकले सिन्धुपाल्चोकलाई दुग्ध जोन बनाउने निर्णय गरेको हो । हाल जिल्लाबाट वार्षिक ९८ करोड रुपैयाँ बराबरको दूध निर्यात हुने गरेको अनुमान छ । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दुग्ध व्यवसायको प्रवद्र्धन आवश्यक रहेको बैठकले निष्कर्ष छ ।

जिल्लाबाट अहिले दैनिक २५ हजार लिटर दूध निकासी भइरहेको छ । दुग्ध व्यवसाय फस्टाउँदै गएपछि यहाँका किसानले दैनिक २० लाख रुपैयाँ आम्दानी भित्र्याइरहेका छन् । जिल्लामा झण्डै डेढ सय दुग्ध सहकारी र २० भन्दा बढी कृषि फार्ममार्फत दुग्ध संकलन हुने गरेको छ ।

किसानले उपभोग र स्थानीय बजारमा खपत गरेपछिको बाँकी दूध काठमाडौं निकासी हुने गरेको छ । जिल्लामा उत्पादित दूध दुग्ध विकास संस्थान (डीडीसी), सुजल डेरी, काठमाडौं डेरी र निजीक्षेत्रका दूध वितरण केन्द्रले खरीद गर्दै आएका छन् ।

दूध उत्पादनका लागि नौबिसे, बलेफी, खाडीचौर, सुुकुटे, साँगाचोक, सिपाघाट, बाहुनेपाटी र मेलम्चीमा रहेका चिस्यान केन्द्रमार्फत संकलित दूध बाहिर निकासी हुने गरेको छ ।

बैठकले दुग्ध पकेट क्षेत्र निर्धारण गरी दुग्ध जोन स्थापनाका साथै मकै जोनलाई सुपर जोनमा स्तरोन्नति गर्ने समेत निर्णय गरेको छ । बैठकले दुग्ध जोनसँगै अन्य पाँच बालीको प्राथमिकीकरण गरेको छ । सोही अनुसार जोन घोषणा गरी प्राविधिक खाका बनाई कार्यक्रम तय गर्न समितिले माथिल्लो तहमा सिफारिश गरेको छ । दूधसहित आलु, कफी, माछा र मासुको प्राथमिकीकरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

मकै पकेट क्षेत्रको रूपमा परिचित जिल्लामा तत्काल गाई–भैंसी, आलुसँगै ६ ओटा क्षेत्रमा काम गर्ने नीति रहेको परियोजना कार्यान्वयन इकाइले बताएको छ । १२ डिग्रीभन्दा कम भिरालो र निकट भविष्यमा बस्ती बस्ने सम्भावना नभएका टार, बेँसी र फाँटको पहिचान गरी ती क्षेत्रलाई चक्लाबन्दी निर्माण गर्न सकिने व्यावसायिक कृषि क्षेत्र भनी वर्गीकरण गर्न र कृषि आधुनिकीकरणको कार्यक्रम सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासहित स्थानीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ केन्द्रमा लेखी पठाउने निर्णय भएको पौडेलले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा बसेको बैठकमा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, मकै जोन सञ्चालन समन्वय समितिका संयोजक जीवन थापा, कृषि ज्ञान केन्द्र काभ्रेका थर्कबहादुर जिसी, चौतारा साँगाचोकगढी नगरपालिका–४ का अध्यक्ष चूडामणि नेपाल, बाह्रिबसे नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर तामाङ लगायतले जिल्लालाई दुग्ध जोनको घोषणा गरी बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्