ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रित्तो घरलाई सजावट गर्न यसरी लिनुस् कर्जा

२०७७ चैत, २०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar ममता थापा

काठमाडौं । आफ्नै आम्दानीले होस् वा बैंकबाट कर्जा लिएर । जसोतसो घर बनाए पनि कतिपयलाई रित्तो घरको कोठा भर्न हम्मे पर्न सक्छ । यस्तो अवस्थामा व्यक्तिले आफ्नो आम्दानीको अनुपातमा बैंक तथा वित्तीय संस्थाहरूबाट घर फर्निसिङ (फर्निचर) अर्थात् सजावट (इन्टेरियर डेकुरेसन) का लागि कर्जा लिन सक्छन् । यस्तो प्रयोजनका कर्जा लिन आउने नयाँ ग्राहकलाई वा घर कर्जा लिइसकेका ऋणीलाई पनि बैंकहरूले आम्दानीको स्रोत हेरेर चलनचल्तीको ब्याजमा कर्जा दिँदै आएका छन् ।

सामान्यतया बैंकहरूले जसरी घर कर्जा दिँदै आएका छन्, सोही प्रक्रियामा घर सजावट तथा फर्निसिङका लागि कर्जा प्रवाह गर्दै आएको एनएमबी बैंकको कर्जा विभागले बताएको छ । यद्यपि यस्ता खाले कर्जा रिटेल कर्जाअन्तर्गत रहने गरी बैंकले आ–आफ्नै आन्तरिक कार्यविधि अर्थात् प्रडक्ट पेपर बनाउने गर्छन् । तर, यस्तो कार्यविधि नेपाल राष्ट्र बैंकले तोकेको नियममा रहेर बैंकहरूले आफूलाई अनुकूल हुने गरी बनाउँछन् ।

विशेषगरी यस्तो कर्जा व्यक्तिगत भएकाले पनि व्यक्तिगत घर कर्जाकै सीमामा रहेर दिँदै आएको एनएमबी बैंकले बताएको छ । यसका लागि राष्ट्र बैंकले सीमा तोकेको छ । इच्छुक ग्राहकलाई राष्ट्र बैंकले तोकेको नियमअनुसार बैंकहरूले यस्तो कर्जा धितो मूल्यांकनको आधारमा ४० प्रतिशतदेखि ७०  प्रतिशतसम्म उपलब्ध गराउँछन् । घर कर्जा शीर्षकअन्तर्गतका जुनसुकै कर्जा भने बढीमा १ करोड ५० लाख रुपैयाँसम्म मात्र लिन सकिन्छ ।

केन्द्रीय बैंकले धितो मूल्यांकनको आधारलाई पनि क्षेत्रगत रूपमा विभाजन गरेको छ । यसै क्रममा  काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ४० प्रतिशत तोकेको छ । यसबाहेक अन्य स्थानको हकमा भने बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका निर्माण व्यवसाय कम्पनीलाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था छ । तर, कसैले पहिलो पटक डेढ करोड रुपैयाँसम्मको आवासीय घर खरिद गर्न यस्तो कर्जा लिन चाहन्छ भने त्यस्तो व्यक्ति (फस्ट होम वाइयर) लाई धितो मूल्यांकनको बढीमा ७० प्रतिशतसम्म बैंकहरूले दिन सक्नेछन् ।

यस्तो कर्जा प्राप्त गर्न भने ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्नेछ । यसका लागि ग्राहकले कुनै पनि बैंकबाट यसअघि यस प्रकारको कर्जा नलिएको एकिन दिलाउनुपर्नेछ । यस्तो कर्जा लिँदा घर भाडालाई ऋणीको आम्दानीको स्रोत देखाउन पाइँदैन ।

अधिकांश बैंकहरूले घरसँग सम्बन्धित सबै खाले कर्जा धितो राखेको घरजग्गाको बाटो कम्तीमा पनि १० फिट भए मात्र दिने गर्छन् ।

घरभित्रको भान्छा घरदेखि बैठक कोठासम्म आकर्षक डेकोरेसन गर्न आवश्यक फर्निचरका लागि बैंकहरूले कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्ता खाले कर्जा घरजग्गा धितोमै कति आवश्यक पर्ने भन्नेबारे इन्जिनियरले मुल्यांकन गरेको आधारमा बैंकहरूले  दिन्छन् ।

‘इन्जिनियरले कस्तो घरमा कस्तो खाले डेकोरेसन गर्न चाहेको र त्यसको  अनुमानित लागतअनुसार कर्जा दिने गरिएको छ । यसपछि मात्र धितो मूल्यांकनको आधारमा ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म कर्जा पाउँछन् ।

यसपछि बैंकले कर्जाको किस्तालाई आम्दानीको स्रोतसँग दाँज्छ । ऋणीको किस्ता तिर्ने क्षमता उसको आम्दानीमा देखिनुपर्छ ।  बैंकको नीतिअनुसार सामान्यतया कर्जा किस्ताको तुलनामा ऋणीको खुद आम्दानी दोब्बर हुनुपर्ने बैंकरहरू बताउँछन् । उदाहरणका लागि, ग्राहकले लिने कर्जाको मासिक किस्ता १ लाख रुपैयाँ आएको छ भने उसको खुद आम्दानी डेढ लाख रुपैयाँ देखिनुपर्छ ।

कसैले १ करोडको घर बनाएपछि कोठा थप्न होस् वा डेकोरेसन गर्न थप २५ लाख रुपैयाँको कर्जा लिनेहरूको माग धेरै आउने गरेको एनएमबी बैंकको कर्जा विभागले बताएको छ ।

घर सजाउन कर्जा लिने प्रक्रिया
घर कर्जा होस् वा घरभित्र सजाउने फर्निचरका लागि लिने कर्जा ।  ऋणीले धितो राख्ने सम्पत्ति छ तर निरन्तर आयस्रोत छैन भने पाइँदैन । कर्जा प्राप्त गर्न अनिवार्य आयस्रोत खुलाउनुपर्छ । अझ ऋणीले आयस्रोत खुल्ने कागजात मात्रै पेस गरेर हुँदैन । आम्दानी गरेर पनि कर चुक्ता हुन नसकेको अवस्थामा बैंकलाई आय देखाएर पनि हुँदैन ।

किनभने, बैंकले ऋण लिन चाहने व्यक्तिको आम्दानीको स्रोतमा कर चुक्ता गरेको अद्यावधिक प्रमाणपत्रका आधारमा वार्षिक कुल आय गणना गर्छ । यसरी ऋणीको वार्षिक आम्दानीको बढीमा ५० प्रतिशत रकमले बैंकको किस्ता तिर्न पुगेसम्म मात्र ऋण दिन पाउने नीतिगत व्यवस्था छ ।

यसअघि बैंकहरूले ऋणीको आम्दानीमा जीविकोपार्जन खर्च नियमित दायित्वको रकम घटाएर बचेको रकमका आधारमा कर्जा सीमा निर्धारण गर्दै आएका थिए ।

व्यक्तिगत आवासीय घर कर्जाअन्तर्गतका जुनसुकै शीर्षकमा एउटा बैंक÷वित्तीय संस्थाबाट एउटा परिवारलाई एउटा मात्र प्रदान गरिन्छ । यस्तो कर्जाको माग गर्नुअघि ऋणीले आवश्यक कागजात बैंकलाई बुझाउनुपर्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले  यस्तो कर्जा प्रवाह गर्नुअघि घर/भवन निर्माण सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा कार्यालयबाट जारी मापदण्ड पूरा गरे/नगरेको एकिन गरेको नक्सापास, आवश्यकताअनुसार अन्य निकायको स्वीकृति, घर, भवन निर्माण सम्पन्न प्रमाणपत्र, प्रमाणीकरण, अभिलेखीकरणलगायत कागजात लिने गर्दछ ।  कर्जा दिनुअघि बैंकअनुसार कागजात कसैले धेरै वा कसैले आवश्यकताअनुसार माग्न सक्छन् ।

सामान्यतया कर्जा लिन चाहने व्यक्तिले आयस्रोतको कागजात र वार्षिक आम्दानीको कर तिरेको कर चुक्ता प्रमाणपत्रसहित व्यक्तिको नागरिकता, पासपोर्ट साइजको फोटोलगायत प्रमाणित गरेका कागजपत्र लिने गरेको सानिमा बैंकको प्रडक्ट विभागका विक्रम श्रेष्ठ बताउँछन् ।

सँगै, ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोतसम्बन्धी विवरण, धितोको चार किल्ला प्रमाणित भएको लालपुर्जा, जग्गाको ब्लुप्रिन्ट, ट्रेस,  सम्पत्तिको बाटो खुल्ने कागजात, सम्पत्तिको कर तिरेको रसिद, धितो बन्धक राखिने सम्पत्तिमा घर भए घर निर्माणका लागि लिएको इजाजत पत्र, घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र पेस गर्नुपर्छ ।

ग्राहकले कागजात पेस गरेको आधारमा घर कर्जा दिने/नदिने बैंकले निर्णय गर्छ । घर कर्जा पनि यही डकुमेन्टमा भर पर्छ । सबै मापदण्ड पुर्‍याएर आएका ऋणीलाई कर्जा दिने गरेको बैंकरहरू बताउँछन् । यसर्थ, बैंकले ग्राहकको आवेदन स्वीकारेर कर्जा दिने पक्का भएपछि प्रस्ताव–पत्र  दिन्छ ।

उक्त अफर लेटरमा कर्जा रकम, अवधि र ब्याजदरलगायत सर्त उल्लेख हुन्छ । यस्तो सर्तबारे ऋणीले पहिले नै राम्ररी अध्ययन गर्न जरुरी छ किनभने सुरुमा राम्ररी अध्ययन नगरी उक्त  लेटरमा हस्ताक्षर गरेपछि बैंकले पछि सोहीअनुसार कार्यान्वयन गर्दा थाहा नभएको भन्ने गुनासो धेरै सुनिने गरेको छ । उक्त पत्रमा हस्ताक्षर गरेपछि बैंकले कर्जा प्रक्रिया सुरु गर्छन् ।

सानिमा बैंकको प्रडक्ट शाखाका अनुसार मालपोत गएर धितो बन्धक गर्नुपर्छ र धितो बन्धक भएर आएपछि कर्जा तमसुक गराइन्छ । यसपछि ऋणीले समयमा कर्जा चुक्ता गर्नेछु भनेर प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाइन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्