ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कत्ति खुशी नेपाली !

२०७७ चैत, २०  
तीतो मीठो
author avatar मदन लम्साल

गत हप्ता संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कले ‘विश्व खुशी रिपोर्ट’ प्रकाशन गरेछ र नेपाललाई दक्षिण एशियामै सबैभन्दा खुशी देश भनेर घोषणा नै गर्दिएछ । योे समाचार पढेसी केही मानिसहरू थप खुशी भएर बुकुर्सी मार्दै छन् । नमारून् पनि किन ? सरकारले केही गरेन भनेर खोइरो खन्नेहरूको मुखमा ट्याप्पै बुझो लाइदिन पाउने यो रिपोर्ट जो आएको छ । तर के गर्नु ? नेपाल दक्षिण एशियामै खुशी हुने लिष्टको १ नम्बरमा परेपछि दुःखी हुनेहरू पनि छन् । तर तिनका तर्कहरूलाई काट्ने अकाट्य तथ्यांक सरकारसँग छँदै छ क्यारे ।

सबैभन्दा खुशी त विनाटिकट, विनापैसा हेर्न र सुन्न पाइने दिनरातको नौटंकीले दिएको छ । कहिले फुटेर, कहिले जुटेर त कहिले कुटेर हँसाएका छन् ।

उदाहरण नै हेरौं न । केही अपवादलाई छाडेर कामै नगरी तलब र अझ पेन्सन समेत पड्काइरहेका यतिका सरकारी कर्मचारी छन् । बिचराहरूलाई अफिसमा टाइम कसरी पास गर्ने भन्ने दुःख पनि शेयर बजारका खेलले टारी दिएकै छ । अफिसमा हाजिर ग¥यो, कम्प्युटर खोेल्यो, शेयर मार्केटमा राता र हरिया रङ हेर्दै दिन काट्यो । किनबेच गर्न परे यसो दलालहरूलाई सम्पर्क ग¥यो । अझ अहिले त अनलाइनबाटै किनबेच गर्न पाएपछि खास्सा भएको छ उनीहरूलाई । घूसबाट प्राप्त हुने खुशीको त यहाँ कुरै नगरम् । यस्ता सुखी कर्मचारीहरू भएको देश खुशीवाला नभएर दुःखीवाला कसरी हुन्छ र ?

यता राजनीतिक दलका १०–१२ लाख कार्यकर्ताहरू नेतालाई परिक्रमा गरेकै भरमा चाँदी कटाइ गरिरहेका छन् । यसले तिनका घरपरिवारमा कति खुशी ल्याएको होला ? विना उद्योग, व्यापार यसरी सुखी हुन पाइने देश खुशीको सूचीमा नम्बर १ मा नपरेर के पुछारमा पर्नु त ?

विदेशतिर श्रीमान्हरूले जस्तै दुःख कष्ट सहेर पनि घरतिर रेमिट्यान्स अर्थात् पैसो पठाएकै छन् । त्यो पैसोले तिनका लालाबाला र सालाहरूका अनुहारमा चमकधमक ल्याएकै छ । कोदोको रोटी खान नपाउनेहरू पिज्जा र आइसक्रिम खाने भइसके । कफी कि चिया, चिसो कि तातो भन्ने हैसियतमा पुगिसके । यस्ता सुखी जनता विश्वमा कहीँ छन् त ? बरु त्यो नर्वेले झेली गरेर विश्वको नम्बर एकमा परेको हुनुपर्छ ? नत्र नेपाल विश्वकै नम्बर एक हुनुपर्ने हो !

फेसबूकमा हेर्‍यो भने त झन् एकजना पनि दुःखी देखिँदैनन् । हेर्नुस् त टिकटकको रमाइलो, कति फुर्सदिला, कति हँसिला कस्तो चम्किलो अनुहार ? हिजोका राजामहाराजले जसरी जन्मोत्सव मनाउने, विवाहको वार्षिकी मनाउने, रारादेखि सहारासम्म घुम्न गएका फेमिली फोटोहरू पोष्ट गर्न सक्ने यति धेरै नेपाली । यस्तो देखेपछि त त्यो इण्डेक्स बनाउने तथ्यांकशास्त्रीको मन पनि कम्ता गदगद भयो होला त ?

अब भन्नुहोला एकछाक खान नपाउनेहरू पनि प्रशस्तै छन् नि यो मुलुकमा । तिनलाई पनि हेर्नुपर्ला नि त । ल देख्नुभएन गरीबका लागि गाउँमा गाउँमा सिंहदरबार गएको ? त्यहाँ भुरेटाकुरे राजा महाराजाहरूको पुनः उदय भएको ? राजामहाराज भन्नेबित्तिकै तिनका हुक्के, ढोके, बैठके, खजान्ची, मुनिमहरू पनि हुने नै भए । तिनका घरमा हरेक दिन दशैं आएकै छ । अनि हरेक दिन भोजभतेर, गाना, बजाना भएकै छ । अनि मुलुकमा कोही दुःखी होला र भन्या ?

सबै भन्दा दुखिया पेशा कृषि हो । कृषिमा नलाग, बरु किनेर खाऊ भन्ने नीति सरकारले लागू गरेपछि जनताहरू पनि जमीन बाँझो राख्दै किनेर खान थालेकै छन् । त्यसैले कृषि वस्तुहरूको आयात बढ्नु भनेको पनि जनता सुखी हुन थालेकोे प्रमाण हो । डाहा गर्नेहरूले यस्तो कुरामा आहा त कहाँ भन्छन् र ?

नेपालीहरू खुशी छन् भन्ने अरू पनि थुप्रै प्रमाण छन् ।

सरकारले जति कर ठटाए पनि मदिराको आयात बढेको बढ्यै छ । ठर्रा चाख्न नपाउनेहरू बिलाइती ह्विस्कीको चुस्की लिन थालेका छन् । फेरि मदिराको खपत बढ्नु भनेको खुशीको अर्को प्रमाण हो । मदिराले दिनेजति खुशी र आनन्द अरू केहीमा हुन्छ र ? अझ भविष्यमा खुशीको पारो चढाउन गाँजाखेती खुला गर्ने अभियानमा लागेकोे जमात सफल भयो भने त नेपालीहरू झन् धेरै खुशी हुनेछन् ।

सबैभन्दा खुशी त विनाटिकट, विनापैसा हेर्न र सुन्न पाइने दिनरातको नौटंकीले दिएको छ । कहिले फुटेर, कहिले जुटेर त कहिले कुटेर हँसाएका छन् । नेताहरू एकसे एक कमेडियन भएको मुलुकका जनता खुशी नहुने त कुरै भएन । कुन कुन नेताले भाषण गर्दा बोली बुझिएन भनेर जनता हाँसेकै छन् । कसैको बोली बढ्ता बुझेर हाँस्ने जमात पनि ठूलै छ । बरु अब टिभीहरूले हास्यव्यंग्य कार्यक्रम बन्द गर्दिए हुन्छ । अनि सारा जनता हाँसिरहेको देखेपछि इण्डेक्सवालाको मन पनि पक्कै गदगद भयो होला । अनि पर्दैन त नेपाल दक्षिण एशियाको १ नम्बरीया खुशीको लिष्टमा ?

खासमा नेपाल विश्वकै १ नम्बरको खुशीवाला देश हुनुपर्ने हो । तेस्रो विश्वको देश भनेर हेलाँ गरेर मात्रै होला हाम्लाई दक्षिण एशियाको १ नम्बरमा खुम्च्याइएकोे । अब त नेपाल पनि अति कम विकसितबाट कम विकसित देशमा उक्लँदै छ क्यारे । त्यसैले ‘विश्व खुसी रिपोर्ट’ प्रकाशन गर्ने यो सस्थासँग जोडदार माग गरौं कि ‘यत्ति धेरै योग्यता भएको नेपाललाई विश्वकै १ नम्बरको खुशीवाला देश घोषणा गरियोस्’ । हैन भने न्यूयोर्कको मुख्यालयमा धर्ना दिन हाम्रा अनसन बाजेलाई पठाइदिन्छौं है ! अनि हैरौं त नेपाललाई कसरी नबनाउँदा रैचन् विश्वको एक नम्बरीया खुशी देश !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्