ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इन्साइडर ट्रेडिङको आरोप लागेको अजोड इन्स्योरेन्सको शेयरमूल्य यो साता ३२५ ले बढ्यो 

२०७७ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य यो साता अस्वभाविक रुपमा वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. ७०६ कायम रहेको कम्पनीको शेयरमूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै शेयरमूल्यमा अस्वभाविक वृद्धि भइ अन्तिम दिन प्रतिकित्ता रू. १ हजार ३१ कायम भएको छ । 

कम्पनीको शेयरमूल्य यो साताको चार कारोबार दिनमा प्रतिकित्ता रू. ३२५ ले बढेको हो । कम्पनीले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीको हकप्रद शेयर निष्कासनको विषयमा पहिला नै सूचना चुहावट भएको भन्दै लगानीकर्ताहरुले महानगरिय प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दिएका छन् । मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिनदेखि नै कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले कम्पनीले सूचना चुहावट गरी भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ७ जना विरुद्ध लगानीकर्ताहरुले उजुरी दिएका हुन् । 

आम लगानीकर्ताहरुले पछिल्लो समय इन्साइडर ट्रेडिङको समस्या बढ्दै गएको भन्दै नियामक निकाय र बजार सञ्चालकले कडाई गर्नुपर्ने माग गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना चुहावटको प्रमाण भएमा कारवाही गर्ने बताइरहेका छन् । कम्पनीसँगको छलफलमा सूचना चुहावट नभएको प्रष्टिकरण आएकाले आवश्यक प्रमाणबिना कारबाही गर्न समस्या भएको नियामक तथा बजार सञ्चालकहरुको भनाइ छ । 

यसै आर्थिक वर्षको सुरुवातमा सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको हाल रू. १ अर्ब चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी कम्पनीले गरेको हो । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जगेडा कोष रकम रू. ६ करोड ६३ लाख रहेको कम्पनीले रू. ४ करोड ६ लाख ८३ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १३ रहेको छ ।

साताको चार ओटा कारोबार दिन कम्पनीको कारोबार अवस्था :

                                                                     स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्