ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड खोपका लागि विश्व बैंकद्वारा नेपाललाई ७.५ करोड अमेरिकी डलर वित्त सहयोग

२०७७ चैत, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड- १९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर ( करीब ८ दशमलव ७ अर्ब नेपाली रूपैयाँ ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय- सान्दर्भिक सहयोग पुर्‍याउने अर्थसचिव शिशीर कुमार ढुंगानाले बताए ।

उनका अनुसार कोभिड- १९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड- १९ विरुद्धका खोपहरूको खरीदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोपसेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ।”

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलव ९ करोड अमेरिकी डलर (३ दशमलव ३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड- १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीआयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने छन्।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरीद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड- १९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ ।

कोभिड- १९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाईलाई पनि बढावा दिनेछ । 

कोभिड - १९  विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूकोसमतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण रहेको  विश्व बैंकका राष्ट्रिय निर्देशकले बताए ।

उनका अनुसार विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारीप्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ। 

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको  ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।

यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड- १९ का खोपहरूको खरीद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

यस वित्तीय सहयोग विश्व बैंक समूह स्तरिय बृहत कोभिड- १९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सृजना गर्न सहयोग गरिरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्