ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीप सिकेर आत्मनिर्भर बन्दै पर्वतका युवायुवती

२०७७ चैत, २१  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता


चैत्र २१, पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीकी गंगा लामिछानेले कुश्माबजारमा व्यूटिपार्लर व्यावसाय सञ्चालन गरिरहेकी छिन् ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रबाट केश श्रृंगार तालिम लिएकी लामिछानेले तालिमको उपयोग गर्दै दुई वर्ष अगाडी देखि व्यावसाय शुरु गरेकी हुन् । 

‘व्युटिपार्लर खोल्ने ठूलो रहर थियो,’ लामिछानेले भनिन्,‘तालिम लिएपछि लगत्तै शुरु गरेँ । अहिले यहि व्यवसाय कमाउने माध्यम बनेको छ ।’

हात खाली बस्नभन्दा तालिम सिकेपछि सीपमा निखार आउने र पूँजी भए व्यवसाय गर्ने भन्ने सोचले तालिम लिएकी उनी अहिले जिल्लाकै उदाहरणीय उद्यमी बनेकी छिन् । तालिम पाएपछि उनले डेढ लाँख रुपैया लगानीमा कपडा सिलाउने पसल चलाएकी छिन् ।

उनलाई तालिम सिकेपछि तालिम केन्द्रले एउटा मेशिन, एउटा आईरन र एउटा कैंची वस्तुगत सहायता स्वरुप दिएको उनले स्मरण गरिन् । उनी जस्तै राजकुमारी राना पनि व्युटिपार्लर पसल सञ्चालन गरेर आम्दानी गर्दै आएकी छिन् । 

‘६ महीना तालिम सिकें,’ उनले भनिन्,’ सीप सिकेपछि खाली हात बस्न मन लागेन । आजभन्दा ४ वर्ष अगाडी भ्याली व्यूटिपार्लर पुल सञ्चालन गरेकी रानालाई अहिले हात खाली हुन परेको छैन । 

‘विहानदेखि साँझसम्म गर्न सक्ने हो भने ग्राहक खाली हुन्नन्,’ उनले भनिन्,‘ घरमा सहायता गर्ने अरु मान्छे छैनन् । तैपनि आशिंक कामले पनि सन्तुष्ट नै छु ।’ यहि कमाईले घरखर्च चलाएर केहि बचत गर्दै आएको रानाले बताइन् । 

व्यवसायिक तालिम सिकेकी कुश्मा नगरपालिका- १० पिपलटारीकी नैनकला परियारले महिलाहरुका लुगा सिलाउने पसल सञ्चालन गरेकी छिन् । दुई वर्ष अगाडीदेखि प्रियंका टेलरिङ पसल सञ्चालन गरेकी नैनकलाले घरखर्च र छोराछोरीको पढाई पेशाबाट उपार्जन गरेकी छिन् । ‘श्रीमानको अस्थाई जागीर छ,’ नैनकलाले भनिन्,’ मेरो कमाईले घरखर्च र पढाई खर्च चल्छ ।

श्रीमानको कमाई बचत गर्दै आएका छौं ।’ आफ्नो खुट्टामा उभिन पाएकोमा उनी दंग छिन् । सीप सिकेर आम्दानी हुने व्यावसाय चलाउन पाउँदा भविष्यको चिन्ता लाग्न छोडेको उनले सुनाइन् । सीप सिकेर सफल रुपमा व्यवसाय शुरु गरेका महिलाहरु औंलामा गन्न नसकिने छ ।  

पर्वतको कुश्मामा रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्दमार्फत तालिम लिएकाहरु व्यावसायिक बनेर राम्रो आम्दानी गर्ने अवसर प्राप्त गरेका छन् । कतिपयले तालिम पश्चात सीप अनुसारको नोकरीसमेत गर्ने गरेका छन् । तालिम केन्द्रमार्फत आर्थिकरुपमा विपन्न, दलित, एकल महिला, बेरोजगार यूवायूवतीहरुले तालिम पाउँदै आएका छन् ।
 

तालिम पाएकाले केहि न केहि व्यवसाय अगाँलेको पाईन्छ । कार्यालयले वर्षेनी नियमित र मागको आधारमा व्यावसायिक तथा एडभान्स तालिमहरु सञ्चालन गर्दै आएको बताएको छ । चालू वर्ष मात्रै कार्यालयले १ हजार २८० जनालाई व्यावसायिक तथा सीप विकास तालिम दिने लक्ष्य राखेको छ ।

कार्यालयका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार यसवर्ष नियमित वाहेक अन्य मागको आधारमा सञ्चालन हुने ३० ओटा तालिम सञ्चालन गर्ने सूचिमा छन् ।१० ओटा तालिम सञ्चालनमा छन् भने ६ ओटा सम्पन्न भएका र बाँकी १४ ओटा मागको आधारमा तालिम पाईपलाईनमा छन् । पौडेलका अनुसार ३ महीने लामो तालिम १३ ओटा सम्पन्न भएका छन् भने १२ ओटा तालिम सञ्चालनमा रहेका छन् । 

‘यहाँबाट तालिम सिकेका अधिकाँश प्रशिक्षार्थी खाली बसेका छैनन्,’ कार्यालय प्रमुख डम्वर बहादुर जिसीले भने, ‘हामीले दिने तालिम बजारमा बिकाउ खालका हुन्छन् ।’ 

कार्यालयले पछिल्ला केहि वर्षदेखि टेलर मास्टर्स, फेसन डिजाईन, कफी बारिष्ठा, मिनी टेलर हलोमर्मत, मण्टेश्वरी तालिमसमेत दिंदै आएको छ । यस्ता तालिममा थामिनसक्नु माग आवेदन आउने गरेको कार्यालय प्रमुख जिसीले बताए । 

कार्यालयले बैदेशिक रोजगारी छोडेर फर्किएका र कोभिड प्रभावितहरुका लागि समेत तालिम प्रदान गरेको छ । त्यस्ता व्यक्तिहरुलाई प्लम्विङ, विद्युत् जडान,मोवाईल मर्मत, मोटरसाईकल मर्मत, ईलेक्ट्रिक सामग्री मर्मत तालिम प्रदान गरिएको कार्यालय प्रमुख जिसीले जानकारी दिए ।

‘ कार्यालयको कार्यक्षेत्र साविक धौलागिरीका चार जिल्ला हो । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा कार्यक्षेत्र रहेको कार्यालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालित छ । चालू आर्थिक वर्षमा तालिम सञ्चालनका लागि २ करोड ३ लाख ८० हजार रुपैयाँ बजेट प्राप्त भएको र ४५ प्रतिशत बजेट खर्च भएको कार्यालयले बतााएको छ । 

कार्यालयले चिनजानकालाई मात्रै तालिम दिने गरेको आरोप लागेपनि कार्यालयले पारदर्शी रुपमा प्रशिक्षार्थी र प्रशिक्षक छनौट गर्दै आएको बताएको छ । जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय र व्यावसायिक तथा सिप विकास तालिम केन्द्रका प्रतिनिधिसहित सबै मापदण्ड पालना गरि प्रशिक्षार्थी र प्रशिक्षक छनौट गरिंदै आएको हुनाले पारदर्शि रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताइएकोछ । 

उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका कारण जिल्लामा व्यवसाय गर्ने बढेको बताए । तर, तालिम सिकेका सबैले व्यवसाय सञ्चालन गर्न नसकेको उनी बताउँछन् ।तालिम पश्चात बीउपूँजीको रुपमा सरकारले अनुदानसमेत दिन सक्ने हो भने जिल्लामा स्वरोजगार बन्नेको संख्या बढ्ने अधिकारीले बताए । 

उनका अनुसार ऋण काढेर व्यवसाय गर्न नसक्नेहरुको पहिचान गरेर सरकारले आवश्यक पूँजी पनि दिनुपर्छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रले वर्षेनी उत्पादन गर्ने सबै जनशक्तिलाई स्वदेशमै खपत गर्न सक्ने हो भने उनीहरुले स्वदेशमै काम पाउने र राज्यले पनि समृद्धि हासिल गर्ने अध्यक्ष अधिकारीको भनाइ छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्