ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेनी–जोमसोम सीधा यातायात सञ्चालन

२०७७ चैत, २२  
गण्डकी प्रदेश
NA

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि यातायात सञ्चालन भएको छ । सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभीरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको हो । बन्द भएको सडक शुक्रवारदेखि सञ्चालन भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए । निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले गत पुसदेखि पहाड काट्ने काम गर्दै आएको थियो ।     

उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा बनाउने काम गरिए पनि पूरै भीरको काम सक्न भने केही महीना लाग्नेछ । १ हजार ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने आयोजनाले बताएको छ । बेनी–जोमसोम सीधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने पर्खाइमा रहेका यात्रुलाई सहज भएको छ ।     

 उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत ७६ किमी लामो बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि निर्माण शुरू भएको हो । ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्